काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक १३ कात्तिकसम्मका लागि स्थगित भएसँगै मङ्सिर मै नियमित महाधिवेशन हुनेमा आशङ्का बढेको छ।
काँग्रेसले नियमित महाधिवेशन गर्ने तयारी गरिरहेको भए पनि केन्द्रीय समिति बैठक लम्ब्याइएपछि आगामी दिनमा महाधिवेशनको प्रक्रिया कसरी अगाडि बढ्छ भन्नेमा अन्योल देखिएको छ।
नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ वर्षे कार्यकाल आगामी मङ्सिर मसान्तमा सकिनेछ।
विधानअनुसार, आगामी मङ्सिर मसान्तसम्ममा १५औँ महाधिवेशन गरिसक्नुपर्नेछ। सभापति शेरबहादुर देउवाले गत २८ असोजको केन्द्रीय समिति बैठकमा पार्टी नियमित महाधिवेशनमा जाने बताउँदै कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई सुम्पेका थिए। त्यसयता ३०–३१ असोज र १ कात्तिकमा बसेको बैठकमा पार्टीको १५औँ महाधिवेशनलाई मुख्य एजेन्डा बनाएर छलफल भएको भए पनि बैठक आगामी १३ कात्तिकसम्म धकेलिँदा मंसिरभित्रै महाधिवेशन नहुने करिब निश्चितजस्तै बनेको छ।
यद्यपि बैठकले के निर्णय गर्छ भन्ने प्रतीक्षा जारी छ। कांग्रेस नेताहरूका अनुसार धेरै केन्द्रीय सदस्यले बोल्न बाँकी रहेको अवस्थामा बैठक सारिएकाले १३ कात्तिकपछि पनि बैठक सकिन केही दिन लाग्ने देखिन्छ। १६६ केन्द्रीय सदस्यमध्ये हालसम्म २७ जनाले मात्रै धारणा राखेका छन् भने १ आमन्त्रित सदस्य र ४ प्रदेश सभापतिले आमन्त्रित सदस्यको रूपमा धारणा राखेका छन्।
समय चापको कारण मङ्सिरमा महाधिवेशन ‘असम्भव’
महामन्त्री गगन थापाले केन्द्रीय कार्यसम्पादन समिति बैठकमा २७–२९ मङ्सिरमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए। यद्यपि उनले अहिलेसम्म केन्द्रीय समिति बैठकमा महाधिवेशन मिति प्रस्ताव गरेका छैनन्। बैठकमा मङ्सिरमा महाधिवेशन मिति प्रस्ताव गर्न पदाधिकारी तहमा सहमति नजुटेको जनाइएको छ। समयको अभाव देखिएपछि उक्त प्रस्ताव केन्द्रीय समिति बैठकमा नआउन सक्ने जानकारी एक नेताले दिएका छन्।
महाधिवेशनका लागि केन्द्रीय समिति बैठकले निर्वाचन समितिको गठन गरेपछि निर्वाचन समितिले आफ्नो ढङ्गले कार्यतालिका तयार गरी प्राविधिक काम सुरु गर्छ। नयाँ सदस्यता वितरण तथा नवीकरण, नयाँ तथा नवीकरणमा देखिने समस्या समाधान, कतिपय जिल्लामा नवीकरण विवाद, अनुशासन आयोगले कारबाही गरेका सदस्यहरूको विषय आदिका लागि समय आवश्यक हुन्छ। त्यसैले मङ्सिरमा महाधिवेशन सम्भव देखिन्न।
क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने, वडा अधिवेशन, पालिका अधिवेशन, प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन, नेपाली जनसम्पर्क समिति अधिवेशन, जिल्ला अधिवेशन, प्रदेश अधिवेशन,अनि केन्द्रीय महाधिवेशन गर्ने प्रक्रिया मंसिरभित्रै पूरा गर्न सजिलो छैन।
अर्को विकल्पका रूपमा वडा अधिवेशनपछि सिधै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरी महाधिवेशन गर्ने र अन्य तहगत कार्यसमितिको चयन महाधिवेशनपछि गर्ने विचार भए पनि काङ्ग्रेसभित्र सहमति जुटेको छैन।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, “मङ्सिरमा महाधिवेशन गर्न कठिन छ। विस्तृत प्रक्रियाबाट महाधिवेशन गर्नुपर्ने र त्यसका लागि समय लाग्ने हुँदा आवश्यक समय थपेर महाधिवेशन गर्न सकिन्छ। मङ्सिरभित्र महाधिवेशन सम्भव जस्तो छैन। समय थप गर्नुपरे पनि विधानअनुसार १ वर्षभन्दा बढी समय थप्ने छैनौँ। जति समयमा महाधिवेशन सम्पन्न गर्न सकिन्छ, त्यति थपेर महाधिवेशन गरिनेछ।”
‘केन्द्रीय समिति अनिर्णीत भए स्वतः विशेष महाधिवेशन’
काँग्रेसमा गत पुस २९ मा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए। विधानअनुसार, बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेमा ३ महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने हुन्छ। नियमित महाधिवेशन गर्न नसकेको र विशेष महाधिवेशनको माग औपचारिक रूपमा भएका कारण स्वतः विशेष महाधिवेशनको प्रक्रिया अघि बढ्नुपर्छ भनी केन्द्रीय सदस्य मधु आचार्य बताउँछन्।
उनी भन्छन्, “आगामी बैठकबाट नियमित महाधिवेशनमा जाने निर्णय भएन भने असोज २९ गते दर्ता भएको ५५ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सक्रिय हुनेछ। नियमित महाधिवेशन गर्न समय पुग्दैन भन्ने निष्कर्ष आएमा १३ कात्तिकपछि बस्ने केन्द्रीय समिति बैठक विशेष महाधिवेशनतर्फ केन्द्रित हुनुपर्छ।”
प्रतिक्रिया