विराटनगर : जिम्मेवारी हस्तान्तरणको तयारीमा रहेका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरे सीमा सुरक्षा सम्बन्धी बैठककै क्रममा बेहोस भएर ढलेका छन्।
मोरङको विराटचोकमा शुक्रबार आयोजित बैठकका दौरान अचानक ढलेपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको हो।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख घिमिरे बैठकमा सहभागी भइरहेकै बेला अचेत भएपछि मोरङकै बुढीगंगास्थित विराट मेडिकल कलेज पुर्याइएको थियो।
अस्पताल स्रोतका अनुसार उच्च रक्तचापका कारण उनी अचानक बेहोस भएका हुन्। ढल्ने क्रममा उनको जिब्रोसमेत काटिएको थियो।
अस्पतालका चिकित्सकका अनुसार स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई सघन उपचार कक्षमा राखी भेन्टिलेटरको सहारा लिनुपरेको छ। हाल उनी चिकित्सकीय निगरानीमा रहेका छन्।
सशस्त्र प्रहरी बल नं. १ बराह वाहिनी पकली, सुनसरीका डिआइजी कुमार न्यौपानेले घटनाको पुष्टि गर्दै एसपी घिमिरेको अवस्था गम्भीर रहेको जानकारी दिए। “बैठककै क्रममा उहाँ अचानक ढल्नुभयो, अवस्था अलि क्रिटिकल भएको जानकारी आएको छ,” उनले भने।
प्रतिक्रिया