सुनसरी : आगामी चाडपर्वलाई लक्षित गर्दै प्रहरीले धरानमा सुरक्षा सतर्कता बढाएको छ।
यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै कोशी प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानले शनिबार विशेष डग स्निफिङ (Dog Sniffing) सहितको संयुक्त चेकिङ अभियान सञ्चालन गरेको हो।
शनिबार धरान उपमहानगरपालिका–८ तिनकुनेस्थित कोशी लोकमार्ग क्षेत्रमा सञ्चालन गरिएको उक्त चेकिङमा दुईवटा तालिमप्राप्त कुकुर (डग) सहित २० जनाको संयुक्त टोली खटिएको थियो।
उक्त टोलीमा इलाका प्रहरी कार्यालय धरान, ट्राफिक प्रहरी र केनाइन शाखा धरानका सुरक्षाकर्मीहरू सहभागी थिए। चेकिङको उद्देश्य चाडपर्वका बेला सवारी साधनहरूमा लुकाइ–छिपाइ गरी ओसारपसार हुन सक्ने विस्फोटक पदार्थ, लागूऔषध, र अन्य अवैध सामान नियन्त्रणमा लिनु रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चाडपर्वमा भीडभाड र यात्रु आवागमन बढ्ने हुँदा संभावित आपराधिक क्रियाकलाप रोकथामका लागि यो अभियान सञ्चालन गरिएको हो।
केनाइन शाखाका डगहरूद्वारा गरिएको विशेष स्क्यानिङ चेकिङले सुरक्षालाई थप मजबुत बनाउने र यात्रुहरूमा सुरक्षा प्रति विश्वास जगाउने उद्देश्य राखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया