काठमाडौँ : विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले वैधता दिएको छ। यससँगै पूर्वसभापति शेरबहादुर देउवा पक्षभित्र मुख्य काँग्रेसमा फर्कने वा निर्वाचनमा भाग नलिएर निष्क्रिय बस्नेबारे दुई धारणा देखिएका छन्।
यता बानेश्वरमा सभापति गगन थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिले पूर्वसभापति देउवालाई अभिभावकीय भूमिकामा बस्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
बैठकपछि जारी वक्तव्यमा भनिएको छ, “लामो समयसम्म नेपाली काँग्रेसलाई नेतृत्व प्रदान गर्नुभएका श्रद्धेय पूर्वसभापति शेरबहादुर देउवाको योगदानको उच्च कदर गर्दै यो बैठक उहाँप्रति सम्मान प्रकट गर्दछ। आगामी दिनमा उहाँलगायत अग्रजहरूको अभिभावकत्व र पूर्ण साथ रहनेछ भन्ने विश्वास प्रकट गर्दछ।”
देउवानिकट पूर्वपदाधिकारी र केही वरिष्ठ केन्द्रीय सदस्यले चुनाव नलड्ने र थापा नेतृत्वको कार्यसमितिमा पनि नबस्ने मनस्थिति बनाएका छन्। तर तेस्रो तहका नेताहरू भने रुख र झन्डा सहित मूल काङ्ग्रेसमै फर्किन चाहन्छन्।
देउवा पक्षका पूर्वपदाधिकारी तथा सदस्यहरूले शनिवार सानेपामा बसेको बैठकमा आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ गर्ने निर्णय लिएका छन्। आइतबार रिट दायर गर्ने तयारी रहेको छ। पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई रिट दायर गर्ने जिम्मा दिइएको छ भने पूर्वपदाधिकारी पूर्णबहादुर खड्कालाई प्रक्रिया अघि बढाउन अख्तियारी दिइएको छ।
निर्वाचन आयोगबाट मान्यता पाएपछि बानेश्वरमा बसेको काँग्रेस केन्द्रीय बैठकले टोलदेखि केन्द्रसम्मका सबै तहका कार्यसमितिलाई निर्वाचनमा एकजुट भएर लाग्न निर्देशन दिएको छ। प्रवक्ता देवराज चालिसेले पार्टी एकताबद्ध बनाएर अघि बढ्ने अभियानमा सिङ्गो केन्द्रीय कार्यसमिति अग्रसर रहेको बताए।
केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले पुरानो संस्थापन र शेखर कोइराला समूहसँग छलफल अघि बढाइरहेका छन्। भ्रातृसंस्थाका नेतृत्व अधिकांश देउवा पक्षमा भए पनि उनीहरूसँग पनि कुराकानी भइरहेको छ।
साना–ठुला नेताहरूको बुझाइमा विशेष महाधिवेशनको पक्षमा नहुनु भएका २०–३० जना केन्द्रीय सदस्य रुख र चारतारे झन्डा छोड्न इच्छुक छैनन्। तर दोस्रो तहका नेताहरू अलि असहज भए पनि तलका पुस्ताका नेताहरू सहजै एडजस्ट हुन सक्ने अवस्था छ।
केन्द्रीय सदस्यहरू सुजाता कोइराला, रामहरि खतिवडा, चन्द्र भण्डारी, सुनील शर्मा, दिनेश कोइराला लगायतले आयोगको निर्णय स्वीकारेर अघि बढ्न आह्वान गरेका छन्। खतिवडाले भने, “रुख र चारतारे झन्डा जहाँ छ त्यहीँ काँग्रेस हुन्छ। अब चुनावमा हामी सबैले एक भएको सन्देश दिनुपर्छ। परिवर्तनलाई स्विकार्नुपर्छ र नवनिर्वाचित सभापतिसहित सबैले पुरानो र नयाँ पुस्तालाई सम्मान गर्दै अगाडि बढ्नुपर्छ।”
पूर्वकेन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी विभाजन नभई नयाँ कार्यसमिति निर्वाचित भएको हुँदा त्यसलाई खुसीपूर्वक स्विकार्नुपर्ने बताइन्। दिनेश कोइरालाले पनि थापा नेतृत्वको कार्यसमितिलाई सम्मानका साथ स्विकार्नुपर्ने सुझाव दिएका छन्। नेता शेखर कोइरालाले आयोगको निर्णयलाई कानुनी उपचारबाहेक सडक आन्दोलनमा नलाग्ने पक्षमा सकारात्मक देखिएका छन्।
कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले असमझदारी न्यूनीकरण कार्य नवनिर्वाचित केन्द्रीय नेताहरूबाट हुनुपर्ने बताए।
सानेपामा देउवा पक्षको बैठकले आयोगको निर्णय संविधान, प्रचलित कानुन, स्थापित नजिर र पार्टी विधानको विपरीत ठहर गर्दै कानुनी उपचार खोज्ने निर्णय लिएको छ। बैठकपछि जारी निर्णयमा भनिएको छ, “निर्वाचन आयोगको दुराशयपूर्ण निर्णयको कडा विरोध गर्दै संवैधानिक एवं कानुनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दछ।”
काँग्रेसले १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्ने तयारी अघि बढाएको छ। सभापति गगन थापाको नेतृत्वमा संसदीय बोर्डले टिकट वितरण प्रक्रिया सुरु गरेको छ। देउवा पक्षलाई समेट्ने प्रयास भइरहेकाले थप सदस्य नियुक्ति नगरी सम्बन्धित क्षेत्रका नेतालाई परामर्शमा राखेर टिकट वितरण तयारी अघि बढाइएको छ।
प्रवक्ता चालिसेले भने, “काँग्रेसले आफ्ना मूल्य, मान्यता र सिद्धान्त विपरीत कुनै सम्झौता गर्ने छैन। जनचाहनाअनुरूप पार्टी अघि बढ्नेछ। अग्रजहरूले जस्तो लोकतन्त्र र जनअधिकारको रक्षा गर्नु भयो, त्यसरी नै अहिले पनि काँग्रेसले संविधानको रक्षा गर्दै नेतृत्व गर्नेछ।”
निर्वाचन आयोगको मान्यता हुँदाहुँदै पनि सानेपामा नयाँ कार्यसमितिको बैठक बस्न सकेको छैन। देउवा पक्षले पार्टी कार्यालय आफ्नो नियन्त्रणमा राखेका कारण बैठक बाहिर बसेको छ। सहमहामन्त्री प्रकाश रसाइलीले भवन मर्मतको कारण बैठक बस्न नसकेको बताए।
रसाइलीले भने, “अर्को समूह आवेश र उत्तेजनामा देखिएको छ। भवन निर्माण र मर्मत काम सकिएपछि हामी केन्द्रीय कार्यालयमा जान्छौँ। हामी एकता र मित्रता खोजिरहेका छौँ।” उनले पूर्वसभापति देउवाले गगन थापालाई केन्द्रीय कार्यालयको अध्यक्षको कुर्सीमा राखिदिने इच्छा रहेको बताए।
प्रतिक्रिया