झापामा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आक्रमण गर्ने २९ जना पक्राउ

विहीबार, ०४ मंसिर २०८२

झापा : गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा झापाका विभिन्न स्थानमा प्रहरी कार्यालयमाथि आक्रमण तथा तोडफोड गर्ने घटनामा २९ जना पक्राउ परेका छन्। बिर्तामोडबाट १६ र दमकबाट १३ जना पक्राउ परेका हुन्।

अस्थायी प्रहरी चौकी गरामनीमा आगजनी तथा तोडफोडमा संलग्न भएको आरोपमा बिर्तामोड–८ गरामनिका ३६ वर्षीय गङ्गाराम लिम्बू र बिर्तामोड–७ मुसहर डाँडाका १९ वर्षीय सेशेहाङ इङ्नाम लिम्बूलाई घरमैबाट प्रहरीले नियन्त्रणमा ल्याएको हो। दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।

यसअघि बिर्तामोड प्रहरीले छुट्टाछुट्टै स्थानबाट १४ जनालाई पक्राउ गरेको थियो। उनीहरूमाथि अभद्र व्यवहार, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव तथा हतियार–खरखजना मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उता इलाका प्रहरी कार्यालय दमकले १३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ३ जना नाबालक छन्। अन्य पक्राउ पर्नेहरू १९ देखि ३४ वर्ष उमेरका रहेका छन्।

जेनजी आन्दोलनसँगै हिंसात्मक गतिविधि बढ्न थालेपछि झापामा सुरक्षा व्यवस्था कडाइ गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार