इटहरी : तरहरा प्रहरी चौकीमा पहिलो पटक इन्चार्जको जिम्मेवारी सम्हालेर आएकी प्रहरी नायब निरीक्षक चम्पा भुजेलले समाजमा शान्ति, अमन–चयन र भाइचारा कायम गर्न निरन्तर रूपमा खटिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
तरहरा प्रहरी चौकी स्थापना भएयता पहिलोपटक इन्चार्जका रूपमा हाजिर भएकी भुजेलले आज आयोजित परिचयात्मक कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन्। पछिल्लो समय तरहरा क्षेत्रमा लागुऔषध दुर्व्यसन बढ्दै गएको उल्लेख गर्दै उनले त्यसको पूर्ण नियन्त्रणका लागि कठोर अभियानको सुरुआत गर्ने दाबी गरिन्।
समाजमा शान्ति र सद्भाव कायम गर्न विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिइन्। टोल–टोलमा घरेलु हिंसाविरुद्ध सचेतना कार्यक्रम, सवारी दुर्घटना न्यूनीकरणका लागि अभियानलगायतका कार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने भुजेलले बताइन्।
कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष मणिराम श्रेष्ठले शान्ति–सुरक्षा कायम गर्न प्रहरीलाई समुदायको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले वडाले जस्तोसुकै अवस्थामा पनि प्रहरीलाई साथ दिने स्पष्ट पारे।
परिचयात्मक कार्यक्रममा बजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर गिरी, जिल्ला समन्वय समितिकी सदस्य कुमारी विश्वकर्मा, कमला खड्का, बिना भुजेल, हासपोसा सामुदायिक वनका अध्यक्ष महेन्द्र गिरी तथा विभिन्न राजनीतिक दल र सङ्घ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। वक्ताहरूले वडा नम्बर २० लाई शान्ति–सुरक्षायुक्त क्षेत्र बनाउन सबैको सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए।
प्रतिक्रिया