कांग्रेस विशेष महाधिवेशन वैधानिक कि अवैधानिक? संस्थापन र महामन्त्रीद्वय आमनेसामने

आइतबार, २७ पुस २०८२

काठमाडौँ : नेपाली काँग्रेसमा संस्थापन पक्षको असहमतिबीच विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज देखि विशेष महाधिवेशन सुरु हुँदैछ। पुस २७ र २८ गते सञ्चालन हुने विशेष महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे काठमाडौँस्थित भृकुटीमण्डपमा हुने तय गरिएको छ।

उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ। मञ्च अगाडि छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशन मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए। उनका अनुसार मञ्च वरिपरि काँग्रेसका झण्डा, गेट, ब्यानर तथा प्रचार सामग्री राखी स्थललाई आकर्षक ढङ्गले सजाइएको छ।

उद्घाटनका दिन काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्‍यालीलाई व्यवस्थित रूपमा कार्यक्रममा सहभागी गराउने तयारी गरिएको पुडासैनीले बताए। विशेष महाधिवेशनको सभापतित्व काँग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ भने अन्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण नगरिएको आयोजक समितिले जनाएको छ।

मुलुकभरबाट विशेष महाधिवेशनमा सहभागी हुन आउने अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेका छन् भने केही प्रतिनिधि आउने क्रम जारी रहेको जनाइएको छ। आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६ सय प्रतिनिधिका लागि आवासको व्यवस्था गरिएको छ। थप दुई–दुई सय प्रतिनिधिका लागि आवश्यक परे तत्काल व्यवस्थापन हुने गरी तयारी राखिएको छ।

महाधिवेशन प्रतिनिधिहरूका लागि आयोजनास्थलमै खाना र नास्ताको व्यवस्था गरिएको छ। प्रतिनिधिहरूले एक हजार रुपैयाँ शुल्क बुझाएपछि झोलासहित खानाको कुपन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ। उद्घाटन सत्रपछि बन्दसत्र भृकुटीमण्डपको सभाहलमा हुनेछ। बन्दसत्रमा प्रस्तुत हुने नीतिगत दस्तावेजबारे भने हालसम्म धेरै विवरण सार्वजनिक गरिएको छैन।

उता, काँग्रेस संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउँदै आएको छ। संस्थापन पक्षका अनुसार यसअघि नै १५औँ नियमित महाधिवेशनको मिति तोकिएकाले विशेष महाधिवेशनको माग स्वतः समाप्त भइसकेको छ। काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिले १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरिसकेको जनाएको छ।

संस्थापन पक्षले नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम सम्पन्न हुन नसकेको र फागुन २१ गते तोकिएको आमनिर्वाचनलाई मध्यनजर गर्दै निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुने तर्क गर्दै आएको छ। साथै, पार्टीको विधानअनुसार अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारेको छ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत व्यक्तिगत रूपमा बोलाइने अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने गतिविधि पार्टी विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन नेताकार्यकर्तालाई आग्रह गरेका छन्।

यसबीच, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र महाधिवेशन बोलाउनैपर्ने कानुनी बाध्यता रहेको दाबी गरेका छन्। उनीहरूले संयुक्त विज्ञप्तिमार्फत काँग्रेस विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन अनिवार्य भएको उल्लेख गर्दै प्रतिनिधिहरूलाई सहभागी हुन आह्वान गरेका छन्।

उनका अनुसार बदलिँदो राजनीतिक परिस्थितिमा काँग्रेसलाई सुदृढ बनाउन, जनभावनाअनुसार नीति निर्माण गर्न र नयाँ ऊर्जासहित पार्टी पुनर्निर्माणका लागि विशेष निर्णय अपरिहार्य छ। जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न आफूहरू प्रतिबद्ध रहेको महामन्त्रीद्वयको भनाइ छ।

गत असोज २९ गते काँग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिएको थियो। भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’पछि काङ्ग्रेसभित्र नेतृत्व परिवर्तनको बहस चर्किँदै गएको सन्दर्भमा आज सुरु हुने विशेष महाधिवेशनलाई पार्टीभित्रको शक्ति सन्तुलनको निर्णायक मोडका रूपमा हेरिएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार