राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले सबै क्षेत्रमा उम्मेदवार सार्वजनिक गरेको हो।
झापा क्षेत्र नम्बर ५ मा रास्वपाबाट बालेन शाह उम्मेदवार बन्ने भएका छन्। उनी यस क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिनेछन्। ओलीसँग चुनावी भिडन्तका लागि बालेन शाहले काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिइसकेको रास्वपाले जनाएको छ।
यस्तै, झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता तथा पूर्व सभामुख देवराज घिमिरेविरुद्ध रास्वपाबाट पूर्व उपसभामुख इन्दिरा राना मगर उम्मेदवार बनेकी छन्।
रास्वपाले झापा क्षेत्र नम्बर १ बाट निशा डाँगी, क्षेत्र नम्बर ३ बाट प्रकाश पाठक र क्षेत्र नम्बर ४ बाट शम्भु ढकाल (सुस्केरा)लाई उम्मेदवार बनाएको छ। रास्वपाका एक सचिवालय सदस्यका अनुसार पाँचै क्षेत्रमा उम्मेदवार तय भइसकेको हो।
प्रतिक्रिया