कांग्रेसका महामन्त्रीले ‘ठूलो स्वर’मात्र गरे काम गरेनन् : मोहन वस्नेत

शनिबार, २२ कार्तिक २०८२

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री मोहन बहादुर बस्नेतले कांग्रेसले विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भनेर छुट्याउन नसक्दा महाधिवेशन नै अन्योलमा परेको बताएका छन् । 

नेपाल न्यूज बैंक सँगको कुराकानीमा उनले हाल महाधिवेशनको तयारी पनि नपुगेको र महाधिवेशनको वहस सुरु गर्दा पार्टीभित्रै मतभेद उत्पन्न हुँदै गएको बताए । 

त्यस्तै उनले महाधिवेशनको तयारीका लागि महामन्त्री गगन कुमार थापालाई  जिम्मेवारी दिएको तर उनले जिम्मेवारी पूरा नगरेको बताए ।

‘म यो पार्टीमा लागेको ४९ वर्ष भइसक्यो । मैंले थाहा पाएसम्म महामन्त्रीले सचिवालयमा नीजि सचिव राखेर, तलब खुवाएर, ल्यापटप दिएर राखेको इतिहास थिएन । तैपनि क्रियाशीलता टुंगिएको छैन् । यो सबैभन्दा ठुलो कमजोरी हो ।

महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यको टुंगो लगाउनुपर्ने हो, त्यो सक्नुभएको छैन् । क्रियाशील छानबिन समितिको संयोजक महामन्त्री गगन थापाजीले सबभन्दा कमजोरी गर्नुभएको छ । अहिले ठूलो स्वर उहाँकै छ,’ उनले भने ।  

महामन्त्रीले अब ठूलो स्वर नगरी र आफ्नो कमजोरीलाई ढाकछोप नगरी चाँडोभन्दा चाँडो क्रियाशील सदस्यताको छानविनको काम टुंगाउनुपर्ने बताए ।

नेपाली कांग्रेस नेपालको अभिभावक र सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी भएकाले कांग्रेसकै नेतृत्वमा राष्ट्रिय समस्याहरु समाधान हुने दाबी गरे । ‘आजसम्म नेपालको इतिहासमा कुनैपनि किसिमको आन्दोलनको नेतृत्व कांग्रेसले गर्दाखेरि हालको जस्तो अवस्था भएको थिएन् । कांग्रेसकै नेतृत्वमा समस्याको समाधान भएका छन् । त्यसैले, अब जेनजीहरूलाई नि समेट्नेगरी काम गर्न जरुरी छ,’ उनले भने ।

महाधिवेशनका बारेमा पार्टीको विधान, कार्ययोजना अनुसार  म्याद थप गर्न सकिने उनले बताए ।

‘आजसम्मको इतिहासमा एक वर्ष म्याद थपिएकै हो । चार वर्ष विधानले दिन्छ । एक वर्ष थप्न सकिन्छ र विशेष परिस्थिति आयो भने अर्को ६ महिना पनि थप्न सक्ने स्थिति हो । तर त्यसरी जानुपर्ने परिस्थिति र्सिजना भएको छैन्,’ उनको भनाइ छ । 

अहिले विशेष महाधिवेशनको माग गरेर नयाँ पुस्तालाई समेट्ने र परिवर्तन ल्याउने नाममा गलत प्रक्रिया भइरहेको उनले बताए । यस्तो प्रक्रियाले तल्लो तहदेखिको अधिवेशन रोकिने वा प्रभावित हुने उनको भनाइ छ । 

‘वडादेखि पालिका, क्षेत्र, प्रदेश अथवा जिल्ला हुँदै महाधिवेशन प्रक्रियामा जानुपर्ने हुन्छ । विशेष महाधिवेशनले त्यो प्रक्रिया सबै रोकिन्छ । त्यो अप्रजातान्त्रिक हुन्छ, गैरजिम्मेवार हुन्छ । त्यसैले विशेष महाधिवेशन सम्भव छैन र नियमित महाधिवेशन चाँडो गर्नुपर्छ भन्नेमा सबैले जोड दिनुपर्छ,’ उनले भने ।

बस्नेतले कांग्रेस बैठकबाट निकास निस्किन नसकेपछि नेताहरु भाग्न थालेको आरोप पनि लगाए । उनले महामन्त्रीहरु पनि बैठकबाटै भाग्न थालेको दाबी गरे ।

नेता बस्नेतले देशको स्वाभिमानमाथि भएको आक्रमणलाई कांग्रेसले प्रतिकार गर्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्वार्थलाई रोक्ने बताए । 

कांग्रेस पार्टी जनमतमा विश्वास गर्ने भएकाले फागुन २१ गतेको निर्वाचनमा भाग लिने बताउँदै उनले सरकारले शान्ति सुरक्षाको अनुभूति हुने गरी निष्पक्ष ढंगबाट चुनाव गराउने वातावरण बनाउन जरुरी रहेको बताए । 

तर निर्वाचन नभए मुलुक अन्योलमा फस्ने भएकाले चुनाव अपरिहार्य भएको बताए । 

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार