नेकपा एसले गर्यो माओवादी केन्द्रसँग एकता गर्ने निर्णय, ओलीको भने ‘घर फर्किन’ आह्वान

शुक्रबार, १४ कार्तिक २०८२

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने निर्णय गरेको छ। बुधबारदेखि सुरु भएर शुक्रबार सकिएको बैठकले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपास) सँग एकता प्रक्रिया अघि बढाउने औपचारिक निर्णय गरेको हो।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले एकताको प्रस्ताव पेश गर्दै “बाम एकता अहिलेको राजनीतिक आवश्यकता” भएको तर्क प्रस्तुत गरे। नेपालले बैठकमा थप गृहकार्य पार्टी सचिवालयले गर्ने र एकताको कार्यदल गठन गर्ने तयारी भइरहेको पनि बताएका छन्।

तर, सो निर्णयमा सबै नेताहरू सहमत छैनन्। पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेतृ रामकुमारी झाँक्री र विजय पौडेललगायतका नेताहरूले एकताको ढाँचा र माओवादीसँगको वैचारिक सहमतिको विषयमा असहमति जनाएका छन्।

ओलीको ‘आफ्नै घर फर्किन’ अपिल

यसबीच, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत सबै पूर्वसहकर्मीलाई पार्टीमा फर्किन आह्वान गरेका छन्।

नेकपा (एकीकृत समाजवादी) को नाम नलिई उनले लेखेका छन्, “विगतमा नेकपा (एमाले) निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु — जहाँ हुनुहुन्छ, फर्किनुस्, आफ्नै घर फर्किनुस्। यो घर तपाईँहरूको पसिना र रगतले बनेको हो।”

ओलीले एमालेलाई जनताको रगत, पसिना र आशाबाट बनेको परिवारको संज्ञा दिएका छन्।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार