काठमाडौं : विघटित प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेस राष्ट्रिय सभामा पहिलो दल बनेको छ । आइतबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसका ९ जना उम्मेदवार निर्वाचित भएपछि कांग्रेसले माथिल्लो सदनमा अग्रता कायम गरेको हो ।
एमाले र जनता समाजवादी पार्टीसँग तालमेल गरेर कांग्रेसले १८ सिटमध्ये ९ सिटमा उम्मेदवारी दिएको थियो । ती सबै उम्मेदवार निर्वाचित भएसँगै कांग्रेसको राष्ट्रिय सभामा सिट संख्या २५ पुगेको छ । यसअघि कांग्रेससँग १६ सिट रहेको थियो ।
यस निर्वाचनपछि राष्ट्रिय सभामा कांग्रेस पहिलो दल बनेको छ भने यसअघिसम्म पहिलो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दोस्रो स्थानमा झरेको छ । निर्वाचनमा एक पनि उम्मेदवार जिताउन नसकेको नेकपाको अब राष्ट्रिय सभामा १८ सिट मात्र बाँकी रहेको छ । आजकै निर्वाचनसँगै नेकपाका ९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएर बिदा भएका छन् ।
त्यस्तै, नेकपा एमाले ११ सिटसहित तेस्रो स्थानमा रहेको छ भने राष्ट्रिय जनमोर्चाको राष्ट्रिय सभामा १ जना सांसद मात्र रहेका छन् ।
संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा कुल ५९ जना सदस्य रहने व्यवस्था छ । जसमध्ये ५६ जना निर्वाचित हुने र ३ जना राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक व्यवस्था रहेको छ ।
प्रतिक्रिया