चुनावी प्रचारप्रसारमा आएका बालेनले इटहरीमा उम्मेदवारकै माला हुत्याईदिए (भिडियोसहित)

बुधबार, २१ माघ २०८२

इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीका रूपमा अघि सारेका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ सुनसरी आइपुग्दा स्वागतका क्रममा अनौठो दृश्य देखिएको छ।

पार्टीका सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार लालविक्रम थापाले लगाइदिन खोजेको स्वागत माला बालेनले अस्वीकार गर्दै हटाइदिएपछि घटनाले चर्चा पाएको हो।

प्रधानमन्त्रीका रूपमा रास्वपाले अघि सारेका कारण देशव्यापी चर्चा बटुलिरहेका बालेनलाई चुनावी प्रचारप्रसारका लागि रास्वपाले उत्साहका साथ सुनसरी ल्याएको थियो।

सो क्रममा उनलाई स्वागत गर्न कोशी प्रदेशका महामन्त्री तथा सङ्गठन विभाग प्रमुख समेत रहेका उम्मेदवार थापाले माला लगाइदिने प्रयास गरेका थिए। तर बालेनले माला नलगाई हातैले हटाएपछि कार्यक्रम स्थलमा केही क्षण असहज अवस्था सिर्जना भएको देखिएको थियो।

बालेन सुनसरी आउने जानकारी पाएपछि पार्टीका नेता तथा कार्यकर्ताहरू उत्साहका साथ स्वागतका लागि धेरै समयदेखि पर्खिरहेका थिए। तर स्वागतको क्रममा माला अस्वीकार गरिएपछि महामन्त्री थापा केही निराश देखिएका थिए। चुनावी माहौलमै भएको उक्त घटनाले स्थानीय तहमा विभिन्न टिप्पणी र चर्चा सुरु भएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्दै देशव्यापी प्रचार अभियान सञ्चालन गरिरहेको छ।

सोही अभियान अन्तर्गत तेस्रो चरणको कार्यक्रम अनुसार बालेन आज मोरङ, सुनसरी र उदयपुरका विभिन्न स्थानमा पुग्ने कार्यतालिका अनुसार सुनसरीको इटहरी आएका हुन्। 

  भिडियो हेर्न यहाँ थिच्नुहोस् 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार