अफगानिस्तान र पाकिस्तानका वरिष्ठ वार्ताकारहरू शनिबार इस्तानबुलमा पछिल्ला रक्तपातपूर्ण झडपपछि दुवै देशबीचको सीमामा स्थायी युद्धविराम कायम गर्ने उद्देश्यका साथ सुरक्षा सम्बन्धी मुद्दाहरूमा छलफल गर्दैछन् ।
दुई हप्ता अघि मध्य काबुलमा भएको विस्फोटपछि सुरु भएको झडपमा दर्जनौँ मानिसको ज्यान गएको थियो, जसमा सर्वसाधारण पनि परेका थिए ।
उक्त घटनापछि तालिबान सरकारले पाकिस्तानमाथि सीमापार आक्रमण गरेको आरोप लगाएको थियो । इस्लामाबादले भने अफगान भूमिमा रहेका सशस्त्र समूहहरूविरुद्ध ‘सटीक आक्रमण’ गरेको दाबी गरेको थियो ।
त्यसपछिका भिडन्तमा सैनिक र सर्वसाधारणको मृत्यु भएपछि दुवै देशले प्रारम्भिक ४८ घण्टाको युद्धविराम घोषणा गरेका थिए, तर त्यो दुई दिनमै भङ्ग भयो । त्यसपछि कतार र टर्कीको मध्यस्थतामा दोहामा भएको वार्तापछि दोस्रो युद्धविराम कायम गरिएको थियो, यद्यपि यसका सर्तहरू अस्पष्ट छन् ।
शनिबारको इस्तानबुल वार्तामा दोहामा घोषित स्थिरतालाई कायम राख्ने संयन्त्रबारे ठोस रूपरेखा तयार पारिने अपेक्षा गरिएको छ । यद्यपि वार्ता कहिले र कहाँ सुरु हुने भन्ने स्पष्ट गरिएको छैन । अफगान पक्षको नेतृत्व उप–आन्तरिक मन्त्री हाजी नाजिबले गर्दै हुनुहुन्छ भने पाकिस्तानले आफ्नो प्रतिनिधिमण्डलको विवरण सार्वजनिक गरेको छैन ।
तालिबान सरकारले आफ्नो देशको क्षेत्रीय अखण्डता सुनिश्चित गर्ने लक्ष्य दोहोर्याएको छ । इस्लामाबादका लागि भने वार्ताको प्रमुख उद्देश्य अफगान भूमिबाट पाकिस्तानतर्फ फैलिँदै गएको आतङ्कवादको खतरा नियन्त्रण गर्नु रहेको विदेश मन्त्रालयका प्रवक्ता ताहिर हुसेन अन्द्राबीले बताए ।
सुरक्षा विषय दुवै देशबीचको सम्बन्धमा दीर्घकालीन तनावको केन्द्रविन्दु रहँदै आएको छ । पाकिस्तानले अफगानिस्तानमा रहेका पाकिस्तानी तालिबान (टिटिपी) लडाकूहरूलाई काबुल सरकारले संरक्षण दिएको आरोप लगाउँदै आएको छ । उक्त आरोपलाई काबुलले अस्वीकार गर्दै आएको छ ।
इस्लामाबादले तालिबान अधिकारीहरूलाई आफ्नो भूमिमा रहेका यस्ता लडाकूहरूमाथि नियन्त्रण पुनःस्थापना गर्न माग गरेको थियो ।
प्रतिक्रिया