धनकुटा । महालक्ष्मी नगरपालिका २ मारेककटहरेस्थित मुलखर्खमा रहेको सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि १२ लाख रुपैयाँभन्दा बढीको अक्षयकोष स्थापना गरिएको छ। पूर्व विद्यार्थी, स्थानीय अभिभावक तथा समाजसेवीहरूको पहलमा १२ लाख ६ हजार ६ सय ४३ रुपैयाँको कोष निर्माण गरिएको हो।
विद्यालयको अचल कोषमा रकम बचत गरी आउने ब्याजबाट विपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने, उत्कृष्ट शिक्षकलाई सम्मान गरिने तथा खेलकुद र अतिरिक्त क्रियाकलाप सञ्चालनमा खर्च गरिने विद्यालयले जनाएको छ।
कोष स्थापनाका लागि सीताराम कटवाल र भोलानाथ कटवालले ‘लीलाबहादुर–कृणमाया अक्षयकोष’मा २ लाख २५ हजार ५ सय ५५ रुपैयाँ, गणेश कटवालले ‘तारासिंह–मनमाया कटवाल स्मृति अक्षयकोष’मा २ लाख २२ हजार २ सय २२ रुपैयाँ तथा धनबहादुर बुढाथोकीले ‘तारागंगा बुढाथोकी अक्षयकोष’मा २ लाख रुपैयाँ सहयोग गर्नुभएको छ।
यसैगरी, ‘भीमलाल–प्रकृति रखाल शैक्षिक सुधार अक्षयकोष’मा १ लाख १ सय ११ रुपैयाँ सहयोग प्राप्त भएको छ। साथै विष्णुमाया मगर, जितमाया कार्की, बेगमाया कार्की, डम्बरबहादुर कटवाल, रोहितमान थापा, मदन राया, भूमिका राया, योगेन्द्र कटवाल, सोभितमान कटवाल, मोहन श्रेष्ठ, शर्मिला श्रेष्ठ र नरबहादुर बानियाँलगायतले समेत आर्थिक सहयोग गर्दै कोष रकम १२ लाखभन्दा माथि पुर्याएका हुन्।
महालक्ष्मी नगरपालिका–२ का वडाध्यक्ष पदम रखाल मगरका अनुसार स्थानीयको सामूहिक प्रयासबाट स्थापना गरिएको अक्षयकोषले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। उनले विद्यालयको विकासमा स्थानीयको स्वामित्व र सहभागिताले दीगो सुधार ल्याउने जनाए ।
स्थानीयले विद्यालयलाई दीर्घकालीन रूपमा सबल बनाउन अक्षयकोष स्थापना गरिएको वडाध्यक्ष पदम रखाल मगरको भनाइ छ ।
प्रतिक्रिया