सुशीला शाही कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर हुन् । सुदूरपश्चिम प्रदेशभरि नै मेयर जित्ने उनी दोस्रो महिला हुन् । नेपाली कांग्रेसबाट टिकट पाएर मेयरमा निर्वाचित भएपछि शाहीले नगरपालिकालाई नमूनाका रुपमा विकास गरिरहेकी छिन् । हालै जेनजी आन्दोलनका क्रममा आफैं मैदानमा उभिएर भौतिक संरचना जोगाएर चर्चा पाएकी मेयर शाहीसँग नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।
मेयरको टिकट माग्दा धेरैले तपाईंलाई उपप्रमुख लड्न सल्लाह दिएका थिए । तपाईंले प्रमुखमा लड्ने निर्णय कसरी गर्नुभयो ?
मैंले मेयर लड्नु भन्दा पहिले नै तयारी गरेको थिए । मलाई लाग्थ्यो, मेयर हुनैपर्छ, कार्यकारी पदमा आउँदा काम गर्न सजिलो हुन्छ । धेरैजसो के हुन्छ भने, महिलालाई देख्ने बित्तिकै उपमेयर वा सदस्यको भूमिकामा मात्र सोचिन्छ । त्यो सोच पार्टीको, व्यक्तिको, अनि कहिलेकाहीँ महिलाहरू आफैंले पनि राख्छन् ।
मैंले राजनीतिमा आउँदा समाज परिवर्तनका लागि काम गर्न सकियोस् भन्ने उद्देश्यका साथ सोँच बनाएँ । काम गर्न मेजर पोस्टमा हुनु जरुरी छ, यो सोचमा मेरो परिवारले पनि साथ दियो ।
टिकट माग्दा धेरैले मलाई उपप्रमुख लड्नुस् भन्थे । तर मैंले भनेँ ‘म उपप्रमुख लड्दिनँ, म प्रमुख नै लड्ने, बरु त्यो भएन भने प्रदेश वा संघमा चुनावको तयारी गर्छु । मंैले मेरो पार्टी नेपाली कांग्रेसलाई पनि स्पष्ट भनें । समाज र घर परिवारमा पनि यो कुरा सेयर गरें । पछि पार्टीबाट टिकट पाएँ । जनताको सामु गएर भनेँ –एकचोटि मौका दिनुहोस् म काम गर्छु र सक्छु । कार्यकारी पदमा बस्दा काम चलाउन सक्छु । जनताले विश्वास गर्नुभयो र नतिजा स्वरुप मैंले चुनाव जितेँ ।’ नेपाली कांग्रेसले कहिले पनि नजितेको ठाउँमा म पहिलो निर्वाचित भएँ । म नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार थिएँ र निर्वाचनमा सफल भएँ ।
लम्कीचुहा नगरपालिकाको नेतृत्व सम्हाल्दा तपाईंले मनमा बोकेको मुख्य सपना के थियो ? अहिले तपाईं त्यो सपनाको कति नजिक पुगेको महसुस गर्नुहुन्छ ?
हामीले लम्कीचुहा नगरपालिका सुन्दर बनाउनुपर्छ भनेर सोच्यौँ र त्यसै सोचका साथ लाग्यौँ र हामी सफल पनि हुँदै गएका छौं । नगरपालिकाको विकासको कुरागर्ने हो भने सुदूरपश्चिमका ८८ वटा पालिकाहरुमध्ये धनगढी उप महानगरपालिका पछि सबैभन्दा बढी बजेट लिन हाम्रो पालिका सफल भयो ।
हाल राज्यसँग पैसा नभएको, लगानी अभाव भएको बेला पनि हामीले केन्द्र सरकार, प्रदेश सरकार र संघ सरकारबाट पनि बजेट ल्याउन सफल भयौँ । धेरै नभए पनि दातृ निकायहरूसँग समन्वय गरी विकासका लागि पर्याप्त बजेट व्यवस्था गरेका छौँ ।
उदाहरणका लागि, अहिले हाम्रो पालिकाको ‘महिलामैत्री पार्क’ परियोजनामा ह्याबिटाट युएनले लगानी गरेको छ । यसमा दातृ निकायको महत्वपूर्ण भूमिका रहेको छ । त्यस्तै विभिन्न युएसएड, एडीबी र अन्य दातृ निकाय, एनजिओ, आईएनजिओहरूले सहयोग गरिरहेका छन् ।
सूदूरपश्चिमका ८८ वटा पालिकामध्ये धनगढी महानगरपालिका बाहेक हाम्रो नगरपालिका दोस्रो स्थानमा बजेट पाएको छ । विकासका काम धेरै भएका छन् । तर केही अधिकार हामीसँग छैनन् । जस्तैः राजमार्ग हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन । पालिका भित्रका भित्रि सडक, विद्यालय, कृषि, स्वास्थ्य, शिक्षा सबै क्षेत्रमा हामीले पहिलाको भन्दा बढी बजेट व्यवस्थापन गरी कार्यान्वयनको बाटोमा अगाडि बढिसकेका छौँ ।
नगरभित्र रहेका सामान्य वा न्यून वर्गका मानिसहरुको जीवनस्तर उकास्न के कस्ता कामहरु गर्नुभएको छ ?
कृषिलाई बढी ध्यानमा राखेर हामीले पकेट क्षेत्रहरू बनाएका छौँ । कृषिमा उत्पादन बढी भएमा कृषकलाई सहयोग गर्न, प्रत्यक्ष रूपमा नगरपालिकासँग जोड्न, केही राहत दिने काम गर्यौं । त्यहाँ कृषियोग्य जमिन पनि भएकाले बढीभन्दा बढी जोड्ने प्रयास गरेका छौँ ।
अति विपन्नको कुरा गर्दा, त्यहाँ सोनाहा जातिको बस्ती पनि छ । तपाईंहरूलाई पनि थाहा होला । नेपालमा लम्कीचुहा नगरपालिकामा मात्रै सोनाहा जातिका २१ वटा घर छन् । उनीहरु कर्णाली नदीमा बालुवा चालेर सुन निकाल्ने र माछा मार्ने काम गरेर जिविका चलाइरहेका छन् । यी दुई बाहेक जिविका चलाउने उनीहरूको अरू विकल्प पनि छैन् ।
हामीले उनीहरूलाई पनि जोड्ने उपाय गरेका छौं । ति समूदायका लागि एउटा पोखरी बनाइदियौँ । जंगलहरूमा खाली जग्गाको एग्रिमेन्ट गरेर उनीहरूले बोटविरुवा रोप्न सकुन र त्यसबाट आम्दानी गर्न सकुन भनेर कागती, अम्बा जस्ता बिरुवा रोप्न प्रोत्साहीत ग¥यौं । यसले उनीहरूको जीवनमा प्रत्यक्ष प्रभाव पारेको छ । त्यहाँ बादी बस्ती पनि छ । त्यसका लागिपनि हामीले काम गरेका छौं । नगरपालिकामा सबैलाई समेटेर विकासको प्रयास गरिरहेका छौँ ।
वरघर र चौकीदारलाई मोबाइल र साइकल बाँड्नुभयो किन ? त्यसले नगरलाई के कति सहयोग गर्छ ?
कैलालीमा चौधरी वा थारु जातिको बाहुल्यता छ । कैलालीको सन्दर्भमा वा हाम्रो नगरपालिकामा उहाँहरूको एउटा परम्परा छ । चौधरीहरूको एउटा टोलमा एउटा चौकीदार वा चिरागी हुन्छ । चिरागी र एउटा भलमन्सा भन्ने उहाँहरूको गुरु हुनुहुन्छ । एउटा टोलमा २००–३०० घरलाई नेतृत्व गरेर चलाउनुहुन्छ । उहाँहरूले जे भन्यो, उहाँहरूले मान्नुहुन्छ । अनि त्यसलाई सुरक्षा दिनका लागि, राति लुटपाट नहोस् अथवा उहाँहरूको परम्परा जोगाउन लागि हामीले प्रयास गरेका हौं । स्थानीय सरकारसँग नगर प्रहरी छ, सरकारसँग पुलिसहरू पनि छन्। उनीहरुले आफ्नो तरिकाले हेर्छन् । तर उहाँहरूको परम्परा भनेको टोलटोलमा एउटा चौकीदार र एउटा भलमान्सा बनाउनुहुन्छ ।
उहाँहरूले पूरै निगरानी गर्नुहुन्छ । उहाँहरुका लागि साइकलको माग बारम्बार गर्नुभएको थियो । परम्परालाई जीवित राख्न चाहन्छौँ हामीलाई मोबाइल र साइकलको व्यवस्थापन गर्दिन भन्नुभएको थियो । मोबाइलबाट उहाँहरूले सम्पूर्ण काम गर्नुहुन्छ । सबैलाई फोन गर्ने, मिटिङहरू राख्ने, समूहहरू बनाउनुहुन्छ। अनि देउताहरू कसरी मान्ने, आफ्नो संस्कृति, मरुवाहरूको संरक्षण कसरी भन्नेमा उहाँहरु चिन्तित हुनुहुन्थ्यो । त्यसकै संरक्षणका लागि हामीले ५०–५० वटा मोबाइल र साइकल हामीले दिएका हौं । तर अरूको बुझाइ फरक हुन सक्छ । मोबाइल र साइकल दिए भन्ने होला । त्यसो होइन, यसलाई अन्यथा सोच्नु पर्दैन् । परम्परा जीवित राख्नका लागि, उहाँहरूको संस्कार, संस्कृति जोगाउनका लागि अनि अति विपन्न परिवारका भएकाले निर्णय गरिएको हो ।
नगरपालिकालाई अझ सुन्दर, सफा र सुरक्षित बनाउन तपाईंले ल्याउनुभएको कुनै विशेष अभियान छ ?
हामीले सरसफाइको सन्दर्भमा कामको दायरा विस्तार गरेका छौँ । पहिले एउटा मात्रै ट्रयाक्टर थियो, अहिले दुई–तीनवटा ट्रयाक्टर थपेर बजार र गाउँमा फोहोर संकलन भइरहेको छ । फोहोर व्यवस्थापनका लागि ट्रयाक्टरमा मात्र तीन–चार जना कर्मचारी खटिएका छन् । साथै, नगरपालिकाको तर्फबाट नगर प्रहरी, समाजका विभिन्न संघ–संस्थासँग समन्वय गरेर हप्तामा एकपटक बजार क्षेत्रमा सरसफाइ कार्यक्रम पनि सञ्चालन गर्ने गरेका छौँ । यसरी पहिलाभन्दा धेरै काम अघि बढेको छ । फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले एउटा एनजीओसँगको सहकार्यमा वनको जग्गामा विभाजन प्रणालीसहितको परियोजना अघि बढाइएको थियो । करिब १ करोड २० लाख रुपैयाँ बजेटसहित ल्याइएको उक्त योजना वनतर्फबाट स्वीकृति नपाएपछि यथावत रोकिएको छ ।
खानेपानी योजनामा पुनःव्यवस्थापन गर्दै ‘कर्णालीको पानी लम्कीचुहावासीलाई’ भन्ने नारासहित ९२ करोडको टेन्डर प्रक्रिया पूरा भइसकेको छ । आगामी चैत्रसम्म खानेपानी वितरण प्रारम्भ गरिसक्ने लक्ष्य छ, यद्यपि पूर्ण रूपमा परियोजना सम्पन्न हुन अझै एकदेखि डेढ वर्ष लाग्नेछ । ‘एक घर, एक धारा’ भन्ने हाम्रो मुख्य प्रतिज्ञा पनि यही योजनासँग सम्बन्धित छ ।
भौतिक संरचना विकासमा पनि हामी अगाडि बढिरहेका छौँ । प्रदेश सरकारको पहलमा २८ करोडको सिटीहल निर्माण हुँदैछ । सहरी विकास मन्त्रालयमार्फत २५ करोड रुपैयाँको कमर्सियल भवन निर्माण भइरहेको छ, जसले नगरपालिकाको आन्तरिक आयस्रोत वृद्धि गर्ने अपेक्षा राखिएको छ । महिला मेयर रहेको पालिकामा बजेट प्राथमिकता दिने नीति अनुरूप यो सहयोग प्राप्त भएको हो ।
सामाजिक विकासका क्षेत्रमा पनि हामीले विभिन्न काम गरेका छौँ । क्रियाकर्म स्थल, मसानघाट, मठ–मन्दिर, मरुवा, चर्च, सामुदायिक भवनजस्ता पूर्वाधार निर्माण भएका छन् । शिक्षा क्षेत्रमा विशेष ध्यान दिँदै नगरका ४६ सरकारी विद्यालयमध्ये अधिकांशमा भवन निर्माणका काम सम्पन्न भएका छन् ।
शिक्षाको गुणस्तर बढाउन शिक्षकहरूको मनोबल वृद्धि गर्ने रणनीति अपनाइयो । स्थाई शिक्षक ३२–३६ हजार तलब पाउँथे तर नगरपालिका अनुदानमा काम गर्ने शिक्षकले १४ हजार मात्रै पाउँदै आएका थिए । समान पद, समान दायित्व र कक्षा संख्या समान भएपनि तलबमा ठूलो असमानता थियो र त्यसलाई सुधार गर्दै हरेकवर्ष स्केल बढाउँदै ल्याइयो । अनि अहिले शिक्षकहरूले राम्रो तलब प्राप्त गर्न थालेका छन् । जसले उनीहरूको कामप्रतिको समर्पण र उत्साह पनि बढेको छ । उनीहरू आफैंले भन्छन्–पहिला घरखर्च नै चलाउन गाह्रो पथ्र्यो, अहिले सहज भएको छ । यसले हामीलाई शिक्षा क्षेत्रमा परिवर्तन हुँदै गएको स्पष्ट सन्देश दिन्छ ।
जेनजी आन्दोलनमा नगरका कार्यालय र घर कसरी सुरक्षित बचाउनुभयो ? यसमा कसरी समन्वय गर्नुभयो ?
सायद जेनजी आन्दोलन नहुनुपर्ने थियो तर भयो । आन्दोलनका मृतकप्रति म यहाँबाटै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र शहीद परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छु । आन्दोलनमा कसको कमजोरी भयो भन्ने कुरा अहिले धेरैले विश्लेषण गरिरहनु भएको छ । तर तथ्य अझै पनि सार्वजनिक भएको छैन ।
जेनजी आन्दोलन हुँदैगर्दा भएको घुसपैठले देशलाई ठूलो क्षतिमा पु¥यायो । १०–१५ वर्ष पछाडितिर धकेलियो । आज देशभर आर्थिक मन्दी छ । राज्यसँग पैसा छैन र स्थानीय तहमा विकास बजेट सकिएको छ । ‘सिंहदरबार गाउँगाउँमा’ भन्ने नारासहित विगतमा स्थानीय सरकारको कल्पना गरियो तर आज १५–२० वर्षअघि जस्तो अवस्था महसुस भइरहेको छ । कतिपय स्थानमा वडा कार्यालयका भवनहरु भर्खर मात्र बन्दै थिए । ७५३ स्थानीय तहको संरचना पूरा हुन बाँकी छ । विकास बजेट सकियो र त्यही क्रममा हाम्रो नगरपालिकामा जेनजी आन्दोलन भयो ।
हाम्रो पालिकामा हामीले कुनैपनि निर्णय गर्दैगर्दा कहिल्यै व्यक्तिको पार्टी वा व्यक्तिगत पक्ष हेरेनौं र जोसुकैले पनि राम्रो प्रस्ताव ल्याएर आए भने हामीले सदैव स्वागत ग¥यौँ । समाज मिलाएर अघि बढेकै कारण जेनजी आन्दोलनमा जोगियौँ भन्ने महसुस हुन्छ । आन्दोलनका बेलामा लम्कीचुहा नगरपालिकामा दशौँ हजारको भीड थियो । मेरो घर र नगरपालिका जलाउनकै लागि आएको त्यो भिडमध्ये केही व्यक्तिगत रिसिभीका कारण आक्रामक थिए ।
