झापामा प्रहरीमा उजुरी दिएको रिसमा सुईबाट केमिकल हालेर हत्या

शुक्रबार, २३ माघ २०८२
एआई द्वारा सिर्जित तस्बिर

इटहरी । झापाको भद्रपुर नगरपालिका–१० त्रिवेणी टोलस्थित आफ्नै घरमा रहेका ६६ वर्षीय खेमराज ढकालको घाँटीमा केमिकल लोड गरिएको सिरिन्जले घाँटीमा प्रहार गरेर हत्या गरीएको छ । घटना  हिजो (बिहिबार) साँझ करिब ६ः२० बजे भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ढकाल परिवारसँग घरमै बसिरहेको अवस्थामा २६ वर्षीय दिपेश कुमार सिंहले आफूसँग ल्याएको केमिकल लोड गरिएको सिरिन्जले एक्कासि ढकालको घाँटीमा प्रहार गरेका थिए।

 गम्भीर घाइते भएका ढकाललाई तत्काल उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार अभियुक्त सिंह जिल्ला सिरहा, बिष्णुपुर गाउँपालिका–१ स्थायी घर भएका र हाल बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा एमबीबीएस चौथो वर्षमा अध्ययनरत छन्। घटना भएको दिन बिहानै पनि उनले ‘अवकाशप्राप्त शिक्षक चाहिएको छ’ भन्ने बहाना बनाएर ढकालको घर पत्ता लगाएको खुलेको छ।

मृतककी छोरी पनि सोही प्रतिष्ठानमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत रहेको र सामान्य चिनजान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। करिब ८/९ महिना अघि अभियुक्तले मृतककी छोरीको बदनाम गर्ने नियतले फोटो सम्पादन (एडिट) गरी पठाउने गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको प्रहरीले जनाएको छ।

घटना लगत्तै २०८२ माघ २२ गते नै अभियुक्तलाई नियन्त्रणमा लिइएको छ। सिरिन्जमा प्रयोग गरिएको तरल पदार्थमा के–कुन तत्व मिसिएको थियो भन्ने कुरा प्रयोगशाला परीक्षणपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।

अभियुक्तविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसूरमा कारबाही तथा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार