इटहरी : कोशी प्रदेशको चर्चित बेकरी ब्रान्ड ‘पूर्वाञ्चल’ फेरि एकपटक अखाद्य वस्तु बिक्री गर्दै आएको तथ्य पुनः बाहिरिएको छ।
इटहरी उप–महानगरपालिका–१२ खनारस्थित पूर्वाञ्चल मिल्क एन्ड फुड प्रोडक्ट उद्योग (पूर्वाञ्चल क्याफे) तथा पूर्वाञ्चल आइस्क्रिम एन्ड बेकरीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीले गरेको अनुगमनका क्रममा म्याद गुज्रिएका कच्चा पदार्थ र केमिकलको ठुलो भण्डार फेला पारेको छ। यस घटनाले ब्रान्डको गुणस्तरमा गम्भीर प्रश्नचिन्ह खडा गरेको छ, जसले दैनिक सयौँ उपभोक्ताको स्वास्थ्य जोखिममा परेको देखिन्छ।
खाद्य निरीक्षक उज्वल कोइरालाको नेतृत्वमा गरिएको अनुगमनमा उद्योगको बेकरी उत्पादन कक्ष र स्टोर र्याकबाट ६ महिनाभन्दा बढी म्याद सकिएका पाउडर, फ्लेभरिङ केमिकल, प्रिजर्भेटिभ पदार्थ तथा जङ्क फुड बरामद गरिएको छ।
यी सामग्रीहरू केक, पाउरोटी, बिस्कुट र डेरी उत्पादनमा प्रयोग भइरहेको पुष्टि भएको छ। अनुगमन टोलीका संयोजकका अनुसार बरामद सबै अखाद्य वस्तु मुचुल्का बनाई उद्योग परिसरमै नष्ट गरिएको छ। “यी पदार्थहरूले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन्,” कोइरालाले भने।
यो ब्रान्ड इटहरीको मुख्य चोकबाट सुरु भई खनार, पथरी, दमक, बिर्तामोड, विराटनगरदेखि इटहरी आइतबारेसम्म फैलिएको छ।
विशेषगरी जन्मदिन, उत्सव र समारोहका लागि लोकप्रिय केक यसको मुख्य आकर्षण थिए, जसलाई स्थानीय होटेल, क्याफे र किराना पसलमा ठुलो मात्रामा बिक्री हुने गर्छ । तर ब्रान्ड विस्तारसँगै गुणस्तरमा ध्यान नदिएको स्थानीयको गुनासो आएपछि छापा मारिएको जनाइएको छ। यसअघि दमकस्थित आउटलेटमा पनि यस्तै समस्या भेटिएपछि कारबाही भएको थियो, तर बारम्बार दोहोरिने प्रवृत्तिले जनस्वास्थ्यसँग खेलबाड भएको आरोप लाग्दै आएको छ।
इटहरीका दामोदर बिडारी र उनकी श्रीमती पूजा बिडारीद्वारा सञ्चालित यस उद्योगविरुद्ध खाद्य ऐन तथा नियमावलीअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।
जिम्मेवार व्यक्तिलाई दायरामा ल्याई थप अनुसन्धान गर्ने तयारी भएको छ। स्थानीयवासीले भने कारबाही मात्र नभई कडा निगरानी र नियमित नियमनको माग गरेका छन्।
सुनसरी खाद्य कार्यालयले उपभोक्तालाई सावधानी अपनाउन आग्रह गर्दै उत्पादन किन्नुअघि म्याद (expiry date) जाँच गर्न र गुणस्तरमा शङ्का लागेमा नजिकको कार्यालयमा उजुरी दिन सुझाव दिएको छ।
प्रतिक्रिया