खोला–नाला छेकेर अतिक्रमण गरेर संरचना बनाएकाहरूको संरचना हाम्रो पालिकाको निर्णयअनुसार हामीले हटाएका थियौँ । त्यसका कारण पनि केही व्यक्तिहरू रिसाएर उग्र बनेका थिए । मैंले कसैलाई व्यक्तिगत रुपमा नहेरे पनि व्यक्तिगत रिसिभी बोकेर मान्छेहरु आएका पनि थिए । बाहिरबाट पनि घुसपैठ थियो तर म डटेर अडिन तयार थिएँ । किनकि जनताले माया गरेर निर्वाचित बनाउनु भएको हो, त्यसैले डराउनुपर्ने ठानिन् ।
सुरक्षा निकायले ‘सबैभन्दा बढी क्षति लम्कीचुहामा हुने’भन्दै मलाई आर्मी ब्यारेकमा बस्न सुझाव दिइरहेका थिए । तर मैंले म घर छोड्दिनँ, नगरपालिका पनि छोड्दिनँ भनेँ । र आन्दोलनकारीहरूलाई भेटेँ, हात जोडेँ र भनेँ–तपाईंहरू शान्तिपूर्ण आन्दोलन गर्नुहोस् आवश्यक परे म पनि साथ दिन्छु ।’ त्यसपछि साँच्चिकै जेनजीहरू कन्भिन्स भएर फर्किनुभयो । तर केहिछिन पछि घुसपैठ समूह आएर ढुंगा हाने । त्यसबेला पनि म त्यहीँ अडिएँ । ढुंगा लागेपनि लागोस भनेर बसें । यदि म त्यतिबेला भागेको भए आज नगरपालिका र मेरो घरसँगै लम्की बजारसमेत पूरै जल्ने अवस्था आउँथ्यो । एउटा जलेपछि अर्को जलाउने क्रम चल्थ्यो र नगरपालिका ध्वस्त हुन्थ्यो ।
तर बुद्धिजीवी, राजनीतिक दल र स्थानीयवासी सबै एक भएर ‘नगरपालिका जल्न दिँदैनौँ, तिमी अडिग भएर बस’ भन्दै साथ दिनुभयो । सबैको त्यसै एकताको कारण आज लम्कीचुहा नगरपालिका सुरक्षित छ । मानिसहरूले ‘विकास किन भएन ?’ भन्छन्, तर कसैले पनि मैंले गलत गरेको भनेर आरोप लगाउन सकेका छैनन् । किनकि मैले गलत गरेको थिइनँ भन्ने नै त्यसले प्रमाणित गर्छ । गलत भएको भए त्यही भीडमा नै कसैले भन्ने आँट गर्ने थिए होलान ।
आफैं डोजरमा चढेर अतिक्रमित संरचना भत्काउन बालेन शैलीमा अघि बढेको भन्ने आरोप छ नि तपाईलाई ?
अतिक्रमण गरेर बनाइएका संरचना हटाउने भनेर पुराना मेयर साबहरूले निर्णय गर्नुभएको थियो । हामीले त हिजोका जनप्रतिनिधिले गरेको निर्णयलाई कार्यान्वयन मात्र गरेका हौँ । सबै विकासका पाटोहरूमा, अतिक्रमित संरचनामा, जुन निर्णय भइसकेको थियो, त्यसलाई निरन्तरता दिनुपर्छ भनेर अगाडि बढ्यौँ । तर ड्राइभरले हिम्मत गर्न सक्नु भएन । मान्छेहरूको भीड देखेर उहाँ डराउनुभयो । त्यसपछि मैले ड्राइभरकै साइडमै बसेर डोजर चलाउन लगाएको हुँ ।
ड्राइभर डराएका कारण उहाँलाई हिम्मत दिनका लागि साइडमा बसेको हुँ । २८० घरमध्ये ८–१० घरले मात्र मुद्दा हाले । अहिले पनि स्टे अर्डरका कारण काम रोकिएको छ ।
बजार क्षेत्रमा पाँच–छ बिघा जमिन सार्वजनिक रूपमा खुल्दैछ । त्यसमा हाम्रो कुनै व्यक्तिगत स्वार्थ छैन । बजारलाई सुन्दर बनाउन त सार्वजनिक जग्गा चाहिन्छ नि । सार्वजनिक ट्वाइलेट बनाउनुपर्ला, ठेलामा रोजीरोटी कमाउनेहरूलाई व्यवस्थापन गर्नुपर्ला, रिक्सा चलाउने दिदीबहिनी वा दाजुभाइलाई रिक्सा स्ट्यान्ड बनाइदिनुपर्ला, त्यसैले अतिक्रमण हटाइएको हो । खोला पुरेर संरचना बनाएर बस्ने अनि ‘विकास भएन’ भन्ने ? त्यस्तो कसरी सम्भव हुन्छ ?
जनप्रतिनिधिले छुट्टै अर्को संसारमा गएर विकास गर्नुपर्ने ठाउँ त छैन नि । समाजले पनि त साथ दिनुपर्छ, नगर सुन्दर बनाउन सहयोग गर्नुपर्छ । लम्की बजार लम्कीचुहा नगरपालिकाको मुटु हो । त्यति ठूलो सार्वजनिक जमिन बजारमै हुँदा कति काम गर्न सकिन्छ—पार्क, बिहान–बेलुका हिँड्ने कोरिडोर, बालबालिका र बुढाबुढीका लागि खुला स्थान, सार्वजनिक ट्वाइलेट, रिक्सा व्यवस्थापन, हाटबजार व्यवस्थित गर्न सकिन्छ । तर केही व्यक्तिले स्टे अर्डर ल्याएर काम रोकिदिनुभयो ।
अब अदालतभन्दा माथि त हामी छैनौँ । अदालतले जे निर्णय गर्छ, जनप्रतिनिधिले मान्नैपर्छ । कारण—हामी पनि सरकारकै हिस्सा, राज्यका व्यक्ति हौँ जबसम्म कार्यकाल छ । त्यसैले कानुन मानेरै नगरपालिकालाई राम्रो बनाउने हाम्रो प्रयास जारी छ ।
तपाइँ महिला भएका कारण नगरपालिकामा काम गर्न कत्तिको सहजता वा गार्हो भएको छ ?
महिला भनिसकेपछि धेरैले हेर्ने दृष्टिकोण नै फरक हुन्छ । महिलाहरु उपप्रमुख नै हुन्छन भन्ने खालको मान्छेहरुको बुझाइ छ । जस्तो म काठमाडौंमा कुनै कार्यक्रममा सहभागी हुन आउँदा पनि धेरैले ‘उपप्रमुखज्यु नमस्कार’ भन्नु हुन्छ । त्यो व्यवहार देख्दा कहिलेकाहीँ हाँसो उठ्छ । पछिल्लो समय गठबन्धनको कारण धेरैजना पुरुष साथीहरू उपमेयर हुनुहुन्छ । उहाँहरू पालिकाको लोगो लगाएर आउँदा ‘प्रमुख ज्यु नमस्कार’ भन्ने, तर महिला देख्दा धारणा बदलिने—हेर्नुस् न, कति फरक छ दृष्टिकोण ।
लिङ्गकै आधारमा फरक व्यवहार त छ नै, तर हेर्ने मनोविज्ञान नै अर्कै छ । महिला हो, काम गर्न सक्छ कि सक्दैन भन्ने खालको सोच छ मान्छेहरुमा । तर त्यही धारणा चिर्न सक्ने क्षमता हामी महिलामै छ । पुरुषहरू प्रायः अफिस गएर घर आएपछि आफ्नो काम सकिएको ठान्छन तर महिलाहरु पनि अफिस जाने छन भने उनीहरु आएर घरको सबै काम गर्नुपर्ने हुन्छ ।
महिलाहरुलाई त आमाजस्तै सहनशील र शक्तिशाली भनेर सम्मान गरिन्छ । त्यही शक्ति भएर त फरक भूमिका निभाउन सक्छौं । त्यसैले महिलालाई अरूको बराबरीको होइन, आफ्नो क्षमता अनुसारको सम्मान दिनुपर्छ । नगरपालिकामा पनि सुरुका केही महिनासम्म कतिपयले मेयर पनि हो र ?’ भन्ने व्यवहार गरे । तर मैले निर्णय गर्नुपर्ने बेलामा कहिल्यै पछाडि हटिन । अतिक्रमण हटाउनेजस्ता संवेदनशील निर्णयमा पनि धेरै पुरुषहरू हच्किए तर मेरो आफ्नै ससुराको घर भत्काउनु पर्दा पनि म पछि हटिन ।
