रुख र चार तारा कता ? निर्वाचन आयोगको फैसलाले लेख्नेछ इतिहास !

विहीबार, ०१ माघ २०८२

काठमाडौं : नेपाली कांग्रेसको एकपक्षीय विशेष महाधिवेशनले पार्टीको आधिकारिकतामा नयाँ विवाद खडा गरेको छ।

गगनकुमार थापा र विश्वप्रकाश शर्मा समूहले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेसँगै आफ्नो पक्षलाई आधिकारिक ठहर गराउन खोजेका छन्, भने शेरबहादुर देउवा समूहले यसलाई मान्यता नदिँदै आगामी नियमित महाधिवेशनमात्र आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा पत्र पठाएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, “दुवै पक्षले पत्र पठाएका छन्। यसले आयोगलाई कानुनी र विधानगत समीक्षा गर्न बाध्य बनाएको छ।”

कांग्रेसको विधानको धारा १७ अनुसार नियमित महाधिवेशन प्रत्येक चार वर्षमा हुनुपर्ने व्यवस्था छ भने आवश्यक परेमा केन्द्रीय कार्यसमितिले वा ४० प्रतिशत सदस्यको मागमा विशेष महाधिवेशन बोलाउन सकिन्छ।

विशेष महाधिवेशनको उपस्थित प्रतिनिधि संख्या नै निर्णायक हुने देखिन्छ। यदि ५१ प्रतिशतभन्दा बढी प्रतिनिधि उपस्थित भए गगन–विश्व समूहको आधिकारिकता सुनिश्चित हुन्छ, अन्यथा देउवा समूहसँग आधिकारिकता रहने सम्भावना छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार, “बहुमत प्रतिनिधिको सहभागिता नै निर्णायक हुनेछ, त्यसपछि मात्र निर्वाचन आयोगले आधिकारिकता घोषणा गर्न सक्छ।”

यो विवादले २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा पनि प्रभाव पार्न सक्ने शंका गरिएको छ। समानुपातिकतर्फको मनोनयन भइसकेको भए पनि प्रत्यक्षतर्फको मनोनयनका लागि हस्ताक्षरकर्ता निर्धारण नहुँदा कांग्रेसको एक पक्ष चुनावबाट बाहिर पर्न सक्छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, कांग्रेसको भित्री विवादले केवल पार्टीको नेतृत्वलाई मात्र होइन, देशको निर्वाचन प्रक्रियामा पनि अनिश्चितता थपेको छ। यसबाट चुनावी रणनीति, गठबन्धन र मतदातामा प्रभाव पर्न सक्ने उल्लेख गरिएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार