काठमाडौं । नेपाली कांग्रेसभित्र छुट्टै शक्ति समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला पक्षले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीको भागमा परेका नौ सिटमध्ये तीन सिट पाएको छ। नेकपा एमालेसँग भएको तालमेलपछि कांग्रेसलाई प्राप्त नौ सिटमध्ये कोइराला समूहलाई संस्थापन पक्षले तीन सिट दिएको हो।
कोइराला समूहले पाएको तीन सिटमध्ये मधेश प्रदेशबाट रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा र लुम्बिनी प्रदेशबाट बासुदेव जंगलीलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका कर्ण अपाङ्गता/अल्पसंख्यक क्लस्टर, देवकोटा महिला क्लस्टर र जंगली अपाङ्गता/अल्पसंख्यक क्लस्टरबाट सिफारिसमा परेका छन्।
कांग्रेसको भागमा परेका बाँकी छ सिट भने पार्टी सभापति शेरबहादुर देउवा निकट नेताहरूको हिस्सामा परेको छ। तीमध्ये कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित), गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललतिजंग शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाइएको छ।
यो सिफारिससँगै कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन तथा समूहगत समीकरण पुनः अभिव्यक्त भएको विश्लेषण गरिँदै छ। पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग नजिक मानिने समूहबाट भने यसपटक कसैलाई पनि राष्ट्रियसभा निर्वाचनका लागि सिफारिस गरिएको छैन।
प्रतिक्रिया