विराटनगर : जल तथा मौसम विज्ञान विभाग र विश्व मौसम संगठन (डब्लुएमओ) को सहकार्यमा सञ्चालित सिआरइडब्लुएस परियोजनाअन्तर्गत ‘कमन अलर्टिङ प्रोटोकल (सीएपी)’ सम्बन्धी स्ट्यान्डर्ड अपरेटिङ प्रोसीजर (एसओपी) लाई अन्तिम रूप दिन कोशी प्रदेशमा कार्यशाला सम्पन्न भएको छ ।
मंगलबार विराटनगरमा आयोजित कार्यशालामा सरकारी निकाय, सुरक्षा संस्था, मौसम विज्ञ, विश्वविद्यालयका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यशालामा एसओपीलाई व्यवहारिक र प्रभावकारी बनाउने उद्देश्यले वर्षा सीमा निर्धारण र एसओपीको मस्यौदा प्रतिवेदनका आधारमा खुला छलफल गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले गाउँ–गाउँमा मौसम पूर्वानुमानको सूचना आवश्यक रहेको उल्लेख गर्दै, मौसम विज्ञानले पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
कोशी प्रदेशको विपद् व्यवस्थापन हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव अर्जुन निरौलाले विपद् प्रभावित क्षेत्रहरूको नक्सांकन कार्य प्रदेश सरकारले गरेको उल्लेख गर्दै, त्यससँग केन्द्रित भएर पूर्वतयारी र सावधानीका विषय अपनाउनुपर्ने बताए । उनले विपद् व्यवस्थापनमा सबै निकायहरूले सरकारसँग समन्वय गरी काम गरिरहेको पनि जानकारी दिए ।
कार्यशालामा सहभागीहरूले सुझावहरू समावेश गरी राष्ट्रिय स्तरमा समयमै चेतावनी पु¥याउन सकिने प्रणाली तयार पार्ने तयारी भइरहेको जानकारी पाए । विभागले गरेको पूर्वचेतानी र मौसमी सूचना पछिल्लो समय सत्य सावित हुँदै आएकोमा सहभागीहरूले प्रशंसा पनि गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागले आगामी पाँच वर्षभित्र सात दिनसम्मको मौसमी पूर्वसूचना दिने लक्ष्य राखेको छ । सन्देश प्रवाह गर्दा सबैले बुझ्न सक्ने भाषामा तयार गरिने कुरामा सरोकारवालाहरूले जोड दिएका थिए ।
सहभागीहरूले आकस्मिक बाढी, डुवान, हावाहुरी, मेघगर्जन र भीषण वर्षाजस्ता विपद् जोखिममा समयमै सूचना पु¥याउनुपर्नेमा पनि जोड दिए । साथै सञ्चार माध्यम र स्थानीय तहबीच समन्वय बढाउनुपर्ने सुझाव पनि कार्यशालामा उठाइएको थियो ।
कार्यशालामा त्रिभुवन विश्वविद्यालय÷इन्जिनियरिङ अध्ययन संस्थानका प्रा.डा. विष्णु पाण्डे र इन्साफ अर्यालले नेपालमा दैनिक र घण्टाको वर्षा सीमा निर्धारण गर्ने विषय प्रस्तुत गरे । जल तथा मौसम विज्ञान विभागका बिनोद पराजुली र रोजान लामिछानेले सामान्य सूचना प्रणालीको संरचना, कार्यप्रणाली र एसओपीको व्यावहारिक कार्यान्वयनबारे छलफल प्रस्तुत गरे ।
जल तथा मौसम विज्ञान कार्यालयका अधिकारीहरूले कार्यशालाबाट प्राप्त सुझावका आधारमा एसओपीलाई अन्तिम रूप दिइने जानकारी दिएका छन् । यसै परियोजनाअन्तर्गत कर्णाली प्रदेशको सुर्खेत र बागमती प्रदेशको काठमाडौंमा पनि एसओपी अन्तिम रूप दिने कार्यशाला आयोजना हुने विभागले जनाएको छ ।
प्रतिक्रिया