काठमाडौं : नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दायर गरिएको रिट कुनै पनि हालतमा फिर्ता नलिने स्पष्ट पारेका छन्। विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा पक्षधर नेताकार्यकर्ताले देउवा पक्षले सर्वोच्चमा हालेको रिट फिर्ता लिने सहमति भएको भन्दै समाचार सार्वजनिक गरेपछि खड्काले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
खड्काले जारी गरेको वक्तव्यमा प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रका उम्मेदवारको टिकट वितरणसम्बन्धी कुनै पनि बैठक वा प्रक्रियामा आफू सहभागी नभएको र त्यसबारे जानकारीसमेत नभएको स्पष्ट पारेका छन्। ‘कसैमा भ्रम नरहोस्। न्यायिक प्रक्रियामा अदालतमा गएको रिट फिर्ता हुँदैन,’ उनले भनेका छन्।
यसैबीच, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका निजी सचिव भानु देउवाले पनि सर्वोच्च अदालतमा दायर रिट निवेदन फिर्ता लिने भन्ने समाचारलाई गलत र भ्रामक भएको बताएका छन्। केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले रिट फिर्ता नहुने स्पष्ट पारेका छन्।
‘उक्त रिट निवेदन फिर्ता नहुने र अदालतबाट निष्पक्ष न्याय सम्पादन हुनेमा नेपाली कांग्रेस अपेक्षित छ,’ भानु देउवाले भनेका छन्। साथै, यस्ता गलत समाचार प्रकाशन तथा प्रशारण नगर्न सबै सञ्चारमाध्यमलाई उनले आग्रह गरेका छन्।
प्रतिक्रिया