नेतृत्वमा ओलीको निरन्तरता पार्टी र राष्ट्रको आवश्यकता : उपाध्यक्ष बादल

शुक्रबार, १९ मंसिर २०८२

काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा (बादल) ले वर्तमान राजनीतिक परिस्थितिमा अध्यक्ष केपी ओलीको नेतृत्वलाई निरन्तरता दिनु पार्टी र राष्ट्र दुवैको आवश्यकता भएको बताएका छन्।

प्रेस चौतारी नेपालले शुक्रबार गरेको कार्यक्रममा बोल्दै उनले अहिले लोकतान्त्रिक राजनीतिक दलको नेतृत्वलाई कमजोर बनाइ प्रतिक्रिया उन्मुख शक्तिहरू अघि बढ्ने प्रयत्‍नमा रहेको बताए।

यसविरुद्ध जुध्न पार्टीभित्र एकता, निरन्तरता र नेतृत्व संरक्षण अहिलेको अपरिहार्य आवश्यकता रहेको उनको भनाइ छ।

‘राजनीतिक दलको नेतृत्व विस्थापित गर्ने प्रयास भइरहेको छ, नेतृत्वलाई विस्थापित गरेर मात्र प्रतिक्रान्ति सफल हुन्छ भन्ने सोचबाट प्रतिगामी शक्ति अघि बढेका छन्’,  थापाले भने ।

उनले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन ‘सामान्य महाधिवेशन नभई प्रतिक्रान्ति विरुद्धको निर्णायक राजनीतिक मोड’ भएको टिप्पणी गरे।

एमालेलाई लक्षित गरी ‘फुटाऊ र शासन गर’ नीति अन्तर्गत शीर्ष नेतृत्वलाई हटाउने, पुस्तान्तरणको नाममा आफ्नै अनुकूलको नेतृत्व स्थापित गर्ने चलखेल भइरहेको उनको दाबी छ।

‘प्रतिगामी शक्ति नेतृत्वलाई सिध्याउन चाहन्छन्, हामी हाम्रो नेतृत्वलाई संरक्षण गर्न चाहन्छौं, अहिले एक अर्कालाई विस्थापित गरेर जाने समय होइन, एकता र सुदृढीकरणको समय हो, आवश्यक परे विधान संशोधन गरेर भए पनि सबैलाई समेटेर लैजानुपर्छ ।’ उनले भने।

कम्युनिष्ट आन्दोलनको मूलधार स्थापित गर्ने, एमालेलाई ठुलो पार्टी बनाउने र देशलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने नेता भन्दै बादलले अध्यक्ष ओलीको प्रशंसा पनि गरे ।

जेनजी आन्दाेलनकाे आवरणमा नेपाललाई ध्वस्त बनाउने पश्चिमाहरूको योजना रहेको उनको जिकिर छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार