इलाम : सडक डिभिजन इलामले तोकिएको समयमा निर्माण कार्य सम्पन्न नगर्ने निर्माण व्यवसायी कम्पनीहरूलाई १५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, इटहरी मातहतको कार्यालयले काम नगर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।
डिभिजन कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सडक तथा पुल निर्माण आयोजनामा तोकिएको समयसीमाभित्र काम नगरेका ठेकेदार कम्पनीहरूलाई कारण देखाउन आग्रह गरेको हो। सडक डिभिजन कार्यालयका अनुसार, यी आयोजनाका लागि ठेक्का सम्झौता भएर पनि काममा ढिलाइ भएकाले प्राविधिक तथा प्रशासनिक ढिलाइबारे स्पष्टिकरण मागिएको हो।
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले तोेकिएको समयसीमा नमान्ने कम्पनीहरूका विरुद्ध अब कडा कदम चाल्न आवश्यक रहेकाले पहिला स्पस्टिकरण सोधिएको जानकारी दिए । समयमा काम सम्पन्न नगर्ने ठेकेदारहरूलाई कालोसूचीमा राख्नेसम्मको प्रक्रिया अघि बढाइने उनको चेतावनी छ।
सूचनामा १५ दिनभित्र स्पष्टीकरण पेश नगर्ने ठेकेदारहरूलाई सम्बन्धित कानूनी व्यवस्थाअनुसार कारबाही गरिने उल्लेख छ ।
उल्लेखित आयोजनाहरू:-
१ सुखानी खोला पुल (बुधबुधुखानी–लोदिया–छायामे सडकखण्ड),
२ मैखोला मोटरेबल प्रिस्ट्रेस्ड कङ्क्रिट पुल (ऐकलेबार–दुधाङ सडक),
३ सानो माइ–२ आरसीसी पुल (इलाम–मैपोखरी–सन्दाकपुर सडक),
४ मेची राजमार्ग सुधार तथा मर्मत (चिहानेडाँडा–फिक्कल खण्ड),
५ फेमे खोलाको पुल मर्मत (प्राङबुङ–तिन्सिमाना–फलोट सडक),
६ केचना–कञ्चनजङ्घा सडक स्तरोन्नति (मेची कोरिडोर),
८ भालुखोप–लक्ष्मिपुर–ठक्ले सडक सुधार,
९ केचना–कञ्चनजङ्घा सडक,
१० नेपल्टार–मंगलबारे सडक मर्मत,
११ फिक्कल–पसुपतिनगर सडक आवधिक मर्मत,
१२ राँके–फिदिम सडक (मेची राजमार्ग) मर्मत, र
१३ मेची राजमार्ग (गोफे–टार खण्ड) मर्मत लगायतका आयोजना परेका छन्।
प्रतिक्रिया