झापा । विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा पक्राउ परेका झापा दमक नगरपालिका–१ का ४८ वर्षीय खगेन्द्र खरेल पुर्पक्षका लागि थुनामा पठाइएका छन् । झापा जिल्ला अदालतको माघ २१ गतेको आदेशअनुसार उनलाई सुनसरीस्थित झुम्का कारागार चलान गरिएको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका खरेललाई बुधबार साँझ करिब ७ बजेर ५० मिनेटको समयमा प्रहरी नायब निरीक्षक प्रकाश मेहताको कमाण्डमा खटिएको चार जनाको प्रहरी टोलीले कारागारतर्फ लगेको थियो । नेपाल प्रहरी लेखिएको सेतो बुलेरो गाडीमार्फत लगिएका खरेललाई राति करिब ९ बजेर ४५ मिनेटको समयमा झुम्का कारागार बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खरेलमाथि विष्फोटक पदार्थ सम्बन्धी कसुरमा थप अनुसन्धान जारी रहेको छ ।
को हुन् खगेन्द्र खरेल ?
२०३४ साल वैशाख १७ गते ताप्लेजुङमा जन्मिएका खरेल बाल्यकालमै बाबुआमासँग भारत गएका थिए । उनी भारतको असाममा बसेर अध्ययन गरेको प्रहरी स्रोत बताउँछ । उनका बाबुआमा हाल झापामा बस्दै आएका छन् भने अन्य आफन्त असाममै छन् ।
प्रहरीका अनुसार खरेल सन् १९९७ मा भारतीय सेनामा भर्ती भएका थिए । त्यहाँ केही वर्ष काम गर्ने क्रममा उनले बम बनाउने, हतियार चलाउने र विस्फोटक प्रयोगसम्बन्धी सीप सिकेको प्रहरीको दाबी छ । जागिर छाडेपछि सन् २००८ मा नेपाल फर्किएका उनी वैदेशिक रोजगारीका क्रममा दुबई पनि गएका थिए ।
नेपाल फर्किएपछि उनी ‘ग्रेटर नेपाल’ र ‘हिन्द राष्ट्र नेपाल’ जस्ता अभियानमा सक्रिय रहेको प्रहरीको भनाइ छ ।
यस्तो छ बम आतङ्कका पटके अभियुक्तको आपराधिक इतिहास
प्रहरीको अभिलेखअनुसार खरेल शृङ्खलाबद्ध बम आतङ्कमा संलग्न पटके अभियुक्त हुन् । उनी यसअघि झापा र सुनसरीका विभिन्न घटनामा संलग्न भई दुई पटक कारागार सजाय भोगिसकेका छन् ।
_RvgM7AtGFx.jpg)
गत वर्ष सुनसरीको इटहरीमा नक्कली बम (होक्स) राखेर आतङ्क सिर्जना गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । तीमध्ये एक खरेल हुन् । उनीसँगै इटहरी उपमहानगरपालिका–४ की ३६ वर्षीया लक्ष्मीदेवी थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
२०८१ साल पुस १६ गते इटहरी उपमहानगरपालिका कार्यालय अगाडि, सुनसरी–मोरङ जोड्ने बुढीखोला पुल तथा धरान–इटहरी जोड्ने भोटे खोला पुलमा बम राखिएको सूचना प्रहरीलाई प्राप्त भएको थियो । सूचनामा मानवीय क्षति पु¥याउनेभन्दा पनि पुल भत्काउने उद्देश्य रहेको उल्लेख थियो ।
प्रहरीले खोजतलास गर्दा इटहरी उपमहानगरपालिका कार्यालय अगाडि नक्कली बम फेला पारेको थियो भने अन्य स्थानमा केही फेला परेन । सोही दिन खरेल भारततर्फ फरार भएका थिए ।
कारागारबाट छुटे लगत्तै उही आतङ्क
प्रहरीका अनुसार खरेल पछिल्लो पटक २०८१ असोज १४ गते कारागारबाट छुटेका थिए । तर, कारागारबाट छुटेको तीन महिनापछि नै उनले पुनः आतङ्क सिर्जना गरेको आरोप लागेको छ ।
पुस १६ गतेको घटनापछि भारत पुगेका खरेलले ह्वाट्सएपमार्फत ३१ वटा जिल्लामा बम राख्ने धम्की दिएको प्रहरी स्रोत बताउँछ । त्यसपछि सङ्घीय संसद् भवनमा ड्रोन खसाल्ने धम्कीसमेत दिएका थिए ।
यसै क्रममा उनले गत पुस १९ गते बिहान झापा स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत माई खोला पुल नजिक सडकको उत्तरी भागमा प्रेसर कुकर बम (होक्स) राखेर त्रास फैल्याएका थिए ।
पटक–पटक आतङ्क सिर्जना गर्ने गतिविधिमा संलग्न भएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको थियो । सोही क्रममा सुनसरी प्रहरीको जिम्मा लगाएको प्रहरी स्रोतको भनाइ छ ।
‘यो व्यक्ति प्रविधिमा पोख्त छ, ह्वाट्सएपमार्फत संसदमा ड्रोन खसाल्ने धम्की दिन्छ,’ प्रहरी स्रोत भन्छ, ‘पटक–पटक आतङ्क फैलाउने उद्देश्यले सक्रिय रहने भएकाले ऊ उच्च जोखिममा राखिएको अभियुक्त हो ।’
पहिले पनि बम काण्डमा संलग्न
२०७८ चैत १४ गते इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृति टोलमा भएको बम विस्फोटको घटनामा पनि खरेल संलग्न थिए । सो घटनामा सुतली बम बनाउने क्रममा विस्फोट हुँदा रविन थापा र लमजुङका शेरजंग गुरुङ घाइते भएका थिए ।
त्यसबेला घाइते दुईसहित लक्ष्मीदेवी थापा र सञ्जय भनिने खगेन्द्र खरेललाई प्रहरीले पक्राउ गरेको थियो । २०७९ जेठ २० गते कारागार चलान भएका खरेल २०८१ असोज १४ गते छुटेका थिए ।

यसअघि २०७६ वैशाखमा झापाको कन्काई नदीको पुलमा बम राखिएको घटनामा पनि खरेल संलग्न थिए । गोर्खा जनमुक्ति पार्टीको नाममा राखिएको उक्त बम प्रहरीले डिस्पोज गरेको थियो । सो घटनामा संलग्न भएको आरोपमा खरेलसहित पाँच जना पक्राउ परेका थिए । दुई वर्ष कारागार सजाय भोगेर छुटेलगत्तै उनी पुनः सुनसरीको बम विस्फोट प्रकरणमा मुछिएका थिए ।
प्रहरीका अनुसार खरेलले ‘हिमाल सुरक्षा परिषद्’ नामक समूहसमेत गठन गरेका थिए ।
पटक पटक बम विस्फोट घटनामा मुछिएका खरेल झुम्का कारागारमा कैद भुक्ता गरिरहेका थिए । तर, ‘जेनजी आन्दोलन’ का क्रममा सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा उनी फरार भएका थिए ।
फरार अभियुक्तलाई झापा प्रहरीले अनुसन्धानपछि झुम्का कारागार नै पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रतिक्रिया