स्पेनको सपना देखाएर ठगीको साम्राज्य: कपिलवस्तुका सञ्जीव खरेलको जालोमा यसरी परे मोरङका दर्जनौँ परिवार

नक्कली भिसा बनायो,“भिसा आयो भन्दै डेढ लाखका लुगा किन्न लगायो,” चन्द्रमा भन्छिन्, “अहिले बुझ्दा पो ठगिएका रहेछौँ।”

सोमबार, २४ कार्तिक २०८२

मोरङ : सुन्दरहरैंचाकी ५७ वर्षीया निलादेवी खनाललाई यतिखेर निन्द्रा लाग्दैन। भर्खरै सकिएको दशैं–तिहारमा पनि उनको मनमा उत्सवको कुनै रौनक थिएन । छोरी र ज्वाइँलाई “स्पेन पठाइदिन्छु” भन्ने आश्वासनमा १६ लाख रुपैयाँ डुबाएर उनी अहिले ऋणको भारीले थिचिएकी छन्। 

“सावा त जसोतसो तिरौला, ब्याजले त डाँडा काट्ने रहेछ, घर न घाटको भयझैँ भयो।” भन्ने बाक्य बोल्दा उनका आँखा रसाउँछन् ।

खनाल परिवारले कपिलवस्तु बुद्धभूमिका सञ्जीव खरेल नामका व्यक्तिलाई पैसा दिएका थिए। छिमेकीको नातिनीको सिफारिसमा सुरुआतमा विश्वास गरे। तर त्यो विश्वास नै उनीहरूको सर्वनाशको कारण बन्यो।

खरेलले छोरी चन्द्रमा खनाल र ज्वाइँ राजकुमार कार्कीलाई स्पेन पठाउने नाममा दिल्ली र काठमाडौँमा १७ दिनसम्म राखे।

नक्कली भिसा बनायो, लुगा किन्न लगायो, र अन्ततः सबै सपना भताभुङ्ग बनायो। “भिसा आयो भन्दै डेढ लाखका लुगा किन्न लगायो,” छोरी चन्द्रमा भन्छिन्, “अहिले बुझ्दा पो ठगिएका रहेछौँ।”

तर खरेलको ठगीको जाल यत्तिमै सीमित थिएन। बेलबारी–४ का ४८ वर्षीय ताराप्रसाद भट्टराईले पनि सोही सपना देखे। मेहनत गरेर १० वटा गाई पालेका उनी खरेलको मीठा वचनमा फसे। “स्पेनमा महिनामा दुई लाखभन्दा बढी कमाइ हुन्छ” भन्ने लोभले उनले गाई बेचेर ६ लाख रुपैयाँ खरेललाई बुझाए।

भट्टराईले दुई वर्ष अघि बेलबारी–भोजपुर रुटमा चलाउँदै आएको बुलेरो बेचेर पशुपालन थालेका थिए। तर गाई बेचेर स्पेन जाने सपना देख्दा सबकुरा उल्टो भयो। “घरमा कसरी मुख देखाउने?” भन्दै उनले गुनासो पोखे, “गाई पनि गयो, पैसा पनि गयो।”

खरेलले उनलाई पनि बार्सिलोना पछाडि देखिने फेक पृष्ठभूमि राखेर भिडियो अन्तर्वार्ता लिने नाटक गरे। भिसा आयो भन्दै उनीसँग थप पैसा माग्दै गए। अन्ततः न भिसा आयो, न खरेल भेटिए। 

सुन्दरहरैंचाकी शशिता दनुवार भर्खरै कतारबाट छुट्टीमा आएकी थिइन्। त्यहाँ उनी होटेलमा बारिस्ता काम गर्थिन्—महिनाको झन्डै १ लाख २० हजार तलबमा। छिमेकीहरू स्पेन जाँदैछन् भन्ने थाहा पाएपछि उनको मन पनि लोभियो। “२ लाख ६० हजार कमाइ हुन्छ” भन्ने कुरा सुन्दा उनले आफैँ पनि त्यही बाटो रोजिन्।

शशिताले सञ्जीव खरेललाई पटक–पटक गरेर ८ लाख रुपैयाँ बुझाइन्। कतारमा दुःख गरेर कमाएको नपुगेर, आफूसँग भएका सुनका गहना समेत बेचिन्।

खरेलले उनलाई दिल्ली र काठमाडौँमा झुल्याउँदै १७ दिन र ११ दिन राखे। “दशैंको अघिल्लो दिन फोन गरेर भिसा आयो भनेपछि घरमा टिका नै नलगाई काठमाडौँ पुगेँ,” उनी सम्झिन्छिन्, “तर ११ दिन बित्दा पनि नउडिई घर फर्कनुपर्‍यो।” अब न कतार फर्किने अवस्था छ, न हातमा पासपोर्ट नै बाँकी।

“लोभले लाभ सोचेँ, अहिले विलाप मात्रै बाँकी छ,” शशिता भन्छिन्। खरेलको ठगी केवल यी केही पात्रहरूसम्म सीमित छैन। शुन्दरहरैचा–९ का गोविन्द दहाल पनि यस वर्षको टिकाको भोलिपल्ट स्पेन उड्ने ठानेर घरबाट उत्साहित हुँदै बिदाबारी भएका थिए।

ग्रिल व्यवसाय गर्दै आएका दाहालको सो व्यवसाय पनि राम्रैसँग चलेको थियो। तर अचानक खरेलले भिसा आएको बताएपछि उनले सो व्यवसाय समेत सस्तोमा बिक्री गरेका थिए।

नवमीको दिन परिवारसँग अन्तिम भेटमा एकातिर स्पेनको चम्किलो भविष्यको सपना, अर्कातिर परिवारबाटको छुट्टिँदाको पीडा—दुवै भावनाले उनका आँखामा आँसु ल्याएका थिए।

भोलिपल्टै फ्लाइट हुने भन्दै उनी काठमाडौँ पुगे। नयाँ जीवन सुरु गर्ने उमङ्गमा उनले ड्राइभरको कामका लागि स्पेन जान तयारी गर्दै एक लाख रुपैयाँभन्दा बढीका लुगा र आवश्यक सामग्री किनेका थिए। तर, उत्साहको त्यो यात्रा ठगीको भुमरीमा पर्‍यो। भिसा आउँछ, विमान चढिन्छ भन्ने विश्वास बोकेर हिँडेका गोविन्दलाई कपिलवस्तुका सञ्जीव खरेलले उडाउन त सकेनन्, बरु उनलाई झूटको जालमा फसाए।

९ लाख रुपैयाँभन्दा बढी खर्चिसकेर पनि अब उनी न स्पेन पुगे, न सपना पूरा भयो। परिवारको आशा र आफ्नो विश्वास दुवै चकनाचुर भएको अवस्थामा उनी अहिले निन्याउरो अनुहारसहित घर फर्किएका छन् — सपना त स्पेनको थियो, तर गन्तव्य ठगीको बन्यो।

मोरङकै किरण राई, सज्जाद आलमलगायत एक दर्जनभन्दा बढी व्यक्ति पनि यस्तै सपनाको जालोमा फसेका छन्।  धेरैले आफ्नो सानोतिनो व्यवसाय, गाईबस्तु, र सिप गुमाएर ऋणको दलदलमा डुबेका छन्।

 एकजना पीडितले भने,“खरेलले भिसा झरिसक्यो भनेर काठमाडौँमा बोलाएर लाखौँको किनमेल गरायो, अन्तमा न भिसा न स्पेन।” त्यसपछि उनीहरूको यात्रा पीडाको बन्यो—कसैको गाई गोरु बेचियो, कसैको सिप माटियो, कसैको परिश्रम र अश्रु बग्यो। 

खरेलले रोजगारीका लागि लान्छु भन्दै देशका विभिन्न स्थानबाट सर्वसाधारणबाट पैसा उठाएर ठगी गर्दै आएको पीडितहरूले बताएका छन्।

मोरङका सर्वसाधारणलाई ठगी गर्ने क्रममा उनले कहिले आफ्नै व्यक्तिगत बैङ्क खातामा र कहिले अरूको खातामा पैसा हाल्न लगाउने गरेका थिए। ती पीडितहरूले अहिलेसम्म खरेललाई देखेका छैनन्।

वाट्सएप, भाइबर, टेलिग्राम र फेसबुक मेसेन्जरमार्फत कुराकानी गर्दै आएका खरेलले भारतमा समेत सञ्जीव खरेल नाममा आधार कार्ड निकालेका छन्।

अहिले केही समय यता पीडितहरूको सम्पर्कमा नरहेको खरेलप्रति पीडितहरूले कानुनी परामर्श लिएर वैदेशिक रोजगार विभागमा मुद्दा हाल्ने तयारी थालेका छन्।

पैसा जे गर्दा उठ्छ, त्यही बाटोबाट कानुनी उपचार खोज्न उनीहरू लागिपरेका छन्। “हामी त डुबिहाल्यौँ, अब अरू यसरी नफसुन्” भन्दै पीडित राजकुमार कार्कीले बताए।

निलादेवी खनालको कुरा सम्झनाजस्तै लाग्छ “ब्याजले त डाँडा काट्ने भयो,” उनले भनिन्, “अब सपना होइन, न्याय चाहिएको छ।” अहिलेसम्म खरेल पक्राउ परेका छैनन्।

उनको घर कपिलवस्तुमा भएको थाहा भए पनि उनी फरार छन्। “हामीले खोज्दै गयौँ, भेटिएनौँ,” पीडितहरूले बताए। श्रम विभाग र वैदेशिक रोजगार विभागले पनि ठगीका घटनामा ध्यान नदिँदा यस्ता दलालहरू निडर हुँदै गएका छन्।

pradeskhabar.com - 2025-11-10T055738.741

कानुनी प्रक्रिया झन्झटिलो भएकाले धेरै पीडितहरू उजुरी दिन हिचकिचाउँछन्। नेपालमा विदेशी रोजगारको सपना बेच्नेहरूको बजार कहिल्यै सुस्ताएको छैन। कतिपयले ठगिलाई व्यवसाय बनाएका छन्। बेरोजगारी र विदेश मोहकै कारण सयौं परिवार ठगिन बाध्य छन्।

(खरेललाई पीडितहरूले विभिन्न माध्यमबाट बुझाएका पैसाको प्रमाण हामी सँग सुरक्षित रहेको छ ।)

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार