झापा–५ मा सञ्चारमाध्यमले दल र उम्मेदवारको मर्यादा मिच्ने सामग्री प्रसारण गरेको काँग्रेसको आरोप

बुधबार, २१ माघ २०८२

झापा : नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ५ ले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्चालबाट झुटा, तथ्यहीन र भ्रामक प्रचारले गरेको दुखेसो गर्दै सञ्चारमाध्यमहरुलाई निष्पक्ष हुन आग्रह गरेको छ । चुनाव प्रचार–प्रसार अन्तर्गतको सूचना सञ्जाल समन्वय समिति कांग्रेस झापा क्षेत्र नम्बर ५ले दमकमा आयोजना गरेको पत्रकारसंगको अन्तरक्रियामा काँग्रेस नेताहरूले पत्रकारिताका आधारभूत मूल्य–मान्यता, सिद्धान्त र निर्वाचन आचारसंहिताविपरीत सामग्री प्रकाशित–प्रसारित भइरहेको उल्लेख गरेका हुन्। 

 

कार्यक्रममा बोल्ने केही वक्ताहरुले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत बाहिर आएका सामग्रीप्रति गम्भीर आपत्ति जनाउँदै निष्पक्ष पत्रकारितामाथि प्रश्न उठाएका छन्। फेसबुकलगायत सामाजिक सञ्जालमा फैलाइएका झुटा, तथ्यहीन र भ्रामक प्रचारले नागरिकको सही सूचना पाउने अधिकार हनन भएको उनीहरूको दाबी गरे ।

कांग्रेसबाट झापा क्षेत्र नम्बर ५ की उम्मेदवार मन्धरा चिमरिया पौडेलको उपस्थितिमा सम्पन्न कार्यक्रममा नेताहरूले विघटित संसदको सबैभन्दा ठूलो दल कांग्रेस भएको र अघिल्लो निर्वाचनमा पनि झापा क्षेत्र नम्बर ५ मा निकटतम प्रतिस्पर्धी दलको हैसियत बनाएको स्मरण गराए। 

कांग्रेस केन्द्रीय सदस्य सुरेश सुब्बाले सर्लाही र झापाका विषयलाई जोडेर प्रविधिको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत फैलाइएका प्रचारमा कुनै सत्यता नरहेको बताए। यस किसिमका गतिविधिले सञ्चार जगतको विश्वसनीयतामाथि नै प्रश्नचिह्न खडा भएको उनको टिप्पणी थियो।

कसैको स्वार्थपूर्तिका लागि कल्पनाका आधारमा तयार गरिएका सूचना सामग्री सार्वजनिक गर्नु अघि सञ्चारकर्मी तथा सामग्री प्रवाहकर्ताले आफ्नो जिम्मेवारी र कर्तव्यको ख्याल गर्नुपर्ने सुब्बाको सुझाव छ। तालमेल, गठबन्धनलगायत विषयमा भ्रम फैलाएर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने र कांग्रेसप्रति नकारात्मक धारणा निर्माण गर्न भूमिका खेल्ने तत्वहरूको पहिचान भइसकेको भन्दै उनले कानुनी उपचार खोजिने चेतावनी समेत दिए।

कांग्रेस झापाका कार्यवाहक सभापति शेरबहादुर भट्टराईले क्षेत्र नम्बर ५ को विषयमा देश–विदेशबाटै भ्रम फैलाउने प्रयास भइरहेको बताउदै नागरिकहरू त्यसप्रति सचेत हुनुपर्नेमा जोड दिए । भट्टराईले कांग्रेसभित्र उम्मेदवारीका विषयमा कुनै मतभेद नरहेको र पार्टी एकढिक्का भएर निर्वाचनमा होमिएको उल्लेख गर्दै मतदाताबाट सकारात्मक परिणामको अपेक्षा गरिएको बताए।

कांग्रेस झापा क्षेत्र नम्बर ५ का सभापति ढुण्डीराज भण्डारीले यसपटक झापा क्षेत्र नम्बर ५ मा गुमेको कांग्रेसको विरासत फर्काउने दृढ संकल्पसहित नेता तथा कार्यकर्ता चुनावी अभियानमा जुटेको बताए। सबै किसिमका तथ्यहीन र भ्रामक प्रचारको पार्टीले एकताबद्ध रूपमा प्रतिवाद गरिरहेको समेत उनले जानकारी गराए । 

विपक्षी दलहरू कांग्रेस निर्वाचन जितको नजिक पुगेको देखेपछि अत्तालिएर सामाजिक सञ्जालको दुरुपयोग गर्ने, मतदाताको गोपनीयता भंग गर्ने जस्ता गैरजिम्मेवार क्रियाकलापमा संलग्न भएको समेत काँग्रेस नेताहरुले बताए ।

सञ्चारमाध्यमले निष्पक्ष र स्वतन्त्र पत्रकारिताको अभ्यास गर्दै मूल्य–मान्यता र सिद्धान्तअनुसार सबै दल र उम्मेदवारप्रति समान व्यवहार गरे मात्र लोकतन्त्र सुदृढ हुने र नागरिकको सर्वोच्चता कायम रहने कांग्रेस नेताहरूको भनाई रहेको थियो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार