काठमाडौंः सरकारले चुनावी वातावरण बनाउन नसकेको भन्दै आलोचना गर्दै आएका राजनीतिक दलहरू अन्ततः चुनाव सफल बनाउनतिर केन्द्रित भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेबाहेकका सबै दलबीच सहमति देखिएको छ।
आगामी निर्वाचनबारे छलफल गर्न बसेको बैठक सकारात्मक रहेको सहभागी नेपाली काङ्ग्रेसकी नेतृ पुष्पा भुसालले बताइन्। "चुनाव केन्द्रित आजको बैठक सकारात्मक थियो। सरकारलाई चुनावी सुरक्षाको वातावरण सुनिश्चित गर्न सबै दलले सुझाव दिएका छन्," उनले भनिन्। प्रधानमन्त्री र मन्त्रीहरू पनि सुरक्षाबारे आश्वस्त देखिएको उनले उल्लेख गरिन्।
काँग्रेस चुनावमार्फत नै मुलुकको समस्या समाधान गर्नेमा प्रतिबद्ध रहेको भुसालले बताइन्। निर्वाचन आयोगले आवश्यक तयारी पूरा भएको प्रतिवेदन दिए पनि केही दलले सुरक्षा व्यवस्थाबारे आरक्षण कायम राखेको उनले सम्झाइन्।
प्रधानमन्त्री कार्कीले निर्वाचन सुनिश्चितताका लागि पछिल्ला दिनमा विभिन्न दलसँग संवाद गर्दै आएकी छिन्। सोहीक्रममा काँग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपासहित निर्वाचन आयोगका आयुक्त र सुरक्षा निकाय प्रमुखहरूको सहभागितामा बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको छलफलले चुनावी वातावरण बनाउन थप सहयोग पुगेको प्रेस संयोजक राम रावलले जानकारी दिए।
उता, एमालेले भने पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवाको विषयसहित कडा प्रश्न उठाएको छ। एमाले नेता महेश बर्तौलाका अनुसार सरकारले चुनाव गराउने वातावरण नबनेका केही उदाहरणहरू एमालेले बैठकमा प्रस्तुत गरेको हो।
"राज्यको मनोबल कमजोर छ, अध्यादेश, राजदूत फिर्ता लगायतका विषयमा सरकारले स्पष्टता दिन सकेको छैन," उनले भने। सर्वोच्चमा विचाराधीन संवैधानिक मुद्दाको छिनोफानो नआएसम्म चुनाव हुन नसक्ने एमालेको धारणा रहेको बताइएको छ। एमालेको पहिलो प्राथमिकता संसद् पुनर्स्थापना नै रहेको बर्तौलाले दोहोर्याए।
हाल दल र सरकारबीचको दूरी क्रमशः घट्दै गएको देखिन्छ। ‘जेनजी आन्दोलन’पछि केपी ओली नेतृत्वको सरकार ढलेसँगै सुशीला कार्की नेतृत्वमा २७ भदौमा नागरिक सरकार बनेको थियो। आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने म्यान्डेटसहित बनेको यो अन्तरिम सरकारको आयु ६ महिना मात्र हो।
विश्लेषकहरूका अनुसार तोकिएको समयमा चुनाव हुन नसके मुलुक फेरि नयाँ राजनीतिक प्रक्रियामा जानुपर्ने सम्भावना छ। तर मन्त्रीहरूले भने राजनीतिक संवाद र गतिविधि बढ्दै गएको भन्दै चुनावी माहौल तयार भइसकेको दाबी गरेका छन्।
शुक्रवारको बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र समग्र वातावरणबारे सम्बद्ध अधिकारीहरूले विस्तृत जानकारी प्रस्तुत गरेका थिए। बैठकमा प्रधानमन्त्री, मन्त्रीहरू, प्रमुख दलका प्रतिनिधि, निर्वाचन आयोगका अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो। छलफलबाट आगामी प्रतिनिधि सभा निर्वाचन सफल बनाउन महत्त्वपूर्ण प्रगति देखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ
प्रतिक्रिया