पदमा भएका महिलाहरुले कुनै निर्णय गर्दा पार्टीकै कुनै नेताको वा आफूलाइ टिकट दिने मान्छेको अनुमति लिनुपर्छ भन्ने प्रवृत्ति पनि समाजमा छ । तर त्यो गलत हो । पदमा हामी आफ्नो क्षमताले पुगेका हौँ । त्यसैले सही कुरामा निर्भिक भएर सिग्नेचर गर्नुपर्छ । ऐन, विधान, नीति नियमनहरू राम्रोसँग बुझेर मात्र निर्णयमा पुग्नुपर्छ ।
कोटा पाएको भनेर मात्र कुर्सीमा बस्ने होइन, जिम्मेवारी पूरा गर्ने सामथ्र्य हुनुपर्छ । हरेक क्षेत्रमा—दलित, महिला, जनजाति—कोटा नै पर्याप्त प्रमाण होइन । क्षमतावान् भएर पाउनुपर्छ । त्यसैले ‘३३ प्रतिशत, ५० प्रतिशत’ को कुरा गर्दा पहिलो गणना चाहिँ क्षमता हो—कति प्रतिशत महिलासँग नेतृत्व गर्ने क्षमता छ? क्षमता भयो भने कोटा माग्नै पर्दैन ।
म मेयरमा आउँदा कुनै ‘कोटा’ थिएन । मैले ‘म मेयर लड्छु’ भनेँ, पार्टीले विश्वास ग¥यो, जनताले भरोसा राखे—त्यसैले जितेँ । त्यसैले आज यो पदमा बसेर, चुनौतीहरू थेग्दै, नगर विकासको नेतृत्व दिँदै आएको छु ।
अब त तपाइँको कार्यकाल सकिदै पनि गएको छ । अझैंपनि तपाइँले गर्न खोजेका कतिपय कामहरु अधुरै होलान । फेरि मेयर पदमा दोहोरिने इच्छा छ कि छैन ?
नगरपालिका बनाउनका लागि मैंले यो तीन वर्षमा जुन मेहनत गरेँ, अब बाँकी दुई वर्ष मात्रै छ । राम्रो नगरपालिका बनाउन जुन मेहनत गर्नुपर्छ, त्यो मेहनत म अझै गर्छु । संघ होस्, प्रदेश होस्, विभिन्न संघ–संस्था, एनजीओ–आइएनजीओहरू सबैबाट सहयोग कसरी लिनुपर्छ भन्ने धेरै कुरा अब पहिलाभन्दा राम्रोसँग बुझिसकेको छु । त्यसैले मलाई लागिरहेको छ, यो तीन वर्षभन्दा बाँकी दुई वर्ष अझै राम्रो, ‘बेस्ट’ गरेर देखाउँछु । किनकि हामीले गर्दै आएको धेरै काम अहिले अन्तिम चरणमा पुगेका छन् ।
केही काम त चार–पाँच वर्षे योजना भएका कारणले मेरो कार्यकाल सकिएपछि मात्र पूरा हुन्छन् ।
अब जनताले विश्वास गरे, पार्टीले टिकट दियो भने म फेरि दोहोरिन्छु । मलाई चुनाव लड्न कुनै समस्या छैन । बरु, लम्कीचुहामा मैले एउटा सकारात्मक काम गरेको छाप बनाएको छु । यदी पार्टीले विश्वास ग¥यो, जनताले विश्वास गरेभने, मैंले गरेको कामलाई निरन्तरता दिन, बाँकी कामहरू पूरा गर्न म फेरि एकपटक दोहोरिनै पर्छ भन्ने मेरो बुझाइ छ ।
प्रतिक्रिया