रोशनी झा मृत्यु प्रकरण : दोषीलाई कारवाहीको माग राख्दै धर्ना

विहीबार, १८ मंसिर २०८२

काठमाडौं । जनकपुरधामकी रोशनी झाको शंकास्पद मृत्यु प्रकरणमा माईती पक्षले दोषीलाई कारवाही गर्न माग गर्दै धर्ना दिएका छन् । उनीहरु बिहीबार (आज) जनकपुरधामको जनक चोकमा धर्नामा बसेका छन् ।

रोशनी झाको हत्या भएको दाबी गर्दै धर्नामा बसेका माईती पक्षका नातेदारहरुले रोशनीको हत्यामा संलग्न रहेका थप केही व्यक्तिहरुलाई पक्राउ गर्न माग राखेका छन् । चिकित्सक डा.धिरज झा, र प्रमाण नष्ट गरेका ससुराली पक्षको नातेदार पर्ने सचिन झा र प्रतिक झालाई हिरासतमा लिई छानबीन गर्न माग गर्दै आफूहरु धर्नामा बसेको मृतक रोशनीकी भाउजु सारथी झाले बताइन् ।

एक हप्ता अघि बिहीबार राति जनकपुरधाम उपमहानगरपालिका-४ कटैयाचौरीस्थित आफ्नै घरमा २७ वर्षीया रोशनी झा मृत फेला परेकी थिईन । रोशनीको घटनाबारे ससुरा पक्षले ‘आत्महत्या’ भएको दाबी गरेपनि माइती पक्षले भने ‘योजनाबद्ध तरिकाले हत्या गरिएको’ आरोप लगाउँदै आएका छन् । हाल मधेश प्रदेश सरकारको नीति तथा योजना आयोगमा कार्यरत प्रशान्त मिश्रको चार वर्षअघि सामाजिक रीति रिवाजअनुसार रोशनीसँग विवाह भएको थियो ।

माइती पक्षले रोशनीका पति प्रशान्त र ससुरा रुद्रनारायण मिश्रविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् । उजुरी दर्ता भएपछि प्रहरीले गत आइतबार स्थलगत निरिक्षण गर्दै दुवैलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । तर पछि ससुराको संलगता नदेखिएपछि सोही दिन दिउँसोतिर छाडेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बहादुर बमले जनाएका छन् ।

धनुषा प्रहरीले घटनास्थलको पुनः अनुगमन, घरपरिवारका सदस्यको बयान संकलन र उपलब्ध प्रमाणको फरेन्सिक परीक्षणसहित अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार