भक्तपुर : नेकपा (एमाले) का नेता महेश बस्नेतले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ निवास निर्माणका लागि चन्दा नउठाइने स्पष्ट पारेका छन् ।
बस्नेतका अनुसार ओलीका लागि बन्ने नयाँ निवास गुण्डुबासीको स्वेच्छिक योगदान र भावना बाट तयार हुनेछ । “ओली निवास निर्माणमा चन्दा उठाइँदैन,” उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, “गुण्डुबासीहरूको साझा भावना र सम्मानका प्रतीकका रूपमा गुण्डुबासीकै हातबाट, गुण्डुबासीकै मनबाट पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूको निमित्त बन्ने ओली निवास हाम्रो आफ्नै गाउँको पहल हो ।”
भक्तपुरकै गुण्डु नेता बस्नेतको निर्वाचन क्षेत्र पनि हो । यही ठाउँमा एमाले नेताहरूले बन्ने निवासलाई ‘ओली कुटी’ नाम दिएका छन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बालकोटस्थित ओलीको निजी निवासमा आगलागी भएपछि उनी हाल गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुरक्षाको कारण देखाउँदै नेपाली सेनाले उनलाई मकवानपुरको सुपारीटार ब्यारेकमा लगेको थियो । करिब १० दिनपछि उनी त्यहाँबाट सोझै गुण्डु पुगेका थिए ।
त्यतिबेलादेखि नै बस्नेतकै पहलमा ओलीलाई गुण्डुमा भाडाको घरको व्यवस्था गरिएको थियो । अहिले सोही क्षेत्रमा स्थायी निवास निर्माणको तयारी भइरहेको बस्नेतले जानकारी दिएका छन् ।
प्रतिक्रिया