कांग्रेसमा विभाजनको तनाव: देउवा ‘पर्ख–हेर’ रणनीतिमा, कोइरालाको भूमिका विवादास्पद

मंगलबार, २९ पुस २०८२

काठमाडौँ : नेपाली काँग्रेसमा पार्टी एकता बनाम विभाजनको तनाव उच्च सीमामा पुगेको छ। सभापति शेरबहादुर देउवा सोमबार दिनभर आफ्नो निवासमै रहेर नेताहरूको राय लिएर पार्टीलाई एकताबद्ध बनाउने प्रयासमा रहे। दिनभरको भेटघाटपछि उनले दिउँसो औपचारिक रूपमा नेताहरूलाई बोलाएर छलफल गरे, जसमा नेताहरूले पार्टी फुट रोक्न सक्रिय प्रयास भइरहेको प्रतिक्रिया दिए।

देउवासँगको भेटपछि काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले भने, “मिलाउने प्रयास हुँदै छ,” भने अर्का नेता वीरबहादुर बलायरले भने, “सभापति पर्ख र हेरको अवस्थामा हुनुहुन्छ।” यही ‘पर्ख र हेर’ रणनीतिमा देउवाले मङ्गलवार बिहान ११ बजे केन्द्रीय कार्यसमितिको बैठक राखेका छन्। बैठकमा विशेष महाधिवेशनपछिको अवस्थाबारे छलफल हुनेछ।

विशेष महाधिवेशन पक्षधरहरूले ६३ प्रतिशत प्रतिनिधि हस्ताक्षर भइसकेको दाबी गर्दै नेतृत्व र नीति चयनको प्रक्रिया अघि बढाउने तयारी गरेका छन्। संस्थापन पक्ष भने बहुमत नभएको र अवैधानिक भएको दाबी गर्दै अलमलमा परेको छ।

नेता गुरु बरालका अनुसार, “सभापतिज्यु पार्टी फुट्न नदिने प्रयासमा हुनुहुन्छ र यसमा विश्वस्त देखिनुहुन्छ।” तर, विशेष महाधिवेशन पक्षले आइतबार उद्घाटन र सोमबार बन्दसत्र सम्पन्न गरेर मंगलबारदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी गरिसकेको छ।

सामाजिक सञ्जालमा पनि बहस चर्किएको छ। सन्तोष पौडेलले व्यङ्ग्य गर्दै लेखेका छन्, “सभापति बन्ने बेलामा बुद्धि पुगेन,” भने सन्तोष वशिष्ठले भने, “डा. शेखर कोइरालाले गरेको जीवनको सबैभन्दा ठुलो गलत निर्णय।” देउवासँगको भेटपछि कोइरालाले पार्टी फुट्न नदिने आश्वासन दिएका भए पनि ठोस कदम भने प्रस्तुत गरेका छैनन्।

डा. कोइराला इतर पक्षको नेताका रूपमा स्थापित भए पनि विशेष महाधिवेशन प्रक्रियामा संस्थापन पक्षसँग संवादमै सीमित देखिएका छन्। यसले काँग्रेस भित्र नेतृत्व, रणनीति र पार्टी एकताको बहसलाई अझ गहिरो बनाएको छ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार