ताप्लेजुङ आगलागी : चार घर पूर्ण रूपमा नष्ट हुँदा करोडौं क्षतिको अनुमान

बुधबार, ०३ मंसिर २०८२

झापा : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा मंगलबार राति लागेको भीषण आगलागीले चार घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। राति करिब ११ बजे सुरु भएको आगो स्थानीय बासिन्दा, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासमा बुधबार बिहान करिब ६ बजे नियन्त्रणमा ल्याइयो। आगलागी कसरी सुरु भयो भन्ने प्रारम्भिक कारण खुल्न सकेको छैन।

रातिको समयमा सुरु भएकाले प्रभावित परिवारले घरभित्रका सामान सुरक्षित गर्न पाएनन्। इन्द्रकुमार लिम्बु, राजकुमार लिम्बु, अनिल लिम्बु र विष्णुप्रसाद लिम्बुका घर पूरै जलेका छन्। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट भएकै क्षति करोडौंमा पुगेको छ। मानवीय क्षति भने भएको छैन।

इन्द्रकुमार लिम्बुको ढुङ्गामाटो र काठको बेरा बनेको तीन तले घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। घरमा रहेको अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, काठपात, घरायसी सामग्रीदेखि सुन दुई तोला, नगद दुई लाख रुपैयाँ, किराना सामान सबै खरानी बनेका छन्। सोही घरमा भाडामा बस्ने दोर्ची शेर्पाका २५ मन अलैंची र १० कुखुरा समेत जलेर नष्ट भएका छन्।

राजकुमार लिम्बुको तीन तले घर पनि पूर्ण रूपमा जलेको छ। घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, सुन चार तोला, चाँदी १५ तोला, नगद दुई लाख रुपैयाँ, किराना सामग्री, कुखुरा १२ वटा सबै जलेका छन्। घरअगाडि पार्किङ गरिएको मे १० प ८२४६ नम्बरको पल्सर मोटरसाइकल समेत जलेर नष्ट भएको छ।

अनिल लिम्बुको घरमा रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, सुन दुई तोला, चाँदी एक तोला, नगद तीन लाख रुपैयाँ र किराना सामान तथा २२ कुखुरा जलेर नष्ट भएका छन्। विष्णुप्रसाद लिम्बुको ढुङ्गामाटो र काठको बेरा भएको एक तले घर समेत पूर्ण रूपमा जलेको छ। घरभित्रका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा र नगद एक लाख रुपैयाँसहित किराना सामग्री जलेका छन्। घरअगाडि पार्किङ गरिएका मे १ ज ३००३ महेन्द्र म्याक्स र ग ३ च ९८४७ बोलेरो गाडीको बाहिरी भागमा केही क्षति पुगेको प्रहरीले जनाएको छ।

नियन्त्रणका लागि नेपाली सेनाको वीरदल गणबाट खटिएको टोली, सहायक सेनानी टेकबहादुर साउदको कमान्डमा रहेको सुरक्षा पोस्टबाट परिचालित समूह तथा नफ्री प्रहरी चौकी साँवाका प्रहरी नायब निरीक्षक ख्यामबहादुर श्रेष्ठको टोली सक्रिय रूपमा जुटेका थिए। स्थानीयले पाइप, बाल्टिन, गाग्रीलगायत घरायसी भाँडाकुँडामार्फत पानी हाल्दै आगो निभाउने प्रयासमा सहयोग गरेका थिए।

यो पनि : ताप्लेजुङको तेम्बा बजारमा मध्यराति आगलागी: चार घर जलेर नष्ट

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार