रौतहट : रौतहटको इशनाथ नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको चुनावी प्रचारमा प्रयोग हुँदै आएको कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ । दुर्घटनापछि कार चालक फरार भएका छन् ।
प्रहरीका अनुसार बिहीबार दिउँसो इशनाथ नगरपालिका–४ मठिया टोलस्थित मस्जिद नजिकै बाटोमा खेलिरहेकी स्थानीय मोहम्मद सगिरकी छोरी अल्फा खातुनलाई बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिएको थियो । उक्त कार रौतहट–२ बाट रास्वपाका उम्मेदवार सगिर आलमको चुनावी प्रचारका लागि प्रयोग हुँदै आएको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
ठक्करपछि चालकले बालिकालाई उपचारका लागि गौरस्थित सिटी अस्पताल पुर्याए पनि अस्पतालमै छाडेर फरार भएको प्रहरीले जनाएको छ । सिटी अस्पतालमा उपचार सम्भव नभएपछि प्रहरी टोलीले घाइते बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाएको थियो । तर, उपचारकै क्रममा दिउँसो २ः४५ बजे बालिकाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
घटनापछि प्रहरीले ठक्कर दिने कारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेको छ । यद्यपि, दुर्घटनामा संलग्न चालक भने अझै फरार छन् । प्रहरीले चालकको खोजी तीव्र पारेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया