एजेन्सी : स्पेनमा नेपालीलगायतका श्रमिकलाई अमानवीय र असम्मानजनक रुपमा श्रममा लगाइएको घट्ना अदालतमा पुगेको छ । उनीहरुलाई कृषि क्षेत्रमा आधुनिक दास सरह काम लगाइएको भन्दै ११ जनालाई पक्राउ गरेपछि घट्नाको थप रहस्य खुल्दै गएको छ ।
प्रहरीद्वारा डिसेम्बर ४ तारिखका दिन जारी सार्वजनिक विज्ञप्ति अनुसार फसेका आप्रवासीहरु प्राय नेपालबाट आएका करिब ३ सय जना रहेको जनाएको हो ।
जसमध्ये १ सय ८० जना नेपालीको मुद्दा अदालती प्रक्रियामा गएको एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए । ‘घट्नापछि हामी तीन पटक स्थलगत अध्ययन गरेर आयौं । जसमध्ये १ सय ८० जना नेपालीको मुद्दा अदालतमा पुगेको छ । हाम्रो उपाध्यक्ष सुरेन्द्र भुजेलले कानुनी सहयोग र भाषा रुपान्तरणमा सहयोग गरिरहनु भएको छ । अन्य कुरा अदालतले नै निर्णय गर्ने हो ।’ श्रेष्ठका अनुसार नेपालीहरुका लागि राहत वितरणपनि गरिएको र कानुनी सेवा दिइरहेको छ ।
स्थानीय यूरोन्यूज डटकमका अनुसार शेनचेन क्षेत्रमा पर्यटक भिसाबाट प्रवेश गराएर ती आप्रवासीहरुलाई विभिन्न क्षेत्रका गाउँ–बस्तीमा लगेर कृषि फार्ममा काम लगाइएको थियो । पछि गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर ११ गिरोहलाई पक्राउ गरेको थियो ।
उनीहरुको अदालती प्रक्रियाको काम काम यही १०, ११ र १२ तारिख हँुदैछ । चार जना नेपालीको वयान लिइसकेको छ भने अन्यको फोनमार्फत पनि बयान लिने तयारी छ ।
स्पेनी प्रहरीले बिहीबार ३ सय कामदारहरू आपराधिक सञ्जाल मार्फत प्रवेश गरेको जनाएको छ । कामदारहरूलाई मध्य र पूर्वी स्पेनका फार्महरूमा अवैध रूपमा राखिएको प्रहरीको भनाइ छ । प्रहरीले ११ जनालाई पक्राउ गरेको छ र अन्य दुई जनाको अनुसन्धान गरिरहेको छ । पीडितहरू कुल ३ सय २२ जना छन् । तीमध्ये २ सय ९४ जनासँग स्पेनमा बस्न र काम गर्न उचित कागजात नभएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तस्करी गरिएका धेरैजसो पर्यटक भिसामा प्रवेश गरेका थिए, जसमा युरोपेली संघको शेन्जेन क्षेत्र भित्रका अन्य देशहरू पनि समावेश छन् । शेन्जेन क्षेत्र २७ ईयू सदस्य देशहरू मध्ये २५, साथै लिक्टेनस्टाइन, आइसल्याण्ड, नर्वे र स्विट्जरल्याण्ड मिलेर बनेको हो । स्पेन पुगेपछि, कामदारहरूलाई भर्ती गरेर देशका विभिन्न भागहरूमा श्रम अधिकार विना काम लगाइएको प्रहरीले जनाएको छ ।
स्पेनी प्रहरीले जारी गरेको भिडियोमा, दर्जनौं मानिसहरू कम बत्ती भएको कोठामा लाइनमा राखिएका गद्दामा छेउछाउमा बसेका थिए । आपराधिक सञ्जालले दक्षिण पूर्वी स्पेनको अल्बासेटमा पीडितहरूको आवासको व्यवस्था गरेको थियो । उनीहरूलाई ‘पूर्ण रूपमा अपमानजनक र अमानवीय जीवनयापन गर्ने अवस्था’ मा कमजोर भेन्टिलेसन र बाथरूममा सीमित पहुँच भएका कोठाहरूमा कोचिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया