सुदूरपश्चिम काँग्रेसका ६ जिल्ला सभापतिहरूले भने: विशेष महाधिवेशन ‘विधान विपरीत, सहभागी नहुन अपिल’

शुक्रबार, २५ पुस २०८२

काठमाडौं: सुदूरपश्चिम क्षेत्रका नेपाली काँग्रेसका छ जिल्ला सभापतिहरूले विशेष महाधिवेशनविरुद्ध संयुक्त रूपमा आवाज उठाएका छन्।

बझाङका खडक बहादुर बोहरा, डोटीका नरेन्द्र बहादुर सिंह, डडेलधुराका भीम साउँद, अछामका पुष्पबहादुर शाह, कञ्चनपुरका पदम बोगटी र कैलालीका नारायणदत्त भट्टले बिहीबार संयुक्त विज्ञप्ति निकाल्दै आगामी पुस २७ र २८ गते भृकुटीमण्डपमा हुन लागेको विशेष महाधिवेशनमा सहभागी नहुन पार्टीका सबै तहका सदस्यहरूलाई आह्वान गरेका छन्।

विज्ञप्तिमा भनिएको छ कि पार्टीको विधानअनुसार कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत पदाधिकारी वा सदस्यसँग नभई केवल केन्द्रीय कार्यसमितिसँग मात्र रहेको छ। त्यसैले, व्यक्तिगत पहलमा बोलाइएको विशेष महाधिवेशन ‘विधान विपरीत’ हुने भएकाले त्यसमा संलग्न नहुन आग्रह गरिएको छ।

सुदूरपश्चिमका सभापतिहरूले नियमित महाधिवेशन गर्नु उपयुक्त हुने बताउँदै आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन र माघ ११ मा हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा एकताबद्ध भएर लाग्न सबैमा आह्वान पनि गरेका छन्।

यता, विशेष महाधिवेशनका पक्षधरले भने प्रतिनिधिहरूको मागअनुसार महाधिवेशन आयोजना गर्न लागिएको भन्दै यसको विधानसम्मत हुने दाबी गरेका छन्। यस विषयमा काङ्ग्रेसभित्रको विवाद अझै टुङ्गो लाग्न बाँकी छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार