लेटाङमा १३ वर्षीया अंशुको बीभत्स हत्या : प्रहरीले भन्यो, ‘अनुसन्धान चुनौतीपूर्ण’

आइतबार, ०९ कार्तिक २०८२

विराटनगर : मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको बीभत्स शव फेला परेको प्रकरणको अनुसन्धानमा प्रहरीलाई समस्या भइरहेको छ । 

अनुसन्धानमा विभिन्न जटिलता देखा परेकाले यथार्थ पत्ता लगाउन सकस भइरहेको प्रहरीले जनाएको छ । दुई सातादेखि बेपत्ता रहेकी अंशुको शव शुक्रबार दिउँसो बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा फेला परेको थियो ।

टाउको र शरीर छुट्टिएको अवस्थामा भेटिएको शवले गाउँमा त्रास, आक्रोश र पीडाको वातावरण फैलाएको छ । तर, प्रहरी अझै घटनाको निश्चित निष्कर्षमा पुग्न सकेको छैन ।

वास्तविकता पत्ता लगाउन प्रहरीलाई सकस परिरहेको छ । अंशु असोज २१ गते दिउँसो करिब साढे चार बजे घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् । परिवारलाई उनी कहाँ र किन गइन् भन्ने थाहा थिएन ।

अभिभावकले प्रहरीलाई खोजीको लागि जानकारी दिएपछि पनि लामो समयसम्म उनको कुनै अत्तोपत्तो लागेन । शुक्रबार दिउँसो घाँस काट्न गएका स्थानीयले जंगलभित्रबाट फैलिएको दुर्गन्ध पछ्याउँदै जाँदा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि इलाका प्रहरी कार्यालय लेटाङ र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी प्रमुख एसपी कवित कटवालको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । घटनास्थल बेलबारी–लेटाङको सिमानामा पर्ने साझेदारी वन क्षेत्र हो, जहाँ निकै दुर्गन्धसहितको  डर लाग्दो दृश्य देखिएको थियो ।

एसपी कटवालका अनुसार शव अत्यन्त क्षतविक्षत र बिग्रिएको अवस्थामा भेटिएको थियो । ‘टाउको र शरीर छुट्टिएको छ, प्रारम्भिक रूपमा धारिलो हतियार प्रयोग गरिएको जस्तो देखिन्छ,’ उनले भने, ‘तर, जंगलभित्र शव कुहिएको अवस्थामा भेटिएकाले जंगली जनावरको आक्रमणबाट पनि मृत्यु हुन सक्ने सम्भावना नकार्न सकिँदैन । यथार्थ कुरा अनुसन्धानपछि मात्र प्रष्ट हुन्छ ।’

घटनास्थलमा अंशुले लगाएका ट्राउजर, हाफपाइन्ट र चप्पल फुकालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृतिका आधारमा बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ । तर, शव अत्यधिक कुहिएको अवस्थामा भेटिएकाले अनुसन्धान कठिन भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

शवको शनिबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको छ । प्रहरीका अनुसार पोस्टमार्टमपछि डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको छ । ‘अभिभावकले शव अंशुकै भएको बताएका छन् । तर, डीएनए रिपोर्ट आउँदासम्म औपचारिक पुष्टि गर्न सकिँदैन,’ प्रहरी स्रोतले भन्यो।

अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा पाँचमा अध्ययनरत थिइन् । वडाध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार उनी अत्यन्तै सामान्य र विपन्न परिवारकी बालिका थिइन् । ‘दुई सातापछि टाउको र शरीर छुट्टिएको अवस्थामा शव भेटिँदा सिंगो गाउँ स्तब्ध भयो,’ उनले भने, ‘यस्तो निर्मम अपराधले हाम्रो समाजमा कस्तो विकृति फैलिँदैछ भन्ने प्रश्न उठाएको छ ।’

घटनापछि गाउँमा शोक र आक्रोश दुवै व्याप्त छ । स्थानीय बासिन्दाले घटनालाई योजनाबद्ध हत्या भन्दै दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । वडाध्यक्ष तिम्सिनाले पनि घटनाको स्वरूप हेर्दा बलात्कारपछि हत्या गरिएको ठम्याउन सकिने बताए । ‘अंशु हराएको दिनदेखि नै खोजीमा हामी सक्रिय थियौं । तर, यस्तो रूपले भेटिन्छे भन्ने कसैले कल्पना पनि गरेका थिएनौं,’ उनले भने, ‘अब अपराधीलाई पत्ता लगाएर कानुनको कठघरामा उभ्याउनु पर्छ ।’ WhatsApp Image 2025-10-25 at 18.01.39

जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको विस्तृत अनुसन्धानका लागि इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा पाँच सदस्यीय विशेष टोली गठन गरेको छ । टोलीले शनिबारदेखि घटनास्थल वरपरका बासिन्दासँग सोधपुछ, प्रमाण संकलन र शकास्पद व्यक्तिहरूको पृष्ठभूमि अध्ययन सुरु गरेको छ । तर, अनुसन्धानमा जटिलता बढ्दै गएको प्रहरीले जनाएको छ ।

शव कुहिएको र आवश्यक प्रमाणहरू नष्ट हुन थालेका कारण घटनाको सत्यतथ्य निकाल्न प्रहरीलाई कठिन भइरहेको छ । प्रहरीले अंशुको घर, विद्यालयका शिक्षक, सहपाठी र छिमेकीहरूसँग पनि बयान लिँदैछ । यद्यपि, अहिलेसम्म घटनामा संलग्न कोही व्यक्तिको पहिचान हुन सकेको छैन । प्रहरीले विभिन्न प्रमाण संकलन गरेर परीक्षण गर्न थालेको छ ।

घटनापछि अंशुका अभिभावक र आफन्त गहिरो शोकमा छन् । छोरीको शव देख्नेबित्तिकै आमा बिनाले थामिन सकेकी छैनन् । ‘हामीले हरेक दिन उसको पर्खाइ गर्‍यौं । फर्केर आउँछे भनेर आशा पाल्दै थियौं । तर, यस्तो अवस्थामा भेटिन्छे भनेर कहिल्यै सोचेका थिएनौं । जसले यो काम गर्‍यो, उसलाई कानुनले कडा सजाय देओस्,’ रुँदै उनले भनिन्  

लेटाङका स्थानीय पनि प्रहरीले छिटो निष्कर्षमा पुगेर दोषीलाई कारबाही गर्नुपर्ने माग गरिरहेका छन् । उनीहरूले घटनालाई नियोजित अपराध भनेका छन् । बालबालिकाको सुरक्षामा स्थानीय सरकार र विद्यालय प्रशासनले पनि ध्यान दिनुपर्ने उनीहरुको माग छ । 

प्रहरीले भने घटनालाई अत्यन्त संवेदनशील मानेर अनुसन्धान अगाडि बढाइएको जनाएको छ । ‘पोस्टमार्टम रिपोर्ट, डीएनए परीक्षण र फरेन्सिक अनुसन्धानपछि मात्र घटनाको वास्तविकता खुल्नेछ,’ एसपी कटवालले भने, ‘तर, घटनाको प्रकृति हेर्दा गम्भीर आपराधिक गतिविधिको संकेत मिलिरहेको छ ।’

हालसम्म घटनासँग सम्बन्धित कुनै ठोस सुराक नपाए पनि प्रहरीले अनुसन्धानलाई तीव्र बनाइएको जनाएको छ । विद्यालयका विद्यार्थी, शिक्षक र गाउँलेहरू सबै अंशुको न्यायको माग गर्दै छन् ।

एसपी कटवालले भने, ‘हामी अनुसन्धानका सबै सम्भावित कोणबाट अघि बढिरहेका छौं । अपराधीलाई छिटो पहिचान गरेर कारबाहीको दायरामा ल्याउने हाम्रो पहिलो प्राथमिकता हो ।’ तर, घटनास्थलको अवस्था र प्रमाणको सीमितताले अनुसन्धानमा गम्भीर चुनौती थपेको प्रहरीको निष्कर्ष छ । अंशुको परिवार र आफन्त अहिले पनि न्यायको प्रतीक्षामा छ । उनीहरुले अपराधी कानुनको कठघरामा ल्याउँदा मात्रै न्याय मिल्ने बताए ।
 

प्रतिक्रिया

न्युज डेस्क
लेखकको बारेमा
न्युज डेस्क
संस्थापक

सम्बन्धित समाचार