१४ दिनपछि मेची राजमार्ग सञ्चालनमा, राज–दुवाली खण्डमा पहिरो पन्छाएर यातायात सुरु

शनिबार, ०१ कार्तिक २०८२

इलाम : लगातार १४ दिनदेखि अवरुद्ध मेची राजमार्ग पुनः सञ्चालनमा आएको छ। असोज १८ गतेको अविरल वर्षापछि इलामको राज–दुवाली खण्डमा गएको ठूलो पहिरोका कारण राजमार्ग पूर्ण रूपमा ठप्प बनेको थियो। शनिबार रातिदेखि बाटो खुला गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

पहिरो गएको तीन दिनपछि सडक मर्मत सुरु गरिएको थियो। बीचमा एक पटक यातायात सञ्चालन भए पनि सडक पुनः दबिएपछि वैकल्पिक रूपमा इलाम नगरपालिका–१० को सिमल गोलाई हुँदै माईजोगमाई गाउँपालिका–४ तर्फको बाटो प्रयोगमा ल्याइएको थियो। सो वैकल्पिक मार्गबाट चार दिनसम्म सवारी सञ्चालन भएको थियो।

सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार, हाल पहिरो क्षेत्रको स्थायित्व बढेको छ र तत्कालका लागि सडक रोडा र माटोले पेलेर अस्थायी रूपमा सञ्चालनयोग्य बनाइएको छ। उनले भने, “सुरुमा भन्दा अहिले सडक दब्ने समस्या घटेको छ, तर सडक पहिरो माथिबाटै निर्माण गरिएको भएकाले सामान्य दबिनु स्वाभाविक हो।”

भट्टराईका अनुसार पहिरोभित्रको पानी पाइपमार्फत बाहिर निकालिएको र भिरालो बनाइ सम्याइएको छ। यसै क्रममा जोगमाई खोलामा होम पाइप लगाएर सडक सञ्चालन गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ।

डिभिजनका सूचना अधिकारी अर्जुन घिमिरेका अनुसार, विज्ञको सल्लाहअनुसार पहिरो क्षेत्रको काम सम्पन्न गरिएको हो। उनले भने, “पहिरोमा कतिपय स्थानमा धाँजा फाटेका छन्, तर विज्ञहरूको सुझावअनुसार जोखिम न्यून पार्ने गरी काम गरिएको छ। अब सडक सञ्चालनसँगै आवश्यक मर्मत पनि निरन्तर गरिँदै जानेछ।”

प्रतिक्रिया

टीका खतिवडा
लेखकको बारेमा
टीका खतिवडा

इलामबाट पत्रकारिता गर्ने खतिवडा, प्रदेश खबरका लागि समेत कलम चलाउँछन् ।

सम्बन्धित समाचार