सुनसरी : सुनसरीको बराहक्षेत्रमा शनिवार बिहानै एक व्यक्तिले धारिलो हतियार प्रहार गरेका छन्।
बराहक्षेत्र नगरपालिका–९ कौवा खोचमा बिहान ४ बजे सुतिरहेको अवस्थामा ४० वर्षीय विकाश राईलाई सोही ठाउका २२ वर्षीय विकाश तामाङ (चेङ्बा) ले खुकुरी प्रहार गरेका हुन्।
तामाङले हतियार प्रहार गर्दा राईको बायाँ हातका तीन औँला, टाउको र गर्दनको पछाडि गहिरो चोट लागेको बताइएको छ। घाइते राईलाई तत्काल बिराट नर्सिङ होम, विराटनगर लगी उपचार सुरु गरिएको छ।
स्थानीयले बिहान ७स्४० बजे प्रहरी चौकी प्रकाशपुरलाई जानकारी गराएपछि प्रहरी टोली कृष्ण आचार्यको नेतृत्वमा घटनास्थलमा पुगेको थियो।
प्रहरीले घटनामा संलग्न आरोपी हाल फरार रहेको जानकारी दिएको छ भने खोजी कार्य तीव्र रूपमा जारी छ। घटना प्रहरी चौकी प्रकाशपुरबाट करिब ३ किलोमिटर उत्तरमा भएको थियो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले आक्रमण पुरानो रिस र विवादको कारण भएको देखाएको छ।
प्रतिक्रिया