काठमाडौँ : नेपाली काँग्रेस र नेकपा एमालेलगायत परम्परागत राजनीतिक शक्तिलाई ‘डेट एक्स्पाएर’ घोषित गर्दै वैकल्पिक राजनीतिक शक्ति बन्न उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैकल्पिक धारलाई आफ्नो नेतृत्वमा ध्रुवीकरण गर्न थालेको छ।
वर्षौँसम्म जारी राजनीतिक बेथिति र कुशासनको आधार ध्वस्त पार्न जेनजी आन्दोलनले असङ्गठित रूपमा उठाएको जनआन्दोलनलाई रास्वपाले संस्थागत नेतृत्व दिने सङ्केत गरेको हो।
काठमाडौँमा आयोजित रास्वपा–साझा पार्टी एकता समारोहमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले परीक्षण भइसकेर अस्वीकृत भएका पुराना शक्तिसँग भिड्न नयाँ सोच र वैकल्पिक शक्तिहरूको निर्णायक ध्रुवीकरण सुरु भएको बताए।
राष्ट्रिय सभागृहमा आयोजित एकता सभामा विवेकशील साझाकी नेतृ समीक्षा बाँस्कोटाले पार्टी एकतालाई ‘विलय’ भन्नेहरूलाई २१ फागुनमाैँ ‘प्रलय’ देखाइदिने चेतावनी दिइन्।
उनले भनिन्, “हामीले वैकल्पिक राजनीतिका लागि ट्र्याक खोलेका थियौँ, रास्वपाले राजमार्ग बनायो। अब यो सबैका लागि विश्वासिलो गन्तव्यको महामार्ग बन्नेछ भन्नेमा ढुक्क हुनुपर्छ।”
१२ वर्षअघि सुरु भएको विवेकशील साझाको अभियान र २०७९ असार ७ मा स्थापना भएको रास्वपाको एकताले वैकल्पिक राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरेको छ।
जेनजी आन्दोलनका नेतृत्वकर्ता भनेर दाबी गर्ने समूहहरू दल दर्तादेखि निर्वाचन तयारीसम्म नै भिन्न धारमा रहेको बेला रास्वपालाई सहज हुने विश्लेषण राजनीतिक वृत्तमा बढेको छ।
रास्वपाले स्थापना समयमा उठाएको नाराकै परिधिमा जेनजी आन्दोलन चलेको कारण त्यसपछिको राजनीतिक परिवेशलाई संस्थागत नेतृत्व दिन रास्वपा नै उपयुक्त हुने निष्कर्ष निकालेका कारण जेनजी समूहसँग पनि एकता–परामर्श भइरहेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।
आइतबार साझा पार्टीसँग औपचारिक रूपमा एकता गर्दै वैकल्पिक शक्तिको ध्रुवीकरणको सन्देश दिइएको बुर्लाकोटीले बताए। “पार्टी एकताका रूपमा यो पहिलो भए पनि यसअघि एक पार्टी र करिब एक दर्जन स्वतन्त्र अभियान रास्वपामा विलय भइसकेका छन्,” उनले भने।
बन्द–हडतालको विकल्प, देशमै रोजगारीको अवसर र भ्रष्टाचारमुक्त समाजको मागसहित शान्त प्रदर्शन र भद्र विरोधका माध्यमबाट १२ वर्षअघि सुरु भएको विवेकशील अभियान आइतबारदेखि औपचारिक रूपमा साझा विवेकशील पार्टीसहित रास्वपामा विलय भएको छ।
पार्टी एकताअन्तर्गत दुई पक्षका हस्ताक्षर र खातामा रहेको ३३ लाख रुपैयाँसमेत औपचारिक रूपमा हस्तान्तरण भए पनि साङ्गठनिक संरचना भने अझै पूर्णरूपमा टुङ्गिन बाँकी छ। हस्ताक्षर भएको पाँचबुँदे सहमतिअनुसार साङ्गठनिक समायोजन आपसी समझदारीका आधारमा मनोनयनमार्फत गरिने उल्लेख छ।
विवेकशील अभियानदेखि साझा विवेकशील पार्टीसम्मको वैकल्पिक अभियान रास्वपामा मिसिएपछि रास्वपा अब वैकल्पिक राजनीतिक नेतृत्वका रूपमा अधिक सबल बनेको विश्लेषण गरिएको छ।
नन्दन यादव नेतृत्वको लोहियावादी समाजवादी दल २०८० मङ्सिर १ मै रास्वपामा विलय भइसकेको छ। समाजवादी, जातीय, क्षेत्रीय तथा वर्गमुक्तिको एजेन्डा बोकेको उक्त दल विलयपछि यादवलाई केन्द्रीय सदस्य र उनका कार्यकर्तालाई सङ्गठनमा उचित जिम्मेवारी दिइएको बुर्लाकोटीले बताए।
पुराना दलहरूमा असन्तुष्ट भई छुट्टिएका विभिन्न मोर्चा र समूहहरू पनि क्रमशः रास्वपामा विलय भइरहेका छन्। बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबाट अलग्गिएर बनेका स्वतन्त्र नागरिक समूहका धेरै मोर्चाहरू जिल्लाजिल्लाबाट रास्वपाको सम्पर्कमा आएका बुर्लाकोटीले जानकारी दिए।
उनले भने, “पुराना पार्टीहरूको विभाजन र एकताका क्रममा नेता जहाँ गयो त्यहीँ लाग्न नसकेर स्वतन्त्र नागरिक भन्दै सक्रिय समूहहरू पनि सम्पर्कमा आएका छन्। संवाद र ध्रुवीकरण विस्तार हुँदै जानेछ।”
रास्वपाले जेनजी आन्दोलनको मर्मअनुसार वैकल्पिक शक्तिको ध्रुवीकरणलाई थप गति दिने तयारी गरेको छ। अवस्था परिपक्व नहुँदासम्म सार्वजनिक नगर्ने नीति लिएको र केही जेनजी समूहसँग गोप्य संवाद भइरहेको बुर्लाकोटीले पुष्टि गरे।
उनका शब्दमा, “पहिले नै सूचना लिक भएको भए विवेकशील–साझासँग पनि यस तहमा एकता हुन नपर्न सक्थ्यो। त्यसैले अन्य संवादहरू गोप्य राख्नुपर्छ। तर यति भन्न सक्छु—हामी जेनजी समूहसँग संवादमा छौँ, चाँडै एकता गरेर जेनजी भावनाको संस्थागत नेतृत्व रास्वपाले लिने सन्देश सार्वजनिक हुनेछ।”
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया