इटहरी । झापाको कन्काई नगरपालिका–३ मा भन्सार छलि र क्वारेन्टाइन प्रक्रियाबिनै अबैध रूपमा ल्याइएको ठूलो परिमाणको माछा प्रहरीले बरामद गरी नष्ट गरेको छ।
आज (आईतबार) अन्दाजी ११:२० बजे सव–डिभिजन वन कार्यालय नजिकैको बाटो छेउमा छाडिएको अवस्थामा ठूलो परिमाणको माछा भेटिएको हो। इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा माछा फेला पारेको जिल्ला प्रहरीले जानकारी दिएको छ। उक्त टोलीको नेतृत्व प्रहरी नायब निरीक्षक सुबास ढुंगानाले गरेका थिए।
प्रहरीका अनुसार ४१७ किलो मुङरी, सिलन, रहु र बम्प्लेट जातका माछा बेवारिसे अवस्थामा भेटिएको थियो। भन्सार तथा क्वारेन्टाइन प्रक्रिया पूरा नगरी ल्याइएका कारण ती माछाको कूल मूल्य करिब रु एक लाख पचास हजार पर्ने बताइएको छ।
सम्बन्धित कानूनअनुसार आवश्यक प्रक्रिया पूरा गरेर जिल्ला प्रहरी कार्यालय झापाले सबै माछा नष्ट गरिएको जनाएको छ।
प्रतिक्रिया