काठमाडौँ : जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभाको दोस्रो ठुलो दल महाधिवेशन तयारीमा छ । तेस्रो ठुलो दल विभिन्न समूहसँग एकता अभियानमा छ । तर लामो लोकतान्त्रिक इतिहास बोकेको नेपाली काँग्रेस भने ४७ दिनदेखि महाधिवेशनको मिति टुङ्ग्याउने विषयमै डुबेको छ ।
४७ दिनमा १७ बैठक बसे; १८औँ बैठकले महाधिवेशनको मिति टुङ्गो लगाउन सक्ला कि ? भन्ने प्रश्न काङ्ग्रेसभित्र अझै छ ।
पार्टीले विशेष महाधिवेशन गर्ने कि नियमित ? २१ फागुनमा हुने निर्वाचनअघि गर्ने कि पछि ? भन्ने विवाद ४७ दिनयता समाधान हुन सकेको छैन । यद्यपि सोमबार (आज) सारिएको बैठकमा मध्यमार्गी प्रस्तावसहित आगामी पुस २६ देखि २९ गतेसम्म महाधिवेशन गर्ने ‘लगभग सहमति’ जुटेको दाबी गरिएको छ ।
तर, यसका लागि संस्थापन पक्षले विशेष महाधिवेशन माग्दै हस्ताक्षर गरेका दुवै महामन्त्रीले आफ्नो हस्ताक्षर फिर्ता लिएको घोषणा गर्नुपर्ने पूर्वसर्त राखेको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यस विषयमा अझै सार्वजनिक रूपमा बोलेका छैनन्, जसका कारण मध्यमार्गी प्रस्ताव कार्यान्वयन हुने कि नहुने अनिश्चित छ ।
आज बस्ने भनिएको बैठकले प्रस्तावित मिति पारित गरी चर्किँदो विवादलाई निष्कर्षमा पुर्याउने कोसिस त हुनेछ, तर यही बैठकले अन्तिम समाधान दिनेमा काङ्ग्रेसकै धेरै नेताहरू विश्वस्त छैनन् ।
काँग्रेसको भावी नेतृत्वमा वर्तमान महामन्त्री थापासहित अधिकांश पूर्वमहामन्त्री र उपसभापतिहरूको दाबी छ । विधानअनुसार सभापति शेरबहादुर देउवा अर्को कार्यकालमा दोहोरिन नमिल्ने भएपछि काँग्रेसमा नेतृत्व पुस्तान्तरण स्वतः अनिवार्य बनेको छ ।
तर, नेताहरू र युवापुस्ताले चाहेको नेतृत्व पुस्तान्तरण वर्तमान सन्दर्भमा सम्भव नदेखिन थालेको र यही कारण पुसमा प्रस्तावित महाधिवेशन पनि नहुने आशङ्का केही नेताहरूले व्यक्त गरेका छन् ।
एक पदाधिकारीका शब्दमा—
‘सभापति देउवाले चाहेको व्यक्तिलाई सभापति बनाउने वातावरण नबनेसम्म प्रस्तावित मितिमा महाधिवेशन नहुन सक्छ । महाधिवेशन गर्ने कि नगर्ने भन्ने मुख्य निर्णय अझै पनि देउवाकै कोर्टमा छ ।’
जेनजी आन्दोलनपछि देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । तर, खड्काले एक पनि प्रभावकारी केन्द्रीय समिति बैठक सञ्चालन गर्न नसकेको भन्दै देउवा पछिल्लो समय असन्तुष्ट देखिएका छन् ।
खड्काले ११ असोजमा २६ असोजका लागि केन्द्रीय समिति बैठक बोलाए पनि मिति नआउँदै दुई दिन स्थगन गरिएको र अन्ततः २८ असोजमा पहिलो बैठक बस्यो । त्यसयता काँग्रेसको १७ बैठक भइसकेका छन् । ६ मङ्सिरको बैठकले निर्वाचनमा सहभागी हुने निर्णय त गर्यो तर महाधिवेशनको मिति र प्रकृति टुङ्गो लगाउन सकेन ।
४७ दिनसम्म बैठकहरू चलिरहे पनि सर्वसम्मत महाधिवेशन मिति तय गर्न असफल खड्काप्रति देउवाको असन्तुष्टि बढेको छ । यही कारण स्वयम् सक्रिय हुँदै देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग व्यापक छलफल गर्दै मध्यमार्गी प्रस्ताव तयार पारेका छन्, जसलाई उनले आजको बैठकमा अघि बढाउने तयारी गरेका छन् ।
प्रतिक्रिया