नेतृत्व संकटले घेरिएको कांग्रेस : देउवा किन पछि हटे?

बुधबार, ३० पुस २०८२

काठमाडौँ : सहमतिका लागि मङ्गलवार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि काँग्रेस विभाजनको सङ्घारमा पुगेको छ ।

विशेष महाधिवेशन पक्षधरले राखेको नेतृत्व परिवर्तनको अडानमा सभापति शेरबहादुर देउवा तयार नभएपछि आपसी संवाद भाँडिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने गृहकार्यमा जुटिसकेका छन् । 

संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताहरू सहमति जुटाउन दुई दिनदेखि नै निरन्तर संवादमा थिए । विशेष महाधिवेशनलाई केन्द्रीय कार्यसमितिबाट स्वामित्व लिन र हलबाट पारित भएको नीति तथा पार्टी सुधारका प्रस्तावलाई कार्यान्वयनमा लैजान मङ्गलवार संस्थापन पक्ष तयार देखिएको थियो ।

नेतृत्व परिवर्तनका विषयमा समेत सहमति खोज्ने पहलका लागि विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका पछि धकेलिएको थियो । संस्थापन पक्षले मङ्गलवारका लागि बोलाएको केन्द्रीय कार्यसमिति पनि बुधवार बिहान ८ बजेका लागि सारिएको थियो ।

मङ्गलवारको वार्तामा संस्थापन पक्षबाट सहभागी नेताहरू बालकृष्ण खाँण र रमेश लेखकले विशेष महाधिवेशनको स्वामित्व स्वीकार गर्न र त्यसले पारित गरेका नीति तथा पार्टी सुधारका प्रस्ताव कार्यान्वयनमा समस्या नभएको बताएका थिए । ‘वैशाखमा १५ औँ महाधिवेशन हुँदै छ । तीन महिनाकै बीचमा नेतृत्व बदल्ने कुरा नगरौँ । यसले सभापतिको मान राख्दैन । उहाँ आफैँले म फेरि हुने होइन, छोड्ने हो भनिसक्नुभएको छ,’ वार्ताका क्रममा लेखकले भनेका थिए, ‘अरू विषयमा समझदारी गर्न सक्छौँ ।’

विशेष महाधिवेशन पक्षधर नेताहरूले नेतृत्व नै प्रमुख मुद्दा भएको उल्लेख गर्दै तीन वटा विकल्प अघि सारेका थिए– पहिलो, विशेष महाधिवेशनबाटै नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने, दोस्रो सभापतिले राजीनामा दिने र नेतृत्वमा मात्रै निर्वाचन गर्ने, तेस्रो संस्थापन पक्षले चाहेकै व्यक्तिसमेत हुने गरी अन्तरिम सभापति बनाउने ।

यी सबै विकल्पमा पनि संस्थापन तयार नभएपछि ‘हाइकमान्ड’ बनाउने विकल्प अघि सारिएको विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले बताए । उनका अनुसार सभापतिलाई ‘सेरेमोनियल’ भूमिकामा राखेर कार्यवाहक सभापति, महामन्त्रीद्वय र १४ औँ महाधिवेशनका मुख्य प्रतिस्पर्धी नेतासहितको ‘हाइकमान्ड’ मार्फत पार्टी सञ्चालन गर्ने विकल्प अघि सारिएको थियो ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण गर्ने संसदीय बोर्ड पनि सहमतिका आधारमा गठन गरिनुपर्ने बताएका थिए । नेतृत्वको विषयमा आफैँले निर्णय दिन नसकेपछि सभापति देउवासँग परामर्श गर्न भन्दै खाँण र लेखक वार्ताकै बीचमा साँझ ६ बजे बाहिरिएका थिए । त्यसपछि देउवासहित संस्थापनपक्षीय नेताहरूबीच परामर्श गरेर खाँण र लेखक पुनः वार्तामा आएनन् । उनीहरू उतैबाट घरतर्फ लागेका थिए । लेखक ‘अब महामन्त्रीहरूको तहमा कुरा भएर मिल्यो भने मात्र हो, हाम्रो तहमा कुरा नमिल्ने भयो’ भन्दै देउवा निवासबाट बाहिरिएका थिए ।

