ब्राण्ड ‘फेरबदल’ गर्ने चिप्स तस्करी, विराटनगरबाट लाखौँको सामान बरामद

विहीबार, २२ माघ २०८२

विराटनगर : नेपाल–भारत सीमावर्ती क्षेत्रमा तस्करीको नयाँ तरिका खुल्दै गएको छ । मोबाइल, ल्यापटपलगायत इलेक्ट्रोनिक उपकरणको वास्तविक ब्राण्ड परिवर्तन गर्न प्रयोग हुने चिप्स भारतबाट अवैध रूपमा नेपाल भित्र्याउने गरिएको खुलेको छ । मोरङ प्रहरीले विराटनगरमा ठूलो परिमाणको यस्ता चिप्स बरामद गरेपछि तस्करीको यो नयाँ स्वरूप सतहमा आएको हो ।

विराटनगर महानगरपालिका–१७ मटेरुवा इस्लामपुर क्षेत्रबाट माघ १९ गते सुरक्षाकर्मीले २ हजार ३ सय ३० थान इलेक्ट्रोनिक चिप्स नियन्त्रणमा लिएका हुन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानी तथा अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको टोलीले उक्त चिप्स बरामद गरेको हो ।

मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार भारतको जोगवनीबाट नेपालतर्फ ल्याइँदै गरिएको चिप्सको मूल्य ५ लाख ८२ हजार ५ सय रुपैयाँभन्दा बढी आँकलन गरिएको छ । एउटा चिप्सको मूल्य २ सय ५० रुपैयाँभन्दा माथि पर्ने प्रहरीको भनाइ छ । बरामद सामग्री आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रारम्भिक अनुसन्धानमा ती चिप्स प्रयोग गरेर मोबाइल, ट्याबलेट, ल्यापटप तथा अन्य इलेक्ट्रोनिक उपकरणको ब्राण्ड परिवर्तन गरी महँगो मूल्यमा बिक्री गर्ने गरिएको खुलेको छ । यसले उपभोक्ता ठगी मात्र नभई नक्कली ब्राण्डको अवैध कारोबार र ठूलो मात्रामा राजस्व चुहावट हुने जोखिम बढाएको प्रहरीको निष्कर्ष छ ।

प्रहरीका अनुसार तस्करहरूले सुरक्षाकर्मीलाई झुक्याउन चिप्सलाई सामान्य कबाडी सामानजस्तै गरी बोरामा प्याक गरेका थिए । सुरुमा सामान्य कबाडी ठानिए पनि बोरा फालेर ओसारपसारमा संलग्न व्यक्ति फरार भएपछि घटना शंकास्पद बनेको थियो । प्राविधिक रूपमा जाँच गर्दा ती सामग्री अत्यन्तै संवेदनशील इलेक्ट्रोनिक चिप्स भएको पुष्टि भएको हो ।

डीएसपी लामिछानेले सीमामा सजिलै लुकाउन र ओसारपसार गर्न सकिने यस्ता सामानको तस्करी पछिल्लो समय बढ्दो क्रममा रहेको बताए । उनका अनुसार चिप्स तस्करीमा संलग्न व्यक्तिको पहिचान खुल्न नसकेको भए पनि विराटनगरकै कुनै व्यापारीको संलग्नता हुनसक्ने आशंकामा अनुसन्धान तीव्र पारिएको छ ।

यस विषयमा इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राईको नेतृत्वमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीले सीमा क्षेत्रमा देखिने ‘सामान्य’ ढुवानीभित्र लुकेको अवैध कारोबारप्रति अब अझ सतर्कता आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार