‘जीवन बिमा विलासिता होइन, आवश्यकता हो’

बुधबार, ०९ पुस २०८२

इटहरीमा अवस्थित जनकल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष, सुनसरी जिल्ला बहुउद्देश्यीय सङ्घका पूर्व सञ्चालक, विभिन्न सामाजिक संस्थामा आबद्ध सफल नेतृत्वकर्ता तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि. कोशी प्रदेश “बी” का प्रमुख जगत नाथ फुयल आज पूर्वी नेपालको बिमा जगतमा एक टाइकुन व्यक्तित्वका रूपमा चम्किरहेका छन्। सहकारीकर्मी र इन्स्योरेन्स अभिकर्ताबाट सुरु भएको उनको यात्राले बिमा क्षेत्रमा खडा गरेका उपलब्धिहरूका कारण उनलाई एक प्रेरणादायी आइकन बनाएको छ।

२०७० सालदेखि बिमा इन्डस्ट्रीमा आबद्ध फुयल २०७५ सालमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा ब्रान्च म्यानेजरको रूपमा प्रवेश गरेका हुन्। आफ्नो क्षमता र मेहनतका बलमा उनी एरिया म्यानेजर हुँदै हाल प्रदेश प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्। बिमा क्षेत्रमा पाइला टेकेको पहिलो दिनदेखि नै यस क्षेत्रका सुख–दुःख, चुनौती र असीमित सम्भावनालाई नजिकबाट नियाल्दै आएका फुयल समयसँगै आफूलाई निरन्तर अपडेट गर्दै अघि बढे। यस क्रममा उनले नेतृत्वदायी भूमिकामा आफूलाई पूर्ण रूपमा प्रमाणित गर्दै आफ्नो करियरलाई नयाँ उचाइमा पुर्‍याएका छन्।

पछिल्ला चार वर्षदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुखका रूपमा सक्रिय फुयलको नेतृत्वकाल कम्पनीका लागि उल्लेखनीय सफलताले भरिपूर्ण रहेको छ। उनको कार्यकुशलता, उत्कृष्ट टिम व्यवस्थापन र परिणाममुखी दृष्टिकोणका कारण उनी पटक–पटक अवार्ड विजेता बन्न सफल भएका छन्। यसका साथै उनले विभिन्न अवसरमा ‘हिरो अफ द मन्थ’, ‘आउटस्ट्यान्डिङ परफर्मर अफ द इयर’ जस्ता प्रतिष्ठित उपाधिहरू हासिल गरेका छन्, जसले उनको योगदानलाई थप उजागर गरेको छ।

अनुशासन, प्रतिबद्धता र निरन्तर मेहनतलाई आफ्नो सफलताको मूल मन्त्र बनाएका फुयल आज पूर्वी नेपालको बिमा क्षेत्रमा एक भरोसायोग्य र प्रेरणादायी नाम बनेका छन्। उनको सफलता–यात्रा हरेक महत्त्वाकाङ्क्षी व्यक्तिका लागि प्रेरणाको स्रोत हो, जसले दृढ सङ्कल्प र निरन्तर प्रयासले सपनालाई कसरी वास्तविकतामा बदल्न सकिन्छ भन्ने सन्देश दिन्छ।

 

यसै विषयमा प्रदेश खबरले गरेको कुराकानीको सार–संक्षेप :-

पछिल्लो झन्डै डेढ दशक तपाईँ बिमा क्षेत्रमा सक्रिय रहनु भएको छ। सुरुवाती दिनहरूमा तपाईँ बिमा क्षेत्रमा प्रवेश गर्नुभयो। त्यो यात्रामा तपाईँले देख्नुभएको मुख्य चुनौतीहरू र अवसरहरू के थिए? आजको बिमा बजारसँग तुलना गर्दा कस्तो भिन्नता छ?

डेढ दशकअघि बिमा क्षेत्रमा प्रवेश गर्दा सबैभन्दा ठुलो चुनौती नै जनविश्वास र जनचेतनाको अभाव थियो। बिमालाई खर्चको रूपमा हेर्ने प्रवृत्ति हाबी थियो, दीर्घकालीन सुरक्षाको रूपमा बुझाउने काम निकै कठिन थियो। तर त्यो समय अवसरको दृष्टिले उर्वर थियो—बजार खुला थियो, प्रतिस्पर्धा सीमित र सिक्ने–बढ्ने सम्भावना प्रशस्त। आजको बिमा बजार भने धेरै परिपक्व भएको छ। ग्राहक सचेत छन्, नियमन कडा छ र प्रतिस्पर्धा तीव्र छ। चुनौती बढेको छ तर विश्वास, प्रविधि र पेसागत दक्षताले आजको बजारलाई धेरै दिगो बनाएको छ।

कोभिड महामारीपछि जीवन बिमा कम्पनीहरूले अनुभव गरेका फिर्ता निवेदनहरू उल्लेखनीय रूपमा बढेका छन्। तपाईँको अनुसार यो प्रवृत्ति मानिसको आयमा कमी, बिमा प्रति वितृष्णा, या अन्य कारणले भएको हो? यसले कम्पनी र अभिकर्ताहरूलाई कस्तो चुनौती दिइरहेको छ?

कोभिडपछिको पोलिसी फिर्ता प्रवृत्ति मुख्यतः आयमा आएको अस्थिरता र तत्कालीन नगद आवश्यकतासँग जोडिएको देखिन्छ। यसलाई बिमा प्रतिको वितृष्णा भन्दा पनि बाध्यात्मक अवस्था भन्नु उपयुक्त हुन्छ। यसले कम्पनीको नगद प्रवाह र अभिकर्ताको प्रतिधारण क्षमतामा दबाब सिर्जना गरेको छ। अभिकर्ताहरूले अब बिक्रीभन्दा पनि सम्बन्ध व्यवस्थापन र परामर्शमा बढी ध्यान दिनुपर्ने अवस्था आएको छ।

नेपालमा जीवन बिमालाई लिएर जनचेतना कस्तो छ? ग्राहकहरूलाई बिमा किन आवश्यक छ र यसको दीर्घकालीन लाभबारे सचेत बनाउन कम्पनीले के उपायहरू अपनाइरहेको छ?

नेपालमा बिमा प्रतिको चेतना क्रमशः बढ्दै गएको छ, तर अझै पनि वित्तीय समझदारी गहिरो बनाउन आवश्यक छ। जीवन बिमा जोखिम व्यवस्थापनसँगै बचत र भविष्यको सुरक्षा हो भन्ने सन्देश फैलाउन कम्पनीले वित्तीय साक्षरता कार्यक्रम, अभिकर्ता अभिमुखीकरण, डिजिटल सामग्री र सामुदायिक अन्तरक्रियालाई प्राथमिकता दिएको छ।

हाल बिमा प्राधिकरणले अभिकर्ताहरूका लागि नयाँ नियमहरू ल्याएको छ। तपाईँको अनुभवमा यी नियमहरूले कम्पनी र अभिकर्ताहरूको कामकाजमा के फरक ल्याएका छन्? नयाँ मापदण्ड पालन गर्दा चुनौती र अवसरहरू के छन्?

नयाँ मापदण्डले अभिकर्ता पेसालाई अझ व्यवस्थित, उत्तरदायी र पेसागत बनाएको छ। सुरुवाती चरणमा प्रक्रिया र कागजी झन्झट चुनौतीका रूपमा देखिए पनि दीर्घकालमा यसले गुणस्तरीय अभिकर्ता उत्पादन र ग्राहक विश्वास वृद्धिमा सकारात्मक भूमिका खेल्नेछ।

नेपालमा जीवन बिमा क्षेत्र अरबौँको बजार हो। यति ठुलो बजारमा प्रतिस्पर्धा कसरी व्यवस्थापन गर्न सकिन्छ? प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले कोसी प्रदेशमा आफ्नो अग्रणी स्थिति कायम राख्न के रणनीति अपनाएको छ?

बजारको आकार ठुलो भएकाले प्रतिस्पर्धा अपरिहार्य छ। प्रतिस्पर्धा मूल्यमा होइन, सेवाको गुणस्तर, दाबी भुक्तानीको विश्वसनीयता र अभिकर्ता सशक्तीकरणमा हुनुपर्छ। कोशी प्रदेशमा प्रभु महालक्ष्मी लाइफले स्थानीय आवश्यकता अनुसारका योजना, छिटो सेवा र सशक्त अभिकर्ता नेटवर्कमार्फत अग्रणी स्थान कायम राखेको छ।

jagat fuyal

कोभिड पछि बढेको पोलिसी फिर्ताको क्रममा मुख्य कारणहरू के देखिन्छन्? ग्राहकले फिर्ता माग्दा कम्पनीले के उपायहरू अपनाउँछ? यसले कम्पनीको वित्तीय स्वास्थ्यमा कस्तो असर पुर्‍याउँछ?

मुख्य कारणहरूमा आम्दानी घट्नु, वैकल्पिक लगानीको खोजी र तत्काल नगद आवश्यकताहरू देखिन्छन्। फिर्ता निवेदनमा कम्पनीले परामर्श, प्रिमियम पुनर्संरचना र आंशिक समाधानका विकल्पहरू सुझाउने गर्छ। अत्यधिक फिर्ताले वित्तीय व्यवस्थापनमा दबाब पारे पनि सन्तुलित जोखिम व्यवस्थापनले कम्पनीलाई स्थिर राखेको छ।

जीवन बिमा बिक्री र व्यवस्थापनमा अभिकर्ताहरूको भूमिका महत्त्वपूर्ण छ। कोसी प्रदेशमा अभिकर्ताहरूले के चुनौतीहरू सामना गरिरहेका छन् र उनीहरूको क्षमता वृद्धि गर्न कम्पनीले कस्तो तालिम वा सहयोग प्रदान गरिरहेको छ?

प्रदेशमा अभिकर्ताहरूले जनचेतना अभाव, प्रतिस्पर्धा र दीर्घकालीन ग्राहक प्रतिधारणका चुनौती सामना गरिरहेका छन्। यसलाई सम्बोधन गर्न कम्पनीले नियमित तालिम, नेतृत्व विकास कार्यक्रम, डिजिटल उपकरण र प्रोत्साहन प्रणालीमार्फत अभिकर्ताहरूलाई सक्षम बनाइरहेको छ।

आजको डिजिटल युगमा बिमा व्यवसायलाई प्रविधि कसरी सहयोग गरिरहेको छ? कोसी प्रदेशमा डिजिटल प्लेटफर्म, मोबाइल एप वा अनलाइन पोलिसी व्यवस्थापनले ग्राहक अनुभवमा के सुधार ल्याएको छ?

डिजिटल प्रविधिले बिमा व्यवसायलाई छिटो, पारदर्शी र ग्राहकमैत्री बनाएको छ। कोसी प्रदेशमा मोबाइल एप, अनलाइन प्रिमियम भुक्तानी र डिजिटल दाबी प्रक्रियाले ग्राहक अनुभवलाई सहज बनाउँदै विश्वास अभिवृद्धि गरेको छ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको कोसी प्रदेशको आगामी ५ वर्षका लागि रणनीति के छ? तपाईँले बिमा ग्राहक बढाउन, पोलिसी प्रतिधारण सुधार्न र अभिकर्ता सशक्त बनाउन के पहलहरू गर्ने योजना बनाउनु भएको छ?

आगामी पाँच वर्षमा कोसी प्रदेशमा डिजिटल विस्तार, युवा लक्षित बिमा योजना, अभिकर्ता नेतृत्व विकास र ग्राहक केन्द्रित सेवा हाम्रो मुख्य रणनीति हो। दीर्घकालीन सम्बन्ध निर्माणमार्फत ग्राहक सङ्ख्या र प्रतिधारण दुवै सुधार्ने लक्ष्य लिइएको छ।

अन्तमा, तपाईँले आम नेपाली नागरिकलाई जीवन बिमाका महत्त्व र दीर्घकालीन आर्थिक सुरक्षाबारे के सन्देश दिन चाहनुहुन्छ? विशेषगरी कोभिडपछि वित्तीय सुरक्षा र योजना बनाउने महत्त्वबारे तपाईँको दृष्टिकोण के छ?

जीवन बिमा विलासिता होइन, आवश्यकता हो। कोभिडले जीवनको अनिश्चितता स्पष्ट देखाइदिएको छ। आज गरिएको सानो योजना भोलिको ठुलो सुरक्षा हो। हरेक नागरिकले आफ्नो र परिवारको भविष्य सुरक्षित गर्न समयमै जीवन बिमा अपनाउनुपर्छ भन्ने मेरो आग्रह छ।

 

प्रतिक्रिया

न्युज डेस्क
लेखकको बारेमा
न्युज डेस्क
संस्थापक

सम्बन्धित समाचार