हवाइ सेवा र पर्यटन विकासमा प्राधिकरण–निगम सहकार्य अपरिहार्य: अधिकारी

बुधबार, १६ पुस २०८२

भैरहवा : नागरिक उड्डयन प्राधिकरणको २७औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा नेपाल वायुसेवा निगम भैरहवाका प्रमुख प्रकाश अधिकारीले प्राधिकरण र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमबीचको सहकार्य मुलुकको हवाइ सेवा तथा पर्यटन विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रमुख अतिथि रहेको कार्यक्रममा अधिकारीले प्राधिकरणले नियमनकारी निकायको जिम्मेवारी सफलतापूर्वक वहन गर्दै आएको र निगम र प्राधिकरणबीच विगतदेखि नै सौहार्दपूर्ण कार्यगत सम्बन्ध रही आएको उल्लेख गरे।

उनका अनुसार नागरिक उड्डयन प्राधिकरणको सदाशयता र सहयोगका कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत प्रवाह हुने हवाइ सेवाको गुणस्तर उन्नत भएको छ।

उनले विमानस्थल महाप्रबन्धक श्याम किशोर शाहसहित सम्पूर्ण प्राधिकरण परिवारलाई वार्षिकोत्सवको अवसरमा बधाइ र धन्यवाद व्यक्त गरे।

अधिकारीले नेपाल वायुसेवा निगमको उपस्थिति पर्यटन क्षेत्रमा भरपर्दो साझेदारका रूपमा स्थापित भएको बताए।

उनका अनुसार निगमका अन्तर्राष्ट्रिय उडानहरूले पर्यटन उद्गम मुलुकबाट बढी पर्यटक भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्र र समग्र विकास यात्रामा सहयोग पुर्‍याइरहेका छन्।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर थप अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सके यस क्षेत्रको पर्यटन गतिविधि अझ सशक्त हुने उल्लेख गर्दै उनले नेपालको हवाइ सुरक्षाको स्तरीकरण र प्रवर्द्धनमा नागरिक उड्डयन प्राधिकरणको अग्रसरता आगामी दिनमा झनै उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गरेका थिए।

वार्षिकोत्सवको अवसरमा उनले प्राधिकरणको २७ वर्षे यात्रामा हासिल भएका उपलब्धिप्रति गौरव व्यक्त गर्दै सफल भविष्यका लागि शुभकामना दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार