तीन वर्षे लक्ष्यको आधा समय बित्दा एसियन हाइवे ३५ प्रतिशतमा सीमित

मंगलबार, १३ माघ २०८२

मोरङ : सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अघि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत काँकडभिट्टाबाट लौकहीसम्मको सडक खण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सम्पन्न भएको छ।

आइतबारदेखि झापाको पाडाजुगीदेखि पश्चिमतर्फको सडक खण्डमा पहिलो चरणको एकतर्फी कालोपत्र सुरु भएको आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जानकारी दिए। निर्माण सम्झौता भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको उनले बताए।

प्रजापतिका अनुसार एसियन राजमार्ग नम्बर–२ अन्तर्गत काँकडभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने योजना रहे पनि हाल ९५ दशमलव ७६ किलोमिटर सडक मात्र ठेक्का लागेर निर्माण कार्य भइरहेको छ। आयोजनालाई पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको उनले बताए।

हालसम्म दुवै खण्डमा गरी करिब २० किलोमिटर एकतर्फी सडकमा पहिलो चरणको कालोपत्र सम्पन्न भएको छ। आयोजना पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनीलबाबु पन्तका अनुसार पूर्वी खण्डमा पनि करिब ३५ प्रतिशत काम सम्पन्न भइसकेको छ।

निर्माण सामग्री सहज रूपमा उपलब्ध भएमा कामले थप तीव्रता पाउने पन्तले बताए। उनका अनुसार पूर्वी खण्डमा विद्युत्‌का खम्बा सार्ने काम करिब ८० प्रतिशत सम्पन्न भएको छ भने पश्चिम खण्डमा करिब ४० प्रतिशत मात्र काम भएको छ। बजार क्षेत्रका खम्बा सार्न अझै बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ।

आयोजना कार्यालयका अनुसार पूर्वी खण्डमा ठूला पुल निर्माणमा २३ प्रतिशत र पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको छ।

एसियन हाइवे थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मा, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ। तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित एसियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि सडक निर्माण कार्य सुरु गरिएको हो।

यो आयोजना निर्माणमा करिब ३० करोड अमेरिकी डलर लागत अनुमान गरिएको छ। सडकलाई तीन वर्ग—बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र—मा विभाजन गरेर निर्माण गरिनेछ। बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुने आयोजनाले जनाएको छ।

 

 

 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार