बिराटनगर : दक्षिण एसियाली क्षेत्रलाई प्रभावित पारिरहेको मोन्था नामक चक्रवात अब नेपालमा समेत असर देखिन थालेको छ। त्यसका कारण देशका विभिन्न नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च बनेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आगामी तीन दिनभित्र कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूको बहाव तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ।
विशेषगरी कोशी र तिनका सहायक नदीहरूमा पानीको सतह उल्लेख्य रूपमा माथि उठ्ने र कतिपय ठाउँमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ।
महाशाखाले ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व–पश्चिम, रुपन्देही र कपिलवस्तु लगायतका जिल्लामा साना नदी र खोल्साहरूमा पनि आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको जनाएको छ।
त्यसैले नदी किनारमा बसोबास गर्ने नागरिक, किसान तथा स्थानीय निकायहरूलाई पूर्वतयारी अपनाउन, सतर्क रहन र आपत्कालीन योजनालाई सक्रिय बनाउन अनुरोध गरिएको छ।
महाशाखाले विशेष गरी रातको समयमा पानीको सतह अचानक बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरूले सुरक्षित स्थानमा सर्नु र मौसम विवरण नियमितरूपमा हेर्नु आवश्यक भएको जनाएको छ।

प्रतिक्रिया