विशेष महाधिवेशन पक्षधर नेताहरू भने राति ९ बजेसम्म चक्रपथस्थित काँग्रेसका एक कार्यकर्ताको घरमा कुरेर बसेका थिए । दिनभरिको वार्ता पनि त्यही घरमा भएको थियो ।

९ बजेसम्म पनि संस्थापन पक्षका नेता नआएपछि विशेष महाधिवेशन पक्षधर नेताहरूले लेखकसँग टेलिफोनमा कुरा गरेका थिए । त्यस क्रममा उनले पछिल्लो नेतृत्वलाई हटाउने, चुनाव लड्न नपाउने र निर्वाचन आयोगमा कार्यवाहकको नाम र हस्ताक्षर पठाउने विषयमा सहमति हुन नसकिने जानकारी दिएका थिए ।

संस्थापन पक्षका एक नेताका अनुसार विशेष महाधिवेशन पक्षधरले आफूलाई अपमान गर्ने किसिमले प्रस्ताव ल्याएको भन्दै देउवाले असन्तुष्टि जनाएका थिए । ‘वार्ताको सुरुमा सभापति देउवाले यिनीहरूले टिकट खोजेका हुन्, ४० प्रतिशत टिकट मिलाउने गरी सहमति गर्नुहोस् भनेर पठाउनुभएछ । हामीले टिकट हाम्रो प्राथमिक होइन, भागबन्डाको उच्चारण पनि नगर्नुस् भन्यौँ,’ विशेष महाधिवेशन पक्षधर एक नेताले भने ।

बुधवार बिहानसम्म केही चमत्कार भयो भने पार्टी एकता अगाडि बढ्ने नत्र विशेष महाधिवेशनबाट नयाँ नेतृत्व छनोट हुने विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले बताए । ‘हामीले नेतृत्व नै परिवर्तन गरौँ भन्दा उहाँहरू (संस्थापन) मान्नुभएन । विकल्पहरू पनि प्रस्तुत गर्‍यौँ । त्यसपछि उहाँहरू सभापतिकहाँ जानुभयो, फर्कनुभएन,’ उनले भने ।

मङ्गलवारको वार्तामा विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज चालिसे र मधु आचार्य, शेखर कोइराला पक्षबाट मीनेन्द्र रिजाल र जीवन परियार सहभागी थिए । उनीहरूबिच वार्ता सफल नभएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय थापा र शर्माबिच छलफल हुने भनिएको थियो तर त्यो पनि हुन सकेन ।

सहमति नजुटेपछि विशेष महाधिवेशन पक्षधर नेताहरू क–कसलाई पदाधिकारी बनाउने, केन्द्रीय सदस्यका लागि सम्बन्धित ‘क्लस्टर’ को जिम्मा दिनेलगायतका गृहकार्यमा जुटिसकेको छ । उम्मेदवारी मनोनयनका लागि बुधवार बिहान ८ः१५ देखि ९ः१५ सम्म तोकिएको छ । सुरुमा भने मङ्गलवार अपराह्न २ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता गरी राति ९ बजे मतदान सुरु गर्ने गरी तालिका ल्याइएको थियो ।

संस्थापन पक्षले भने मङ्गलवार ११ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । संवाद चलिरहेका कारण बैठक औपचारिकताका लागि एकछिन बसेर बुधवारका लागि सारिएको थियो । सहमति जुटे त्यसलाई स्वामित्व लिने र नभए विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढाउने नेतालाई कारबाही गर्ने गरी बैठक बोलाइएको संस्थापन पक्षका एक नेताको भनाइ छ ।

नेतृत्वलाई निरन्तरता दिएर प्रतिनिधिसभा निर्वाचनमा जान नसकिने अडानमा विशेष महाधिवेशन पक्षधर नेता छन् । अर्कातर्फ संस्थापन पक्ष भने लोकतन्त्रको लडाइँमा लामो इतिहास बोकेको सभापतिलाई बीचमै हटाएर अपमान गर्न नहुने तर्क गरिरहेको छ । ‘सभापतिका हामी पनि शुभचिन्तक हौँ, दुस्मन होइनौँ । तीन महिनाअघि र पछिको बहिर्गमनमा के अन्तर हुन्छ भन्ने उहाँहरू (संस्थापन पक्ष) को कुरा छ । यसले व्यक्तिको जीवनमा खासै अन्तर नपर्ला । तर पार्टीको जीवनमा ठुलो अन्तर पर्छ । सिधै चुनावमा असर पर्छ । त्यसैले पार्टीको जीवनलाई बर्बाद गर्नु हुन्न भन्ने हाम्रो तर्क छ,’ नेता चालिसेले भने ।

सम्पूर्ण अधिकार कार्यवाहक सभापतिको नेतृत्वमा हुने वा हाइकमान्डलाई दिने र टिकट वितरणमा पनि कार्यवाहकले हस्ताक्षर गर्ने विषयमा सहमति जुटे काङ्ग्रेसभित्रको एकता कायम हुने चालिसेको भनाइ छ । ‘सभापतिले आफू चुनाव नलड्ने घोषणा गरेर सबै दृष्टिकोणबाट आलङ्कारिक भएर बस्नुपर्छ भन्ने हाम्रो कुरा हो,’ उनले मङ्गलवार साँझ भने, ‘संस्थापन पक्ष त्यसमा सहमत भइरहेको छैन । सहमति भएन भने विशेष महाधिवेशनको कोर्स अघि बढ्छ ।’

महामन्त्री गगन थापाले विशेष महाधिवेशनको हलले स्वीकार गर्ने सहमति मात्रै स्वीकार्य हुने बताएका छन् । ‘वार्तामा जे सहमति भयो, त्यसलाई हलले अनुमोदन गर्नुपर्छ । मैले गरे पनि, अर्का महामन्त्रीले गरे पनि हलले मान्ने सहमति मात्रै स्वीकार्य हुन्छ,’ मङ्गलवारको बन्दसत्र सकिएपछि थापाले सञ्चारकर्मीसँग भने, ‘सहमति भएन भने भोलि दिउँसो नै नयाँ केन्द्रीय कार्यसमिति

निर्वाचन गरेर विशेष महाधिवेशन सकिन्छ । यो केटाकेटी खेलेको होइन । यसबाट विधान संशोधन गरौँ, प्रतिवेदन पारित गरौँ । कुनै समझदारी भयो भने यसलाई स्वामित्व लिनेमा हुन्छ । त्यस ठाउँमा पुग्छ कि पुग्दैन भन्ने महत्त्वपूर्ण कुरा हो ।’

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै गत २९ असोजमा हस्ताक्षरसहित दिएको निवेदनलाई पार्टी नेतृत्वले बेवास्ता गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् । काँग्रेसको विधानमा ४० प्रतिशत प्रतिनिधिले माग गरे विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ । विशेष महाधिवेशनको निवेदन पर्नुअघि अघिल्लो दिन केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले सक्रिय राजनीतिमा नफर्कने भन्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसलगत्तै उपचारका लागि सिंगापुर गएका देउवा फर्केपछि भने राजनीतिक भेटवार्ता, चुनावको टिकट वितरणदेखि पार्टीको आन्तरिक राजनीतिसम्ममा आफैँ सक्रिय हुन थालेका थिए ।

संशोधित विधान पारित

विधान महाधिवेशनको बन्दसत्रले महामन्त्रीद्वयको प्रतिवेदन र संशोधित विधानको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । सबै तहका उम्मेदवार छनोट ‘प्राइमरी इलेक्सन’ बाट हुने व्यवस्था विधान संशोधनबाट सुनिश्चित गरिएको छ । उम्मेदवार छनोट अहिलेको पार्टीगत संरचनाबाट नभएर सम्बन्धित तह र क्षेत्रका क्रियाशील सदस्यबाट प्रत्यक्ष मतदान (प्राइमरी इलेक्सन) बाट छनोट गर्ने नयाँ व्यवस्था ल्याइएको हो ।

पार्टीमा आबद्धबाहेक बौद्धिक र व्यावसायिक क्षेत्रमा रहेर लामो समय योगदान गरेका व्यक्तिलाई समेत पार्टीमा प्रवेश गराउने (ल्याटरल इन्ट्री) र उम्मेदवार बनाउने नीति पास गरिएको छ । समानुपातिकमा एक व्यक्तिका लागि एक पटक मात्रै अवसर पाउने व्यवस्था विधानमै राखिएको छ । पार्टीबाट उम्मेदवार बनाउँदा एक व्यक्तिलाई एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र प्रत्यक्ष निर्वाचन प्रणालीबाट चार पटक सांसदको सीमा तोकिएको छ ।

पार्टी सभापतिदेखि अन्य पदाधिकारी र सदस्य अब वडाबाटै अधिवेशन प्रतिनिधि भएर आउनुपर्ने व्यवस्था राखिएको छ । यसअघि केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य स्वतः अधिवेशन प्रतिनिधि हुने गर्थे ।

पार्टीको प्रत्येक कार्यसमितिमा ३० वर्षमुनिका १० र ३० वर्ष पूरा भई ४० वर्ष ननाघेका १० गरी कुल २० प्रतिशतको प्रतिनिधित्व सुनिश्चितता गर्ने व्यवस्था पनि विधानमै गरिएको छ ।

बन्दसत्रको समापन समारोहमा महामन्त्री थापाले विशेष महाधिवेशन गरेर आफूहरूले विद्रोह गरेको बताए । पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैँमा एउटा विद्रोह भएको उनको भनाइ थियो । ‘यो विद्रोह हो । प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो । मौनता साध्नु भनेको मृत्युलाई अँगाल्नुजस्तै हो,’ उनले भने ।

आफूलाई पद चाहिएर विशेष महाधिवेशन आयोजना नगरेको थापाको भनाइ छ । ‘हामी केही बन्नलाई आतुर भएर प्रश्न गरेको पनि होइन, आयोजना गरेको पनि होइन,’ उनले भने । काङ्ग्रेसभित्र गिरोहका गुटहरू बनेका कारण काँग्रेस बदल्न जरुरी भएको उनले उल्लेख गरे । ‘अहिलेको आवश्यकता नै पार्टी समानताका लागि, देशका लागि र बाहिर गाउँमा बसेका आम मानिसका लागि हो,’ उनले भने ।

महामन्त्री थापाले बाहिरको हल्लाका पछि आफू नलागेको उल्लेख गर्दै प्रतिनिधिहरूलाई पनि नलाग्न आग्रह गरे । उनले भने, ‘अहिले बाहिर अनेक हल्ला चलाइएको छ । कोही टिकटका लागि, कोही भागबन्डाका लागि भनेका छन् तर म हल्लाको पछि लागेको छैन । तपाईँहरू पनि नलाग्नुस् । हलले गरेको अनुमोदन मात्रै हामी मान्छौँ, बाहिरको होइन । विशेष महाधिवेशनबाट विश्वप्रकाश र गगनलाई सभापति चाहिएको छैन, नीति र नेतृत्व परिवर्तन चाहिएको छ ।’ थापाले वार्ता सहमतिमा नटुङ्गिए हलले नयाँ नेतृत्व चयन गर्ने पनि बताए ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्व बनाउँदै गर्दा पार्टी विभाजन नहुने, झन् मजबुत बन्ने तर्क गरे । ‘काँग्रेसलाई बदल्नु छ, नवीन बनाउनु छ । हामीले बनाएको नीति तथा विधानमार्फत ऊर्जा बोकेर अघि बढ्नुपर्छ,’ उनले भने, ‘बन्दसत्रले पारित गरेको दस्ताबेजले नयाँ पुस्ताको माग, नागरिकको अपेक्षा तथा आवश्यकतालाई समेटेको छ । विगतका कमजोरीलाई सुधार गर्दै अझ राम्रो गर्ने प्रतिबद्धता नै यस दस्ताबेजको मूल भावना हो । यही भावना सुदृढ गर्दै हामी अघि बढ्छौँ ।’

आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार