जनकपुर । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संघीयता अधिकार र अवसरको न्यायोचित वितरण रहेको बताएका छन् ।
बुधबार मधेश प्रदेश सभाको ८ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रदेश प्रमुख लाभले संघीयता भनेको भूगोलको विभाजन मात्र नरहेको धारणा राखे ।
उनले संघीयता भनेको सिंहदरबारको अधिकारलाई जनताको घरदैलोसम्म ल्याउने प्रदेश संरचना रहेको बताए । लोकतन्त्रको सुन्दरता भनेको जनताले आफ्नो प्रतिनिधिहरु मार्फत आफ्ना लागि आफै कानुन बनाउनु रहेको प्रदेश प्रमुख लाभको भनाई थियो ।
प्रदेश प्रमुख लाभले विगत ८ वर्षमा मधेश प्रदेश सभाले विभिन्न उतार चढाव झेल्दै संघियता कार्यान्वयनमा खेलेको नेर्तत्वदायी भूमिका प्रशंसनिय रहेको उल्लेख गरे । प्रदेशको नामाकरण र राजधानी चयनमा मधेश प्रदेश सभाले देखाएको सुझबुझ र सहमती राजनितिक परिपक्कताको उदाहरण रहेको उनले बताए ।
प्रदेश प्रमुख लाभले प्रदेश सभा कानुन मात्र बनाउने स्थलको रुपमा नभई जनताको समस्याहरुको सामाधान गर्ने केन्द्रको रुपमा चिनिनु पर्नेमा जोड दिए । उनले समृद्ध मधेश निर्माणका लागि सम्पूर्ण दलहरुलाई जनताले विकास गर्नका निम्ति मात्र प्रदेश सभामा पठाएको बुझ्नु पर्ने बताए । मधेश प्रदेशको स्वाभीमान उच्च राख्दै सम्पूर्ण प्रदेशवासी र जनप्रतिनिधिहरुले प्रदेशलाई आर्थिक रुपमा समृद्ध र सामाजिक रुपमा समावेशी बनाउन लाग्नु पर्नेमा प्रदेश प्रमुख लाभले जोड दिए ।
आठौ वार्षिकोत्सव समारोहमा मधेश प्रदेशका सांसद राम सरोज यादवलाई उत्कृष्ठ सांसदको रुपमा सम्मान गरिएको थियो ।
प्रतिक्रिया