निम्तो पनि अनौपचारिक, कार्यक्रम पनि तय छैन : कसरी स्वीकृत भयो मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण ?

शुक्रबार, २५ पुस २०८२

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता कार्यक्रमको मिति र मोडालिटी नै तय नभइसकेको कार्यक्रममा सहभागी हुने भन्दै अमेरिका जान लागेको खुलेको छ।

विवादित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाको निम्तोमा मन्त्री गुप्ता अमेरिका जान लागेको भनिए पनि उनी सहभागी हुने भनिएको कार्यक्रम अहिलेसम्म तय नभएको कुरा आयोजकले नै स्वीकार गरेको छ।

विवादित आयोजकको स्वीकारोक्ति : मिति र तालिका तय छैन

मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृति लिएर अमेरिका उड्न लागेका मन्त्री गुप्ता ‘रोल अफ एनआरएनए यूथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेन–जी रिभोल्युसन’ विषयक कार्यक्रममा सहभागी हुने आयोजकको दाबी छ। तर अमेरिकाबाट बिहीबार जारी विज्ञप्तिमा एनआरएनए अमेरिका (उप्रीति पक्ष) का प्रवक्ता द्रोण गौतमले कार्यक्रम डालस, टेक्सासमा गर्ने भनिए पनि विस्तृत विवरण र सेड्युल तय नभएको स्पष्ट पारेका छन्।

विज्ञप्तिमा मन्त्रीको सम्पूर्ण खर्च आयोजकले व्यहोर्ने उल्लेख गरिएको छ। ‘कार्यक्रममा सहभागी हुन लाग्ने सम्पूर्ण खर्च आयोजक संस्थाले नै व्यहोर्ने निर्णय गरिएको छ।

यसबाट नेपाल सरकारलाई कुनै पनि आर्थिक भार पर्ने छैन। माननीय मन्त्रीज्यूको कार्यतालिकाअनुसार टेक्सासको डालसमा आयोजना गरिने भनिएको कार्यक्रमको विस्तृत विवरण र सेड्युल अन्तिम भएपछि सार्वजनिक गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ। तर विज्ञप्तिमा कार्यक्रम कहिले हुने भन्ने विषय कतै उल्लेख छैन। यसबीच मन्त्री गुप्ताले भने आगामी ३ माघमा आयोजना हुने कार्यक्रममा सहभागी हुने भन्दै मन्त्रिपरिषद्को सोमबारको बैठकबाट भ्रमण स्वीकृति गराएका छन्।

नेपाल सरकार, अमेरिकास्थित नेपाली दूतावास वा अमेरिकी सरकारको कुनै पनि आधिकारिक अभिलेखमा उक्त कार्यक्रमको विवरण देखिँदैन। विवाद बढेपछि मन्त्री गुप्ताले आयोजकमार्फत विज्ञप्ति जारी गराएर कमजोरी ढाकछोप गर्न खोजेको आरोप लागेको छ।

एनआरएनए अमेरिका दुई भागमा विभाजित

एनआरएनए अमेरिका आन्तरिक विवादपछि दुई समितिमा विभाजित छ।

एक पक्षको नेतृत्व अर्जुन बन्जाडेले गरेका छन् भने अर्को पक्षको नेतृत्व विकास उप्रेतीले गरिरहेका छन्। उप्रेती नेतृत्वको समूहका अध्यक्षसहित अधिकांश पदाधिकारी टेक्सासमै बसोबास गर्छन्। मन्त्री गुप्ता सहभागी हुने भनिएको तर मिति नै तय नभएको कार्यक्रम पनि टेक्सासको डालसमा गर्ने भनिएको छ।

उप्रेती पक्षका एक पदाधिकारीका अनुसार कार्यक्रमबारे प्रारम्भिक छलफल मात्रै भएको र मन्त्रीको समयअनुसार मिति तय गर्ने सहमति भएको हो। उनका अनुसार अहिलेसम्म कार्यक्रमको निश्चित मिति तोकिएको छैन।

नेपाल सरकार, नेपाली दूतावास वा अमेरिकी सरकारी अभिलेखमै नदेखिएको आयोजक देखाएर मन्त्रीको हैसियतमा मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृति गराउनु पदीय दुरुपयोग भएको भन्दै चौतर्फी विरोध भइरहेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले समेत यस विषयमा ध्यानाकर्षण भएको बताएकी छन्।

सदाचार नीतिविपरीत जबरजस्ती अमेरिका भ्रमण

अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले स्वीकृत गराएको अमेरिका भ्रमण सरकारको सदाचार नीतिविपरीत भएको आरोप लागेको छ।

गत ५ असोजमा मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरेको सदाचार नीतिमा राष्ट्रका लागि अत्यावश्यक बाहेक कुनै पनि विदेश भ्रमण नगर्ने उल्लेख छ।

आयोजक र कार्यक्रमको अस्तित्व नै विवादमा रहेको अवस्थामा यो भ्रमण कसरी अत्यावश्यक भयो ? भन्ने प्रश्नको स्पष्ट जवाफ नआएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारी बताउँछन्।

‘सम्बन्धित देशको सरकार वा आधिकारिक निकायबाट आएको औपचारिक निम्तोबिना अनौपचारिक प्रकृतिको कार्यक्रममा मन्त्रीको हैसियतमा सहभागी हुनु गैरकानुनी मात्र होइन, नैतिक रूपमा पनि गलत हो,’ एक कर्मचारीले बताए।

भ्रमणबारे गृहमन्त्रीसम्म ध्यानाकर्षण

मन्त्री गुप्ता सहभागी हुने भनिएको कार्यक्रममा नेपालबाट अन्य व्यक्तिहरू पनि सहभागी हुन सक्ने आशङ्कामा अध्यागमन विभाग र गृह मन्त्रालयले चासो देखाएका छन्।

अध्यागमन अधिकारीहरूले सम्भावित भ्रमण र त्यसमा सहभागी हुन सक्ने व्यक्तिहरूको विषयमा गृहमन्त्री ओमप्रकाश अर्यालको ध्यानाकर्षण गराएका छन्।

‘मन्त्रीको मात्र भ्रमण स्वीकृति भए पनि कार्यक्रममा सहभागी हुने नाममा अन्य व्यक्ति पनि जान सक्ने सम्भावनातर्फ सजग हुन सम्बन्धित निकायमा रिपोर्टिङ गरेका छौँ,’ अध्यागमनका एक उच्च अधिकारीले बिहीबार बताएका छन्।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार