काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपा ताजा जनादेशसहित सरकार बनाउने हैसियतका साथ संसद् प्रवेश गर्ने दाबी गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टी र थरुहट आन्दोलनका विभिन्न नेताहरूसँग गरिएको राजनीतिक समायोजन घोषणा कार्यक्रममा बोल्दै लामिछानेले समयमै निर्वाचन हुने र त्यसबाट प्राप्त जनादेशले मुलुकको काँचुली फेर्ने विश्वास व्यक्त गरे ।
उनले ‘अब देशमा केही हुन्छ’ भन्ने आशा जनतामा सञ्चार भइसकेको उल्लेख गर्दै आगामी निर्वाचनले पुराना राजनीतिक शक्तिहरूलाई किनारामा पुर्याउने बताए । पुराना शक्तिहरू एकआपसमा मिल्न सक्ने चर्चा भइरहेको प्रसङ्ग उठाउँदै उनले युवाहरूको विश्वासले भरिएको रास्वपाप्रति भरोसा गर्न आग्रह गरे । साथै, कुनै पनि षड्यन्त्र गरेर निर्वाचन भाँड्ने सोच नराख्न चेतावनीसमेत दिए ।
‘विभिन्न षड्यन्त्र गरेर चुनाव सर्ला कि भन्ने नसोचौँ । चुनावबाटै मुलुकले निकास पाउने हो,’ उनले भने ।
रास्वपा सभापति लामिछानेले आगामी निर्वाचनमा बहुमत आए डा. स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने घोषणा पनि गरे । सोमबार आयोजित बृहत् राजनीतिक समायोजन घोषणा सभामा पार्टीका उपसभापति वाग्लेलाई सम्बोधन गर्दै उनले भने, ‘डाक्टर साब, आउने वर्षको बजेट लेख्न सुरु गर्नुहोस् ।’
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जाने तयारी गरेको रास्वपाले वाग्लेलाई अर्थमन्त्री बनाउने घोषणा गरेको हो । उनले पुराना दलका नेता तथा कार्यकर्तामाथि कटाक्ष नगर्न आफ्ना कार्यकर्ताहरूलाई आग्रहसमेत गरे ।
‘हाम्रो एकताले हामीमाथि थप जिम्मेवारी आएको छ । अब हामी शक्तिशाली भयौँ भनेर अपदस्थ भएका साथीहरूलाई कटाक्ष नगरौँ,’ उनले भने । साथै, उनले पुराना राजनीतिक दलहरूलाई आफ्ना कमजोरी र अक्षमता स्विकार्न आग्रह गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिक उन्मुक्ति पार्टी र थरुहट आन्दोलनका विभिन्न नेताहरूसँग गरेको समायोजन घोषणा कार्यक्रममा कुलमान घिसिङ र बालेन्द्र शाह समूह अनुपस्थित रहेका छन् ।
सोमबार काठमाडौँमा विभिन्न दल तथा समूहबाट रास्वपामा समायोजन भएकाहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा केहीअघि रास्वपासँग समायोजन भएको उज्यालो नेपाल पार्टी र काठमाडौँ महानगरका मेयर बालेन शाहनिकट समूह सहभागी भएनन् ।
तर, केही समयअघि रास्वपामा समायोजन भएको विवेकशील साझा पार्टीका नेता तथा कार्यकर्ता भने कार्यक्रममा उपस्थित थिए ।
सभामा उपसभापति डीपी अर्याल, स्वर्णिम वाग्लेलगायत पदाधिकारीहरू सहभागी हुँदा शाह र घिसिङसँगै उनीहरू निकट नेताहरू समेत अनुपस्थित देखिएका थिए । घिसिङनिकट नेताहरू रास्वपा केन्द्रीय कमिटीमा मनोनीत हुन बाँकी रहेकाले उनीहरू अनुपस्थित रहेको बताइएको छ ।
सोमबार बसेको रास्वपा बैठकले बालेननिकट नेताहरूलाई मात्र केन्द्रीय कमिटीमा मनोनीत गरेको थियो ।
उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङले रास्वपासँग एकता गर्दा उपसभापतिसहित एक पदाधिकारी र २१ जना केन्द्रीय सदस्य लिने सहमति गरेका थिए । तर, हालसम्म घिसिङले कसैलाई पनि औपचारिक रूपमा पदाधिकारी वा केन्द्रीय सदस्यमा समायोजन गराएका छैनन् ।
प्रतिक्रिया