सप्तरी ३ का रास्वपा उम्मेदवार चौधरीमाथि भ्रष्टाचार आरोप, अख्तियारले बयानमा बोलायो

विहीबार, २२ माघ २०८२

सप्तरी : सप्तरी क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरीमाथि विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको आरोप लागेको छ।

सोही विषयमा अनुसन्धान अगाडि बढाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीसहित नौ जनालाई बयानका लागि बोलाएको हो।

अख्तियारले डाक्नेश्वरी नगरपालिकालाई पत्र पठाउँदै चौधरीसहित सम्बन्धित व्यक्तिहरूलाई माघ २३ गते इटहरीस्थित अख्तियार कार्यालयमा उपस्थित गराउन निर्देशन दिएको खुलासा भएको छ।

डाक्नेश्वरी नगरपालिका–५ स्थित श्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालयको भवन निर्माणमा मिलेमतो गरी भ्रष्टाचार भएको उजुरीमाथि अनुसन्धान आवश्यक ठहर गर्दै आयोगले माघ २० गते नै पत्राचार गरेको बताइएको छ।

अमरकान्त चौधरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन्। विद्यालय भवन निर्माण, पुस्तक वितरण, प्रयोगशाला तथा कम्प्युटर ल्याब स्थापना गर्न संघीय सरकारबाट एक करोड रुपैयाँभन्दा बढी बजेट आएकोमा ४९ लाख रुपैयाँ अनियमितता भएको उजुरी परेको नगर प्रमुख रामलखन मलाहले जानकारी दिएका छन्।

नगर प्रमुख मलाहका अनुसार अख्तियारले यसअघि पनि चार पटक पत्राचार गरे पनि सम्बन्धित व्यक्तिहरू बयानका लागि उपस्थित भएका छैनन्। चौधरीसँग पटक–पटक सम्पर्क गर्न खोज्दा पनि भेट हुन नसकेको उनले बताए।

यसैबीच, चौधरीका बुवाले विद्यालयका लागि एक विघा १७ कट्ठा जग्गा दान दिएको भनिए पनि १४–१५ कट्ठा मात्र विद्यालयको नाममा दर्ता गरी बाँकी जग्गा आफ्नै नियन्त्रणमा राखिएको विषयमा समेत उजुरी परेको छ। त्यही जग्गामा फुटबल मैदान निर्माणका लागि गरिएको माटो भरानमा करिब ९० लाख रुपैयाँ अनियमितता भएको आरोप पनि लागेको नगर प्रमुख मलाहको भनाइ छ।

अख्तियारले पटक–पटक बोलाउँदा पनि सम्बन्धित व्यक्तिहरू सम्पर्कमा नआएपछि यसपटक प्रशासनको सहयोगमा पालिकाका कर्मचारीमार्फत बयानका लागि उपस्थित गराउने तयारी गरिएको छ।

बयानका लागि बोलाइएकामा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू सतेन्द्र मण्डल, रुन्जी देवी सादा, कविता सिंह, श्यामला देवी मण्डल, दुखरण मण्डल र रामसागर मण्डल रहेका छन्। साथै तत्कालीन प्रधानाध्यापक योगेन्द्र प्रसाद मेहता र सहायक प्रधानाध्यापक सुभाष कुमार साहलाई पनि अख्तियारले बोलाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार